• शुक्रबार, १८ असोज, २०८१
  • ०२:१९:२९

दिगो विकासका सहयात्री : स्वच्छ व्यवसाय र साँस्कृतिक उद्यमशिलता

  • Netizen Nepal
  • बुधबार, २० पौष, २०७९- १६:०८:००/ Wednesday 01-04-23

संग्रहालय संस्कृतिको चिहान हो । त्यसैले मौलिक संस्कृतिलाई आफ्नै जीवनशैलीमा जिवन्त राखौं ।  

 

 

डा.सुनील चित्रकार

काठमाडौँ, २० पुस। बहुसाँस्कृतिक र बहुभाषिक पहिचान बोकेको राष्ट्र नेपाल जातिअनुसारका खानपान, भेषभुषा, जीवनशैली, कामकाज र शिपका कारण पनि विश्वसामु अलग र विशेष छ । इतिहासका विभिन्न कालखण्डमा उदाएका शासक, शासन प्रणाली र उनिहरुले निर्माण गरेका सांस्कृतिक धरोहर, मुर्त, अमुर्त सम्पदा तथा संस्कृतिहरु विभिन्न जातजातिका पहिचान मात्र बनेका छैनन्, ती संस्कृतिसंग जोडिएका शिप तथा कलाकौशलहरु आज पनि चलनचल्तीमा छन् । यसका साथै ती ऐतिहाशिक चालचलन धेरै सर्वसाधारणको जीविका धान्ने उद्यम व्यवसायका रुपमा समेत परिचित छन् ।  

यसबाट स्थानिय तहमा रोजगारी मात्र सिर्जना भएको छैन, प्रत्यक्ष या परोक्ष्यरुपमा देशको अर्थतन्त्रमा समेत टेवा पुगेको छ । त्यहि परापुर्वकालदेखि उदाएको नेपालको परिचय बोक्ने व्यवसायमध्येको एक हो हस्तकला उद्योग । परम्परागत शीपमा आधारित हस्तकला उद्योग व्यवसायले विपन्न तथा सिमान्कृत वर्गको सामाजिक एवं आर्थिक रुपान्तरणमा समेत योगदान पुर्याएको छ । देशको आर्थिक, सामाजिक एवं सांस्कृतिक विकासद्वारा दिर्घकालिन विकासका लक्ष्य हाँसिल गर्न यो क्षेत्रको ठूलो योगदान रहेको छ । यस उद्योगले नेपाल र नेपालीको पहिचान अन्तर्राष्ट्रियस्तरमा स्थापितसमेत गरेको छ ।

स्वदेशी शीप तथा उद्योगधन्दालाई प्रवर्द्धन गरि नेपालको जैविक उत्पादनलाई विश्वसामु चिनाउने  लक्ष्य बोकेर स्वच्छ व्यवसायी समूह नेपालले विगत ४० वर्षदेखि नेपालमा विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । यसको उद्देश्य देशभर छरिएर रहेका घरेलु शीप तथा स्रोतको प्रवर्द्धन गरि गरिबी निवारण, महिला सशक्तिकारण एवं दिगो विकासमा टेवा पुर्याउने रहेको छ । स्वच्छ व्यवसायी समूहले नेपाली संस्कृति तथा कलामा आधारित उद्योग व्यवसायहरुको प्रवर्द्धन गर्दै आइरहेको छ । 

स्वच्छ व्यवसाय तथा सांस्कृतिक उद्यमशिलताले दिगो विकासका विभिन्न लक्ष्य हाँसिल गर्न सकेको तथ्यहरुले देखाउँछ । यसका १० वटा सिद्धान्तहरु दिगो विकास लक्ष्यका परिपूरक रहेका छन् । गरिबी निवारणदेखि दिगो पर्यावरण विकासको लक्ष्य हाँसिल गर्न सरकार मात्र नभइ व्यवसायिक, निजि तथा  गैरसरकारी क्षेत्र र समूदायबिचको आपसी समन्वय तथा सहकार्य आवश्यक रहेको छ ।

