• शनिबार, १५ बैशाख, २०८१
  • १२:१४:५२

सुधारको फट्को मार्दै कोहलपुर नगरपालिका 

  • Netizen Nepal
  • शुक्रबार, ६ माघ, २०७९- १०:४५:००/ Friday 01-20-23

'अघिल्लो सरकारको पालामा प्रतिपक्षका रुपमा जे जति सुधारका लागि खबरदारी गरेको थिएँ, ती पुरा नभएका सबै कामहरुलाई निरन्तरता दिंदैछु ।' 

पार्वती अधिकारी

काठमाडौँ, ६ माघ । जनप्रतिनिधिहरुले जनचाहानाअनुसारको काम गर्न नसकेकै कारण पछिल्लो समय राजनीतिक दल र राजनैतिक प्रणालीप्रति जनताको वितृष्णा बढ्दो छ । निर्वाचनका बेला आश्वासन बाँड्ने तर जितिसकेपछि आफ्नै स्वार्थपूर्तिमा लिन रहने प्रवृत्तिका कारण पनि राज्यका संयन्त्र, प्रणाली र प्रशासनप्रति जनता रुष्ट देखिएका हुन् । देशको सम्वृद्धिका लागि सुशासन, पारदर्शिता, इमान्दार नेतृत्व र प्रशासनलगायतका धेरै क्षेत्रहरुको महत्वपुर्ण भूमिका रहन्छ । देशमा संघियता जारि भएपछी ’गाउँ गाउँमा सिंह दरबार’ भन्ने नारा त खुबै मौलायो तर जनताकै मतले सत्ताको स्वाद चाखेका व्यक्तिहरु आसेपासे, आफ्ना मान्छे र ठेकेदार पोस्ने काममा तल्लिन रहे । तर देशका केहि स्थानिय तहहरुले भने नयाँ काम गरेर जनताको विश्वास जित्ने पहलको थालनी गरेका छन् । यस्तै मध्ये पर्दछ कोहलपुर नगरपालिका ।  

पहाडी र रैथाने थारु समुदायको मिश्रित बसोबास रहेको कोहोलपुर नगरपालिकामा जनताबाट चुनिएर आएका युवा मेयर पूर्ण प्रसाद आचार्यले नगरपालिकाको नेतृत्व लिएको ७ महिनाकै अवधिमा कैयौं सुधारका कामहरुको थालनी गर्नुभएको छ । गत बैशाखमा भएको स्थानिय तह निर्वाचनमा निर्वाचित भएपछि नै उहाँले नगरपालिकालाई कर्मचारीतन्त्र, ठेक्कापट्टा, सार्वजनिक खरिद, सुशासन, पारदर्शिता र हरेक कामलाई पद्धति र प्रणालीमा आधारित बनाउने थिति बसाल्ने कामलाई उच्च प्राथमिकता दिनुभएको छ । विकास आयोजनामा हुने ढिलासुस्तीलाई रोक्ने देखि नगरप्रहरीको शसक्त परिचालन गर्नेलगायतका कामहरु उहाँ नेतृत्वमा आएपछि भएको छ । उहाँ भन्नुहुन्छ, ’अघिल्लो सरकारको पालामा प्रतिपक्षका रुपमा जे जति सुधारका लागि खबरदारी गरेको थिएँ, ती पुरा नभएका सबै कामहरुलाई निरन्तरता दिंदैछु ।’ 

१०० दिनको प्रगतिबाट पारदर्शिताको शुरुवात 

नगरिकलाई सुधारको शुरुवताको अनुभूति र विश्वास शुरु देखिकै कामबाट दिन सकिन्छ भन्ने मान्यताका आधारमा मेयर आचार्यले आफूले नगर प्रमुखको जिम्मेवारी सम्हालेको १०० दिनका सुधार तथा प्रगतिको विवरण भदौ २२ गते सार्वजनिक गर्नु भयो । 
१०० दिन भित्रमा आकस्मिक सेवा तथा दमकलको निःशुल्क सेवाका लागि हटलाईन फोनको  व्यवस्था, सामुदायिक विद्यालयमा शिक्षक अभाव हुन नदिन स्वयंसेवक शिक्षकको व्यवस्था तथा गरिब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति, सार्वजनिक खरिदका लागि कोटेसन प्रणालीलाई निरुत्साहित गरि टेन्डर आह्वान प्रक्रियाको सुरुवात, सार्वजनिक जग्गालाई अतिक्रमण हुनबाट रोक्ने कामको सुरुवातको काम भयो ।

