जनस्वास्थ्यमा भूमिका बढाउदै ५१ हजार महिला स्वयंसेविका
- Netizen Nepal
- सोमबार, १९ मङ्सिर, २०७९- १९:०७:००/ Monday 12-05-22
नेटिजन संवाददाता
काठमाडौँ, १९ मङ्सिर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले महिला स्वास्थ्य स्वयंसेविकाले जनस्वास्थ्यका कुरा प्रभावकारीरुपमा जनतासमक्ष पु¥याउने गरेको बताउनुभएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत रहेको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको १९औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको कार्यक्रममा उहाँले स्वास्थ्यका सूचना जनतासम्म पु¥याउन स्वयंसेविकाले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।
“राज्यले स्वास्थ्यका के के सुविधा उपलब्ध गराएको छ । त्यसको जानकारी स्वयंसेविकाले जनतासमक्ष बताउने गरेका छन्”, उहाँले भन्नुभयो, “अझ हामीले स्वयंसेविकालाई जनमुखी बनाउन आवश्यक रहेको छ ।” उहाँले अहिले पनि सरकारले उपलब्ध गराउने सेवा जनसमक्ष पु¥याउने स्वयंसेविकालाई आग्रह गर्नुभयो ।
मुटु, मिर्गौला, फोक्सो, जस्ता जटिल रोग उपचारबारे सर्वसाधारणलाई अझ थाहा नभएकाले धेरै दुःख पाउने गरेको भन्दै उहाँले स्वयंसेविकालाई उपचार र सेवाबारे पनि जानकारी गराउनुपर्ने बताउनुभयो । उहाँले सरकारले स्वास्थ्यमा विभिन्न प्रकारको सहुलियत दिए पनि सर्वसाधारणलाई थाहा नभएर ति सेवाबाट बञ्चित हुनुपरेको बताउनुभयो । मन्त्री खापुङले खोप, पोलियो खोपाजस्ता रोग प्रतिरोधात्मक खोप बालबालिकालाई लगाउनका लागि स्वयमसेविकाले पु¥याएको योगदान विर्सन नहुने बताउनुभयो ।
स्वास्थ्य मन्त्रालयका सचिव देवकुमारी गुरागाईंले आगामी वर्षदेखि देशभरबाट उत्कृष्ट स्वयंसेविका छनोट गरी एक जनालाई सम्मान गर्ने बताउनुभयो । उहाँले स्वास्थ्य स्वयंसेविकाको स्वास्थ्यमा अतुलनीय काम गरेको बताउनुभयो । उहाँले नेपालका स्वास्थ्य स्वयंसेविका विश्वमा नै एक उदाहरणीय काम गरेको बताउनुभयो । विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले स्वास्थ्यको पहिलो पंक्तिमा रहेर स्वयंसेविकाले सेवा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले जनतालाई स्वास्थ्यको पहिलो सेवा स्वयंसेविकाबाट पाएको बताउनुभयो ।
महाशाखाका प्रमुख गोमादेवी निरौलाले स्वयंसेविका स्वास्थ्य शिक्षाको सञ्चारको प्रवाहको रुपमा रहेको बताउनुभयो । उहाँका अनुसार अहिले देशभर ५१ हजार चार सय २३ महिला स्वयंसेविका छन् । स्वयंसेविकाले परिवार नियोजन बारेको चेतना, अस्थायी साधन वितरण, झाडापखाला, खोप कार्यक्रम सञ्चालन, भिटामिन ए, जुकाको औषधि, स्वास्थ्य शिक्षा प्रदानजस्ता काम गर्दै आइरहेका छन् । आज नेपालसहित विश्वभरि नै ‘महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रतिबद्धता, स्वास्थ्य प्रवद्र्धनमा हाम्रो ऐक्यबद्धता’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।