रचनात्मक तथा साँस्कृतिक उद्योग ती हुन् जसमा मानव सृजनशलिता, शीप, तथा खुवीको व्यापक प्रयोग हुन्छ । जसलाई बौद्धिक सम्पतिको रुपमा कायम गर्दै रोजगारी सृजना र आर्थिक विकासमा टेवा पुर्याउन सकिन्छ ।

 

रचनात्मक तथा साँस्कृतिक उद्यमशिलता

रचनात्मक तथा साँस्कृतिक उद्योग ती हुन् जसमा मानव सृजनशलिता, शीप, तथा खुवीको व्यापक प्रयोग हुन्छ । जसलाई बौद्धिक सम्पतिको रुपमा कायम गर्दै रोजगारी सृजना र आर्थिक विकासमा टेवा पुर्याउन सकिन्छ । रचनात्मक तथा सांस्कृतिक उद्योगमा बौद्धिकता तथा श्रम दुवैको अत्यधिक प्रयोग गरि आर्थिक उपार्जन गर्न सकिन्छ । त्यसैले रोजगारी सिर्जनाका लागि यो अति महत्वपूर्ण छ । रचनात्मक तथा साँस्कृतिक उद्योगलाई ३ भागमा विभाजन गरिएको छ । सिर्जनात्मक उपयोग, जुन बजारको मागअनुसार बनाइने बस्तु वा सेवा, उदाहरणका लागि हस्तकलाका सामान, कलासंस्कृति पर्दछन्  । दोस्रोमा गीत, संगीत, नृत्य, कलाकौशललगायत  सिर्जनात्मक अभिव्यक्ति पर्छन् भने तेस्रोमा सिर्जनात्मक प्रविधिमा आधारित सिर्जनशीलता रहेका छन् ।  

रचनात्मक तथा साँस्कृतिक उद्योगमा संस्कृतिलाई सशक्त रुपमा आघि सारिएको छ । यसका उत्पादन विविध किसिमका हुन्छन् भने उपयोगमा पनि व्यापकता हुन्छ । घर, संरचना, उपभोग्य सामाग्री, कला, संस्कृति, खाद्य तथा पेय पदार्थ, भेषभुषा र जीवनशैली यसका उदाहरण हुन् । नेवारी संस्कृति, गुरुङ समुदाय र संस्कृति, सुदुरपश्चिमका भेषभुषा, पहिरन र संस्कृति, तराईका थारु, मैथिली संस्कृतिहरुले नेपालको छुट्टै पहिचान मात्र दिलाएका छैनन्, पर्यटन प्रवर्द्धन, आर्थिक उपार्जनमा समेत टेवा पुर्याएका छन् । यति मात्र होइन नेपालको जुन ठाउँमा गयो त्यहींको संस्कृति रोचक छ, पहिचान र रहनसहन अलग अलग छ । जुन विश्वकै लागि उदाहरणीय पनि छ । 

पर्यटन प्रवर्द्धनमा देशको मुर्त या अमुर्त संस्कृतिको भूमिका झन्डै ४० प्रतिशत हुन्छ । यता रचनात्मक तथा सांस्कृतिक उद्योगमा झन्डै ६० प्रतिशत महिला संलग्न छन् । यस हिसाबले महिला सशक्तिकरण र आर्थिक विकासका लागि पनि रचनात्मक तथा साँस्कृतिक उद्योगको विकास हुन जरुरी हुन्छ ।  

 

साँस्कृतिक उद्योग र स्थानिय आर्थिक विकास 

देशको स्थिति उकास्ने काममा पर्यटनको भूमिका महत्वपुर्ण हुन्छ । पर्यटन प्रवर्द्धन गर्ने काममा देशको मुर्त या अमुर्त संस्कृतिको भूमिका झन्डै ४० प्रतिशत हुन्छ । यता रचनात्मक तथा सांस्कृतिक उद्योगमा झन्डै ६० प्रतिशत महिला संलग्न छन् । यस हिसाबले महिला सशक्तिकरण र आर्थिक विकासका लागि पनि रचनात्मक तथा साँस्कृतिक उद्योगको विकास हुन जरुरी हुन्छ ।  