त्यसैगरी फोहोर व्यवस्थापन, कर्मचारी व्यवस्थापन, प्रशासन सुधारका लागि कार्यदल गठन, जथाभावी इन्धनको प्रयोगमा नियन्त्रण, नगरप्रहरीको व्यवस्था, समयमा काम नगर्ने निर्माण व्यवसायीलाई कारवाहीको व्यवस्था र डिजिटल कोहोलापुर निर्माणका लागि बिस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पार्ने लगायत दर्जनौं सुधारका कामहरु भए । मेयर आचार्यले यी कामको विवरण सार्वजनिक रुपमा जनता समक्ष प्रस्तुत गर्नुभयो । उहाँको यो शुरुवातले नागरिकहरुमा नयाँ खालको आशा र विश्वास बढाएको उहाँको भनाइ छ । यी सुधारका कामकोे निरन्तरता अहिले पनि जारी भएको उहाँ बताउँनुहुन्छ । 

सिमिति क्वेटेसनबाट खरिद गर्ने अभ्यासलाई निरुत्साहित गर्दै सार्वजनिक सुचना मार्फत उच्च प्रतिस्पर्धा मार्फत वस्तु तथा सेवाको खरिदलाई कडाइका साथ अघि बढाइएको छ । यसले गर्दा नगरपालिकाले गुणस्तरीय काम गर्ने र नगरपालिकाको ठूलो रकम दुरुपयोग हुनबाट समेत रोकिएको छ । 

 

सार्वजनिक खरिदमा कडाइ 

यसभन्दा अघि नगरपालिकाको सार्वजनिक खरिदमा व्यथितिहरु भएको व्यापक जनगुनासो आएकोमा अहिले भने नगरपालिकाले सार्वजनिक खरिदलाई पारदर्शी, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाएको छ । सिमिति क्वेटेसनबाट खरिद गर्ने  अभ्यासलाई निरुत्साहित गर्दै सार्वजनिक सुचना मार्फत उच्च प्रतिस्पर्धा मार्फत वस्तु तथा सेवाको खरिदलाई कडाइका साथ अघि बढाइएको छ । यसले गर्दा नगरपालिकाले गुणस्तरीय काम गर्ने र नगरपालिकाको ठूलो रकम दुरुपयोग हुनबाट समेत रोकिएको छ ।

 

गत वर्षहरुमा अत्यावश्यक भइ तत्काल ग्राभेल तथा ह्युम पाइप जडान गर्ने कार्यहरुमा नगरपालिकाले बिनाटेन्डर क्वेटेसनमार्फत सिधै कुनै कम्पनी या संस्थालाई ठेक्का दिने गरेकोमा अहिले खुला बोलपत्र मार्फत यी कामहरु गरिएको छ । यसरी काम गर्दा ह्युमपाइपतर्फ करिब ४५ प्रतिशत र ग्राभेलतर्फ करिब ५८ प्रतिशत कम रकममा काम गर्न सकिएको मेयर आचार्य बताउँनुहुन्छ । 

तोकिएको समयमा निर्माणका काम सम्पन्न नगर्ने ७ वटा ठेकेदार कम्पनीलाई कारवाही समेत गरिएको छ । उनिहरुलाई कारवाही गरी नगरपालिकाले रु ४ लाख भन्दा बढी हर्जाना समेत असुल गरिएको छ । नगरपालिकाको यो कदमले गर्दा अहिले निर्माणका काममा  तिब्रता आएको छ ।

 

यस प्रक्रियामा तोकिएको समयमा निर्माणका काम सम्पन्न नगर्ने ७ वटा ठेकेदार कम्पनीलाई कारवाही समेत गरिएको छ । उनिहरुलाई कारवाही गरी नगरपालिकाले रु ४ लाख भन्दा बढी हर्जाना समेत असुल गरिएको छ । नगरपालिकाको यो कदमले गर्दा अहिले निर्माणका काममा  तिब्रता आएको छ ।  यसैगरी नगरपालिकाका अन्य सेवाहरुको खरिदमा समेत पारदर्शिता अपनाइ प्रतिस्पर्धात्मक अभ्यासलाई अवलम्बन गरिएको छ । यसले गर्दा नगरपालिकाको ठूलो बजेट बचत भएको छ । यस किसिमका कानूनको पालना र उच्च आचारणबाट भएका सुधारको विवरण जनता समक्ष कुनै समयमा सार्वजनिक गर्ने मेयर आचार्य बताउनुहुन्छ । उहाँको भनाइमा यदि सार्वजनिक खरिदलाई मात्र व्यवस्थित बनाउन सकियो भने जनताको करबाट उठेको ठूलो रकम  दुरुपयोग हुनबाट बचाउँन सकिन्छ । यो जनताप्रतिको सम्मान र दीर्घकालिन सुधारको शुरुवात हो । 

