जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलको फाइनलमा
- नेटिजन संवाददाता
- बुधबार, ३ पौष, २०८१- १६:२४:००/ Wednesday 12-18-24
सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि नजिकको दूरीमा पुगेको छ। पहिलो संस्करणको एनपीएलमा बुधबार भएको खेलमा जनकपुर बोल्ट्सलाई ८ विकेटको फराकिलो अन्तरले हराउँदै सुदूरपश्चिमले फाइनलको स्थान पक्का गरेको हो।
लिग चरणमा पनि सुदूरपश्चिमले जनकपुरलाई हराएको थियो। बुधबार पहिलो क्वालिफायर खेलमा पनि जनकपुर सुदूरपश्चिमको सामु कमजोर देखियो।
टस जितेपछि जनकपुरले पहिले ब्याटिङ गर्दै ९ विकेट गुमाएर १३९ रनको योगफल खडा गरेको थियो। १४० रनको लक्ष्य सुदूरपश्चिमले १८.३ ओभरमै २ विकेटको क्षतिमा पूरा गर्यो।
सुदूरपश्चिमका लागि विनोद भण्डारीले उत्कृष्ट प्रदर्शन गर्दै ५८ रन बनाए। उनले ५५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। त्यस्तै, सैफी अली जैबले ३२ रनको योगदान दिए। ब्रैंडन मैकमुलेनले २५ रन बनाउँदा कप्तान दीपेन्द्रसिंह ऐरी २० रनमा अविजित रहे।
बलिङतर्फ जनकपुरका लागि ललित राजवंशी र किशोर महतोले १/१ विकेट लिए।
यसअघि, जनकपुरका लागि जेम्स निशमले ४५ रनको उच्च योगदान दिएका थिए। सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएर टिमलाई सानदार सुरुवात दिलाए।
अब सुदूरपश्चिमले फाइनलमा प्रवेशका लागि जनकपुर र कर्णाली याक्सबीच बिहीबार हुने दोस्रो क्वालिफायरको विजेतासँग कीर्तिपुर मैदानमा शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
जनकपुरले अझै फाइनल प्रवेशको अवसर बाँकी राखेको छ। बिहीबार हुने दोस्रो क्वालिफायर खेलमा जनकपुरले कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ। बुधबार भएको खेलमा कर्णालीले चितवन राइनोजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।