यस उद्योगको विकासले बहु–संख्यक जनजाति तथा सिमान्तकृत वर्गहरुको सक्रिय सहभागितामूलक आर्थिक सवलिकरणमा ठूलो भूमिका खेलेको छ । रचनात्मक तथा साँस्कृतिक उद्योगहरु विभिन्न समूदाय, वर्ग तथा क्षेत्रहरुमा छरिएर रहेका हुन्छन्, जसले स्थानिय तथा क्षेत्रिय उद्यमशीलताको विकाससंगै बहुआयामिक विकासको आधार तयार गर्दछ ।

मूर्त तथा अमूर्त सांस्कृतिक सम्पदाले दिगो विकासका मूख्य तीन आधारहरु आर्थिक, सामाजिक तथा पर्यावरणमा प्रत्यक्ष सरोकार राख्दछ ।त्यस्तै, स्थानिय रोजगारी, क्षमता अभिबृद्धि, आर्थिक सशक्तिकरण, स्रोतको उच्चतम उपयोग, स्थानिय उद्यमशिलता तथा उपभोग आदि आर्थिक पक्षसंग सम्बन्धित छन् । महिला तथा सिमान्तकृत वर्गको सहभागिता र समानताले दिगो विकासको सामाजिक पक्षलाई प्रत्यक्ष योगदान दिएको हुन्छ । स्थानिय कच्चापदार्थको समूचित प्रयोग, परम्परागत शैली आदिको प्रयोगले पर्यावरणिय संरक्षण तथा विकासमा योगदान पुर्याउँछ ।

साँस्कृतिक उद्यमशिलता तथा दिगो विकास लक्ष्य 

दिगो विकासको लक्ष्य नं. ११ दिगो सहर तथा समूदायसंग सम्बन्धित रहेको छ । यसले सहर तथा मानव बस्तिहरुलाई समावेशी,सुरक्षित, सवल एवं दिगो बनाउने लक्ष्य लिएको छ । सबै सदस्य राष्ट्रहरुले सांस्कृतिक तथा पर्यावरणिय सम्पदाहरुको जगेर्ना, संवर्द्धन तथा प्रवर्द्धनका लागि आवश्यक खर्च बढाउने र सरकारी तथा नीजि क्षेत्रको स्रोत परिचालनमा जोड दिनुपर्ने कुरा लक्ष्य नं ११ समावेश छ ।

स्थानिय तथा परम्परागत शीप तथा ज्ञानलाई आधुनिक प्रविधिको संयोजनले पर्यावरणमैत्री तथा मौलिक व्यवसायका रुपमा विकास गर्न सकिन्छ । जसले लैंगिक विकास तथा समानताका नाराहरुलाई सार्थक बनाउन सहयोग गर्दछ ।

 

संस्कृति र विकासलाई संगै राखेर कार्यक्रम बनाइयो भने दिगो विकासका लक्ष्य प्रभावकारी तथा नतिजामुखी बनाउन सकिने भएकाले सरकारी सरकार, निजि तथा गैरसरकारी संस्था र विकासका साझेदारहरुले आफ्ना नीति, योजना तथा कार्यक्रमहरुमा संस्कृति र पर्यावरणलाई रणनैतिक कार्ययोजनाका रुपमा समावेश गर्नु आवश्यक हुन्छ ।