स्वेतपत्र जारी 

श्वेतपत्र एउटा यथार्थपरक दस्तावेज हो, जसले नगरपालिकाको भौतिक, आर्थिक, सामाजिक विकास लगायत समग्र अवस्थाको यथार्थ चित्रण गर्दछ । यसले सबल र कमजोर पक्ष समेत देखाउँछ । मेयर आचार्यले आफ्नो कार्यकालको शुरुवातमा श्वेतपत्र जारी गरी आफूले नगरपालिकाको जिम्मेवारी लिंदा विकासको अवस्था के कस्तो छ भन्ने बारेको यथार्थ चित्रण गरी जनता समक्ष प्रस्तुत गर्नुभएको छ ।  कार्यकाल सकिने बेलामा समेत श्वेत पत्र जारी गरी आफुनो कार्यकालमा  भए गरेका कामको जानकारी नागरिकलाई पारदर्शि ढंगले प्रस्तुत गर्ने उहाँ बताउँनुहुन्छ ।  

यहि श्वेतपत्रलाई आधार बनाएर आगमी दिनमा सुधारका कामसमेत गर्ने उहाँको भनाई छ । यसरी काम गर्दा नागरिक आफैंले विकासको अवस्थाको तुलना र निस्पक्ष मूल्यांकन गर्न सक्ने भएकाले आफ्नो कार्यकालमा भएका प्रगतिको समिक्षा गर्नका लागि समेत यो श्वेतपत्र आधार दस्तावेज हुने उहाँ बताउनुहुन्छ । 

श्वेतपत्रले गर्दा नगरपालिकामा पछि आउँने नेतृत्वहरुका लागि पनि नियम बसाउने माध्याम हुने र तत्कालका लागि संवृद्धि, सुशासन र विकासलाई व्यवस्थित बनाउँने  प्रमाण पनि हुने नेतृत्वलाई लयमा ढाल्ने तथा व्यवस्थित अभिलेखीकरणसमेत हुने भएकाले श्वेत पत्रलाई महत्व दिइएको उहाँको भनाइ छ । 

स्वीकृत दरवन्दी भन्दा नगरपालिकामा कार्यरत कर्मचारी संख्या १६१ जना बढी छ, जसका कारण नगरपालिकालाई आर्थिक व्ययभार थपिएको  छ ।

 

कर्मचारी प्रशासनमा सुधार 

तत्कालीन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले वि.सं. २०७४ सालमा तयार पारेको संगठन संरचना र दरवन्दीमा परिमार्जन गरी वि.सं. २०७६ मा कोहलपुर नगर कार्यपालिकाले गरेको नयाँ दरवन्दी स्वीकृतिअनुसार  स्थायी, अस्थायी र कारार गरी जम्मा ६९ जनाको दरवन्दी स्वीकृत थियो । तर हाल  २२८ जना कर्मचारीहरु कार्यरत रहेका छन् ।

यसरी स्वीकृत दरवन्दी भन्दा नगरपालिकामा कार्यरत कर्मचारी संख्या १६१ जना बढी छ, जसका कारण नगरपालिकालाई आर्थिक व्ययभार थपिएको  छ । यो अवस्थामा सुधार गर्नका लागि सम्पूर्ण सङ्गठन तथा प्रशासन सुधारका लागि नगरपालिकाले पूर्व सचिव शारदा प्रसाद त्रितालको अध्यक्षतामा एक कार्यदल गठन गरि प्रतिवेदन समेत तयार पारको छ । उक्त प्रतिवेदनले धेरै सुधारका क्षेत्रहरु औंल्याएको पनि छ । यो प्रतिवेदन कार्यान्वयन गरिएमा  नगरपालिकाको प्रशासन तथा  कर्मचारीतन्त्रमा ठूलो सुधार आउँने र आर्थिक व्ययभार समेत कम गर्ने भएकाले यसका लागि आफू प्रतिबद्ध भएको मेयर आचार्यको भनाइ छ  । 

