• आइतबार, २८ पौष, २०८१
  • ०३:२८:००

पाकिस्तानको पासपोर्ट विश्वमै कमजोर, नेपालको पासपोर्ट कति बलियो ?

काठमाडौं । पासपोर्ट कुनै पनि देशका नागरिक अन्य देशमा यात्रा गर्नका लागि सर्वस्वीकार्य र अनिवार्य आधिकारिक परिचय दस्तावेज हो । यहि परिचय  कागजमा लाग्ने अनुमतिका आधारमा अन्य देशको यात्रा गर्न सकिन्छ । तर यात्रा अनुमति अर्थात् भिजाका लागि हरेक देशले अन्य हरेक देशका लागि फरक फरक तरिका अपनाएका हुन्छन् । यिनै आयामहरुलाई मूल्यांकन गरेर हेन्ले पासपोर्ट इन्डेक्सले  हरेक वर्ष राहदानीको स्तर मापन गर्ने गर्दछ ।


उक्त संस्थाले विश्वमा आफ्नो राहदानीमा कति देशले आफ्ना नागरिकलाई भिसा फ्री भिसा उपलब्ध गराउँछ भन्ने आधारमा विश्वका १९९ देशको अध्ययन गरेर हरेक वर्ष यो सूची सार्वजनिक गर्ने गर्दछ । इन्टरनेशनल एयर ट्रान्सपोर्ट एसोसिएसन बाट प्राप्त तथ्याङ्कका आधारमा तयार पारिएको यो सूचीमा यो वर्ष पाकिस्तानको राहदानी विश्वको सबैभन्दा कमजोर मध्येमा परेको छ । पासपोर्ट र्याङ्किङले पाकिस्तानको कमजोर अवस्थालाई उजागर गरेको छ ।राहदानी सूचकाङ्कमा सिङ्गापुर शीर्ष स्थानमा छ ।  

नेपाल गत वर्ष भन्दा ३ स्थान तल झर्दै १०१ औँ स्थानमा रहेको छ । सन् २०२४ को जनवरीमा नेपाल ९८ औँ स्थानमा रहेको थियो । नेपालको राहदानी भएका व्यक्तिले भिसा बिना ३९ देशमा यात्रा गर्न सक्छन्।

कुनै समय शीर्ष स्थानमा रहेका फिनल्याण्ड र दक्षिण कोरिया जस्ता देश पनि गत वर्ष एक स्थान तल झरेका छन् । यो वर्ष इराक १०४ औं, सिरिया १०५ औं र अफगानिस्तान १०६ औं पाकिस्तान भन्दा कमजोर पासपोर्ट भएका देशहरू छन् ।  सोमालिया, नेपाल, प्यालेस्टाइन र बङ्गलादेश जस्ता राष्ट्रहरू पाकिस्तानभन्दा माथि छन् । सोमालिया १०२ औँ स्थानमा छ, जुन पाकिस्तानभन्दा एक स्थान मात्र अगाडि छ । 

न्युज इन्टरनेशनलले पाकिस्तानी राहदानी पहिले नै विश्वव्यापी रूपमा सबैभन्दा खराब मध्ये एक रहेको रिपोर्ट गरेको छ । यद्यपि, सन् २०२५ श्रेणीमा केही सुधार भएको छ । यसले अझै पनि पाकिस्तानी नागरिकहरूको लागि सीमित यात्रा स्वतन्त्रतालाई प्रतिबिम्बित गर्दछ ।यो तल्लो श्रेणीले पाकिस्तानी नागरिकहरूले विश्वव्यापी अवसरहरूमा पहुँच गर्न सामना गर्ने चुनौतीहरूलाई हाइलाइट गर्दछ । साथै, यसले देशको कूटनीतिक सम्बन्धमा प्रश्न खडा गर्दछ । 

छिमेकी मुलुक भारतको वरियतामा पनि ५ अङ्कले गिरावट आएको छ । सूचीमा भारत ८५ नम्बरमा आएको छ ।  गत वर्ष भारतको वरीयता ८० औँ स्थानमा थियो । मानिसहरूले भारतीय राहदानीमा ५७ देशहरूमा भिसा फ्री प्रवेश पाउन सक्छन्। 

सिङ्गापुर राहदानी भएका व्यक्तिले भिसा बिना १९५ देशमा यात्रा गर्न सक्छन्। दोस्रो स्थानमा रहेको जापानको राहदानीमा १९३ देशमा बिना भिसा जान सकिन्छ । तेस्रो स्थानमा फ्रान्स, जर्मनी, इटाली र स्पेन रहेका छन् जसको राहदानीमा भिसा नलिई १९२ देशको यात्रा गर्न सकिन्छ ।

चौथो स्थानमा अस्ट्रिया, डेनमार्क, आयरल्यान्ड, नेदरल्याण्ड, नर्वे, स्वीडेन र लक्जमबर्ग रहेका छन् । यी देशको राहदानीमा  १९१ देशमा भिसा फ्री प्रवेश पाउन सक्छन् । पाँचौँ नम्बरमा बेल्जियम, पोर्चुगल, बेलायत, स्विट्जरल्याण्ड र न्युजिल्याण्ड रहेका छन् । यी देशको  राहदानीमा १९० देशमा भिसा फ्री प्रवेश पाउँन सकिन्छ । विश्वकै शक्तिशाली भनिएको देश संयुक्त राज्य अमेरिकाको राहदानी ९ नम्बरमा छ । यो देशको राहदानीमा १८६ देशमा भिसा फ्री यात्रा गर्न सकिन्छ ।

राहदानीको स्तरले कुनै पनि देशको आर्थिक तथा अन्य शक्तिलाई अरु देशले कसरी मुल्यांकन गर्छन् भन्ने कुराको  प्रतिनिधित्व  समेत गर्ने भएकाले यो सूचीलाई महत्वपूर्ण मानिन्छ ।