सांस्कृतिक उद्यमशीलतामा प्राकृतिक स्रोतहरुको अधिकतम उपयोग भएको हुन्छ भने समुदायमा आधारित पर्यटन व्यवसायमा महिला तथा सिमान्तकृत वर्गहरुको सहभागिता उल्लेख्य मात्रामा रहेको छ । स्थानिय तथा परम्परागत शीप तथा ज्ञानलाई आधुनिक प्रविधिको संयोजनले पर्यावरणमैत्री तथा मौलिक व्यवसायका रुपमा विकास गर्न सकिन्छ । जसले लैंगिक विकास तथा समानताका नाराहरुलाई सार्थक बनाउन सहयोग गर्दछ । सांस्कृतिक पुनःर्स्थापनाबाट  सिमान्त वर्गको पहिचानका साथै स्थानिय समूदायको आय आर्जन, रोजगारीमा समेत टेवा पुग्दछ । 

यति मात्र होइन, दिगो विकासको लक्ष्य नं १२ अन्तर्गत दिगो उपभोग तथा उत्पादन प्रणालीको लक्ष्यलाई समेत साँस्कृतिक उद्यमशिलताले पुरा गर्न सक्छ । त्यसैगरि स्थानिय उद्यम तथा रोजगारीको सृजनाबाट दिगो विकासको लक्ष्य नं ८  अर्थात ‘सबैका लागि पूर्ण उत्पादनशिल रोजगारी र मर्यादित कामको प्रवर्द्धन’ गर्न सहयोग पुर्याउँछ ।  

स्थानिय लोक परम्पराका खाद्य तथा पेय पदार्थहरु, हस्तकला, अमूर्तकला, लत्ताकपडा तथा गरगहना, जीवनशैली, नाच, गायन, बाजागाजा , पर्व तथा जात्राहरुलाई संरक्षण गरि पर्यटन प्रवर्द्धन गर्न सकिन्छ । पूर्वाधार विकासका क्रममा स्थानिय सांस्कृतिक पहिचानलाई ध्यान दिनु आवश्यक हुन्छ । जसले प्रत्येक शहरको छुट्टै र जीवन्त पहिचान स्थापित गर्न मद्दत गर्दछ । त्यस्तै, शहर र बस्तिको मानवमुखी विकासका लागि शहरी पुनरुत्थान तथा सवलिकरणको रणनीति लिनु आवश्यक हुन्छ ।  

नेपालमा स्वच्छ व्यवसायको  सुरुवात नै हस्तकला क्षेत्रबाट भएको थियो । हाल पनि स्वच्छ व्यवसायको ठूलो हिस्सा हस्तकलाले नै ओगटेको छ । स्थानिय शीप र स्रोतको प्रयोग गरि बनाईएका हस्तकलाका सामानहरु विदेशमा समेत निकासी भइ स्थानिय हस्तकला उद्योग प्रवर्द्धन, रोजगारी सृजना तथा विदेशी मूद्रा आर्जन भएको छ ।

 

स्वच्छ व्यवसाय तथा साँस्कृतिक उद्योग

नेपालमा स्वच्छ व्यवसायको अवधारणा नै महिला शीप विकासको उदेश्यबाट भएको हो । नेपालमा सन् १९८० को दशकमा आय आर्जनमार्फत महिलाहरुको सामाजिक रुपान्तरण गर्ने उदेश्यका साथ हस्तकला उत्पादक संघ, महागुठी क्राफ्ट वीथ कन्साईन्स, नारी विकास केन्द्र लगायतका संस्थाहरुको स्थापना भएका थिए । ति संस्थाहरुले नेपालका विभिन्न क्षेत्रहरुमा छरिएर रहेका शीप तथा श्रोतहरुलाई व्यवसायिकता प्रदान गरि ग्रामिण क्षेत्रमा रोजगारीका अवसरहरु श्रृजना गरेका थिए । नेपालको परिप्रेक्ष्यमा स्वच्छ व्यवसायले सांस्कृतिक उद्यमशीलतालाई प्रवर्द्धन तथा जगेर्ना गर्न महत्वपूर्ण योगदान दिएको छ ।

 