'मलाई आउने झन्डै ७० प्रतिशत फोन कलहरु प्रहरी प्रशासनमा ’फर्वाड’ गर्ने गरेको छु र ती समस्याहरु नगरप्रहरीबाटै समाधान हुन्छ ।’

 

नगर प्रहरी गठन 

आचार्य नगरप्रमुख भएर आएको १०० दिन भित्रमै नगरप्रहरी ऐनको संशोधन गरि ’कोहोलपुर नगरप्रहरी नियमावली, २०७९’ जारी भयो । जसअनुसार पूर्ण पारदर्शी एवं प्रतिस्पर्धात्मक विधि- मापदण्ड आपनाएर नगरप्रहरी भर्ना छनौट तथा नियुक्त गरियो । अहिले नगरपालिकासंग २४ घण्टा खट्ने २४ जना नगर प्रहरी छन् । यस भन्दा अघि भने  सुरक्षा गार्ड सेवाप्रदायक संस्थाबाट सम्झौता गरि ल्याइएका व्यक्तिहरुलाई नगर प्रहरीको रुपमा खटाइएको थियो । उनिहरुलाई नगरपालिकाको नीति नियमका बारेमा राम्रो जानकारी नहुने भएकाले सेवा पनि प्रभावकारी भएको थिएन । जसका कारण नगरको सुरक्षा व्यवस्था चुस्त हुन नसकेको जनगुनासाहरु आइरहन्थे ।

’नगरप्रहरी प्रहरीजस्तै हुनुपर्छ भन्ने सोचका साथ नगरपालिकाले नेपाल प्रहरीको मापदण्ड अनुसार नै योग्यता निर्धारण गर्ने र छनौट गर्ने कामको जिम्मा नेपाल प्रहरीलाई नै दियो । त्यहाँबाट प्रतिस्पर्धाका आधारमा निष्पक्ष रुपमा छानिएका व्यक्तिहरु नै नगरप्रहरीको जिम्मेवारीमा छन्’, उहाँले भन्नुभयो । जनताको विभिन्न समस्याहरु ’फिल्ड’मै हुने र समाधानका लागि नगर प्रहरीको महत्वपुर्ण भूमिका रहने बताउँदै उहाँ भन्नुहुन्छ, 'मलाई आउने झन्डै ७० प्रतिशत फोन कलहरु प्रहरी प्रशासनमा ’फर्वाड’ गर्ने गरेको छु र ती समस्याहरु नगरप्रहरीबाटै समाधान हुन्छ ।’ नगर प्रहरी आएपछि बजार व्यवस्थापन, फोहोर व्यवस्थापन र विपद व्यवस्थापनका कार्यहरुमा पनि निकै सुधार भएको उहाँको भनाइ छ । 

सुशासन र सेवा प्रवाहमा सुधार

जनतालाई असुविधा महसुस नहोस् भन्ने हेतुले दैनिक सेवा प्रवाहमा सिघ्रता ल्याउँने कामलाई नगरपालिकाले विशेष जोड दिएको छ । राजस्व चुहावट रोक्ने, नगरपालिकाको विकासका लागि अन्य विकासका साझेदारहरुसंग साझेदारी गर्ने, शैक्षिक उन्नतिका लागि सामुदायिक विद्यालय सुधार र पूर्वाधारको व्यवस्था, स्थानिय सरकारको संगठनात्मक संरचनालाई पूर्णता दिन विभिन्न समिति गठन गर्ने लगायतका कामहरु पनि तिब्र रुपमा भएका छन् । कर्मचारी प्रशासन सुधारअन्तर्गत राम्रो काम गर्नेलाई थप सेवा सुविधा दिने र तलब पकाउने उद्देश्यले लापरवाही गर्नेहरुको सेवा सुविधा कटौती गर्ने काम पनि नगरपालिकाले गरेको छ । ’जति सकिन्छ राम्रो काम गर्ने हो । मेरो मुख्य उद्देश्य भनेकै जनतालाई खुशी पार्नु हो । त्यहि कोशिशमा छु’, मेयर आचार्यले भन्नुभयो ।   

हाल कोहोलपुर नगरपालिकाको बेरुजु झन्डै ४० करोड रुपैयाँको हाराहारीमा छ।आफ्नो कार्यकालमा बेरुजु सकेसम्म शुन्यमा झार्ने उहाँको योजना छ ।

 

हाल कोहोलपुर नगरपालिकाको बेरुजु झन्डै ४० करोड रुपैयाँको हाराहारीमा छ । यदि विधिको शासन लागु गर्ने हो भने बेरुजुलाई उल्लेख्य मात्रामा घटाउँन सकिने भएकाले अहिले नगरपालिकाले यसका लागि पनि विभिन्न काम गरेको छ । आफ्नो कार्यकालमा बेरुजु सकेसम्म शुन्यमा झार्ने उहाँको योजना छ । आचार्यले नेतृत्व लिने बेलासम्म नगरपालिकाको आन्तरिक आम्दानी रु. १२ करोड हाराहारीमा थियो । तर  हाल गरिएका सुधारका कारण नगरपालिकाको आम्दानी बढाएर २० करोड पुर्याउँने योजनामा उहाँ हुनुहुन्छ । 

स्थानिय सरकारले ठुला ठुला कुरा गरेर भन्दा पनि जनताका साना साना आधारभूत आवश्यकता पुरा गरेर जनताको मन जित्न सक्ने उहाँको धारणा छ । ‘हाम्रो अधिकांश बजेट कर्मचारी प्रशासनमा खर्च हुन्छ तर विकास खर्च भने न्यून हुन्छ । त्यसैले अबका दिनमा प्रभावकारी सेवा प्रवाहसंगै विकास निर्माणका काममा गति दिंदै जाने हो’, उहाँले भन्नुभयो । 

कार्यकाल सकिएर बिदा हुँदै गर्दा पूर्वाधार, सुशासन र नीतिगत रुपमा नै कोहोलपुर नगरपालिकालाई एक स्तर माथि पुर्याएर छाड्ने उहाँको योजना छ ।

आचार्यका अनुसार अघिल्लो सरकारको पालामा इन्धनलगायतका शिर्षकहरुमा अन्धाधुन्द भएको खर्चलाई कटौति गर्न विभिन्न प्रयासहरु गरियो । जसले गर्दा पहिला इन्धन शीर्षकमा  मासिक ६ लाख खर्च हुने गरेकोमा अहिले २ लाख खर्चले पुगेको छ । नगरपालिकामा आवश्यक स्टेसनरीका सामान खरिदमा भएको खर्चलाई समेत उल्लेख्य रुपमा घटाउँन सकिएको छ । सात दिनको सुचनामार्फत् प्रतिस्पर्धाका आधारमा मात्र खरिद गर्ने अभ्यासको शुरुवात गरिएकाले नगरापलिकाले विभिन्न शीर्षकमा खर्च कटौति नगर्न सकेको हो । 

आचार्यले नीतिगत र प्रशासनिक मात्र होइन नगर र बजार व्यवस्थापनका लागि दर्जनौं सुधारका काम गर्नुभएको छ । उहाँले  अव्यवस्थित रुपमा रहेको फुटपाथ तथा ठेलागाडा व्यवसायलाई अर्को ठाउँमा स्थानान्तरण गर्नुभएको छ । जसबाट फुटपाथ हिड्नयोग्य भएको छ भने सडक दुर्घटनामा समेत कमि आएको छ । योसंगै उहाँले नगरपालिकालाई नै कुरुप पार्ने गरि सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएको झुप्राहरुलाई हटाउने कामसमेत गर्नुभएको छ ।  

“कसैका लागि यी सुधारहरु सामान्य लाग्न सक्छ तर स्थानीय जनताले खोजेका विकास र सुधार यस्ता तहका हुन्, यिनै सुधाधरबाट नै नमूना स्थानीय सरकार बनाउँन सकिन्छ । यस्तै सुधारबाट नै कोहलपुर नगरपालिकालाई सबैले गर्व गर्ने स्थानीय सरकार बनाउँने अभियानमा छु,” उहाँले नेटिजन नेपाल संगको कुराकानीमा बताउँनुभयो ।तस्वीर : वीर बहादुर राना 

मेयर आचार्यसंगको कुराकानीका लागि  तलको लिंकमा जानुहोस्