स्वच्छ व्यवसाय एक व्यवसायिक साझेदारी हो जसले संवाद, पारदर्शिता तथा आपसी सम्मानमा आधारित भई अन्तराष्ट्रिय व्यापारमा स्वच्छता स्थापना गर्न खोजेको छ । यसले विशेषगरि विकासशिल देशहरुमा सीमान्तकृत उत्पादक तथा श्रमिकहरुको हक हित र अधिकारको प्रत्याभूति गरि राम्रो व्यवसायिक वातावरणबाट दिगो विकासमा टेवा पुर्याउने उदेश्य राख्दछ ।

स्वच्छ व्यवसायका १० वटा अन्तराष्ट्रिय सिद्धान्तहरु छन् । जसमा गरिबी न्यूनीकरण, पारदर्शी तथा उत्तरदायित्व, स्वच्छ व्यवसायिक अभ्यास, उचित पारिश्रमिक, बालश्रम, जबरजस्तीरहित श्रम , भेदभाव रहित श्रम, लैंगिक समानता, महिलाहरुको आर्थिक सशत्तिकरण, क्षमता अभिबृद्धि पर्दछन् । यी सिद्धान्तहरु दिगो विकास लक्ष्यसंग परिपुरक छन् । स्वच्छ व्यवसायले दिगो विकासका (लक्ष्य १) सून्य भोकमरी, (लक्ष्य २) गरिबी उन्मूलन, (लक्ष्य ३) स्वस्थ जीवन तथा समृद्ध जीवनस्तर, (लक्ष्य १२) दिगो उत्पादन तथा दिगो उपभोग लगायत लक्ष्य ११, १२, १३ तथा १४ हाँसिल गर्नसमेत सहयोग पुर्याउँछ ।  

नेपालमा स्वच्छ व्यवसायको  सुरुवात नै हस्तकला क्षेत्रबाट भएको थियो । हाल पनि स्वच्छ व्यवसायको ठूलो हिस्सा हस्तकलाले नै ओगटेको छ । नेपालका विभिन्न क्षेत्रहरुमा फैलिएको स्थानिय शीप र स्रोतको प्रयोग गरि बनाईएका हस्तकलाका सामानहरु नेपाल भित्र तथा विदेशमा समेत निकासी भइ स्थानिय हस्तकला उद्योग प्रवर्द्धन, रोजगारी सृजना तथा विदेशी मूद्रा आर्जन भएको छ । जनकपूरको मिथिला कला होस् या कैलालिको थारुहरुले गर्ने प्याचको ईम्व्रोईदरी । हिलेको बाँसका सामान हुन् या बागलुङको हातेकागज । यी सबै स्थानिय उद्योगहरुको सिर्जना र प्रवर्द्धनमा सक्रिय रुपमा सहभागी छन् । स्वच्छ व्यवसायको सिद्धान्तमा रहेर गरिएको व्यवसायिक क्रियाकलापका कारणले आज यी क्षेत्रहरुको उल्लेख्य विकास भएको छ ।

साँस्कृतिक उद्यमशिलताका अवसरहरु

नेपाल बहुजातिय बहुसाँस्कृतिक तथा प्राकृतिक विविधताले भरिपुर्ण देश भएकाले यहाँका कुनै पनि वर्ग, समूदाय र क्षेत्रसंग सहकार्य गरि साँस्कृतिक उद्यमशिलताका अवसरहरु परिचान गर्न र व्यवसाय सिर्जना गर्न सकिन्छ । नेवारी संस्कृति तथा पहिचानको अभिन्न अंगको रुपमा रहेको योमरीको परिकार बनाई जनकपूरका संतोष शाहले बेलायतमा मास्टर्स सेफ प्रतियोगिता जिते । नेवारी खाजा घर र थकाली भान्छाले पुर्वदेखि पश्चिमको बजारलाई आफ्नो बनाइसके । घान्द्रुकको घलेगाउँ होस् वा नवलपरासीको थारु होमस्टे, सबैले साँस्कृतिक धरोहरहरुलाई बस्तु तथा सेवाको रुपमा विकास गरि स्थानिय उद्यम संचालन गरिरहेका छन् । विभिन्न तरिकाहरु अपनाएर सांस्कृतिक उद्योगको संरक्षण गर्न सकिन्छ ।

मूल्य सिर्जना

बजारबिना कुनै पनि व्यवसाय सफल हुन सक्दैन । त्यसैले बजारको माग र आवश्यकतालाई ध्यानमा राखी बस्तु तथा सेवाको विकास र भएका बस्तु तथा सेवामा प्रवद्र्धन आवश्यक छ । स्थानिय संस्कृतिलाई बजारको आवश्यकताअनुरुप आफ्नो मौलिकता नगुमाई नविनतम ढंगबाट प्रस्तुत गरिनु पर्दछ । जसले नयाँ बजारको सृजना गर्छ र स्थानिय उत्पादनलाई बजारसंग जोड्न सक्छ । पाटनका पुराना चोक, गल्ली तथा घरहरुले हाल आएर पर्यटकहरुको लागि बुटिक होटलका रुपमा सेवा दिइरहेका छन् । परम्परागत शैलिलाई आधुनिक सुविधा र आवश्यकतासंग संयोजन गरि ग्राहकहरुका लागि छुट्टै स्वाद पस्कन सफल भएका छन् । द्वारिका होटलले नेवारी शैली र वास्तुलाई आधारमानी आफ्नो विशिष्ट परिचान बनाउन सफल भएको छ । 

जीवनशैली

परम्परागत शीप, कला, पकवान, पहिरन ईत्यादिलाई आधुनिकिरण गरि आजको जीवनशैलीसंग गास्न आवश्यक छ । जबसम्मसंस्कृति र सांस्कृतिक बस्तु तथा सेवाहरुलाई जीवनशैलीको रुपमा ढाल्न सकिन्न तबसम्म तिनलाई संरक्षण गर्न कठिन हुन्छ । र अन्तमा संग्राहलयहरुमा मृत संस्कृतिको रुपमा दर्शकहरुलाई कुर्नुको विकल्प रहंदैन । तसर्थ मूर्त तथा अमूर्त संस्कृतिलाई आधुनिक जीवनशैलीको अभिन्न अंगको रुपमा विकास गरिनु आवश्यक छ ।

सरकारी कार्यालयहरु आफैंमा एक बजार हो । सरकारी कार्यालयहरुमा प्रयोग हुने विभिन्न बस्तु तथा सेवाहरु खरिद गर्दा सांस्कृतिक उद्योगलाई प्राथमिकता दिनुपर्दछ । अझ सरकारी भवन, सार्वजनिक स्थान, पर्यटकिय स्थानहरुको निर्माण गर्दा स्थानिय संस्कृतिलाई उपयुक्त स्थान दिनुपर्दछ ।

 

स्थानिय उपभोग प्रवर्द्धन

जबसम्म स्थानिय बजारले कुनै पनि बस्तु तथा सेवालाई ग्रहण गर्दैन तबसम्म त्यसले दिगो बजारका लागि सधैंभरि संघर्ष गर्नुपर्ने हुन्छ । तसर्थ नीतिगत रुपमै स्थानिय तथा प्रादेशिक सरकारले स्थानिय उत्पादनहरुको उपभोग नीति ल्याउन आवश्यक छ । साथै सरकारी निकायहरुले नै स्थानिय उत्पादनको उपभोग गर्ने प्रवर्द्धनात्मक कार्यक्रमहरु गरि स्थानिय बजार सिर्जना गर्न भूमिका खेल्नु आवश्यक हुन्छ ।

सरकारी कार्यालयहरु आफैंमा एक बजार हो । सरकारी कार्यालयहरुमा प्रयोग हुने विभिन्न बस्तु तथा सेवाहरु खरिद गर्दा सांस्कृतिक उद्योगलाई प्राथमिकता दिनुपर्दछ । अझ सरकारी भवन, सार्वजनिक स्थान, पर्यटकिय स्थानहरुको निर्माण गर्दा स्थानिय संस्कृतिलाई उपयुक्त स्थान दिनुपर्दछ । भक्तपुर् महानगरपालिकाले शहरभित्र घर निर्माणका लागि सांस्कृतिक  मापडण्द तोकेको छ जसले गर्दा स्थानिय कलाकार तथा उद्योगहरुले बजार पाउन सफल भएका छन् ।

सहकार्य

सांस्कृतिक उद्यमशीलताको विकासका लागि अन्य उद्योग व्यवसायहरुसंग हातेमालो गर्नु आवश्यक हुन्छ । सांस्कृतिक उद्योगबाट उत्पादित बस्तु तथा सेवाहरु अन्य उद्योगहरुका लागि आवश्यक सामग्रीको रुपमा प्रयोग गर्न सकिन्छ । जस्तै दाङमा थारु समूदायका महिलाहरुले बनाएका ढकिया तथा अन्य बेत बाँसले बनेका बिभिन्न घरायसी सामग्रीहरुलाई पर्यटन व्यवसायहरुमा सजावटका लागि प्रयोग गर्न सकिन्छ । जसले स्थानिय पहिचानलाई झल्काउनुका साथै ग्रामिण रोजगारीलाई पनि प्रवर्द्धन गर्दछ ।

नविनतम  प्रयोग

सांस्कृतिक बस्तुको नविनतम प्रयोगबाट संस्कृति संवर्द्धन हुनुका साथै सम्बन्धित उद्योग व्यवसायहरुले अवसर पाउँछन् । रोपाईंका बेला किसानले प्रयोग गर्ने घुम्टोलाई परिमार्जित गरि बगैंचामा प्रयोग हुने छाता बनाउन सकिन्छ । थारुहरुको काष्ठकलाई आधुनिक फर्निचरहरुको रुपमा प्रयोग गर्न सकिन्छ । परम्परागत पहिरनहरुलाई नयां ढंगबाट प्रयोग गर्न सकिन्छ ।

अबको बाटो 

रचनात्मक तथा सांस्कृतिक उद्योगको संरक्षण तथा विकासका लागि नीजि क्षेत्र, उपभोक्ता तथा समूदाय आफैं सकृय हुन आवश्यक छ ।यसका लागि सरकारी निकायहरुको भूमिकालाई कम आंकलन गर्न सकिन्न । स्कुलहरुले आफ्ना शैक्षिक कृयाकलापहरुमा स्थानिय संस्कृति राखि यसलाई बढावा दिईनुपर्दछ । बढ्दो सामाजिक संजालको श्रोतलाई विशिष्ट ढंगबाट प्रयोग गरि प्रचारप्रसार गरिनु आवश्यक छ ।


स्थानिय उद्योग बाणिज्य संघहरुले स्थानिय सरकारको सह आयोजनामा (business incubation centers),’सामाजिक तथा सांस्कृतिक आविस्कार केन्द्र’को स्थापना गरि रचनात्मक तथा सांस्कृतिक उद्योगहरुको बिस्तारमा सक्रिय भूमिका निर्वाह गर्न आवश्यक छ । स्थानिय सरकारले स्थानिय कर तथा आयको निश्चित भागलाई रचनात्मक तथा सांस्कृतिक उद्योग प्रवर्द्धनका लागि छुट्याउनुपर्दछ । 

साथै, स्थानिय जात्रा, पर्व तथा संस्कृतिलाई पर्यटन उद्योगसंग जोड्न आवश्यक छ । कला संस्कृति जीवनशैलिमा जिवन्त रहन्छ । संग्रहालय संस्कृतिको चिहान हो । त्यसैले हाम्रो मौलिक संस्कतिलाई आफ्नो जीवनशैलीमा जिवन्त राख्न जरुरी छ ।  
(डा. चित्रकार स्वच्छ व्यवसायी समूह नेपालका अध्यक्ष हुनुहुन्छ ।)