• शनिबार, १५ बैशाख, २०८१
  • १२:११:३५

बालबालिकाको खेलौनाले निम्त्याउला नि बिलौना !

काठमाडौं । बालबालिकालाइ गुडिया निकै मन पर्छ । कतिले त आफ्ना भावना, खुशी र आत्मियतासमेत गुडियासंग साट्ने गरेका छन् । गुडिया बालबालिकालाई मनपर्ने खेलौना हुँदाहँदै पनि यसले उनिहरुको स्वास्थ्यमा निकै हानि पुर्याउन सक्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ । धेरै गुडियाहरुमा ‘पोलिभाइनल क्लोराइड’ अर्थात ’पिभिसी’ नामक रासायनिक पदार्थ प्रयोग गरिएको हुन्छ । जसले क्यान्सरसम्मका रोगहरु निम्त्याउन सक्छ ।  

त्यसैले बालबालिकाको स्वास्थ्य संवेदनशिलता र सुरक्षालाई समेत ध्यानमा राखेर नेपाल हस्तकला महासंघले गुडिया तथा खेलौना निर्माण सुरु गरेको छ । महासंघले युनिसेफसंग सहकार्य गरि ८ वर्षमुनिका बालबालिकाले चलाउँदा र मुखमा राख्दा समेत असर नपर्ने खालको गुडियाहरुको निर्माण थालेको महासंघका अध्यक्ष प्रचण्ड शाक्य बताउनुहुन्छ । यसका साथै महासंघले गुडियामा हुने हानिकारक रसायन र त्यसको प्रयोगले स्वास्थ्यमा पर्ने प्रभावका विषयमा जनचेतना कार्यक्रमसमेत संचालन गर्दै आएको उहाँको भनाइ छ ।  

के हो ’पोलिभाइनल क्लोराइड’ ?

पोलिभिनाइल क्लोराइड एक प्रकारको रासायनिक पदार्थ हो । जुन रेनकोट, रेनबुट, जुत्ताको सोल, सिट कभर, फर्निचर, कार्पेट, प्लास्टिक ब्याग, स्विमिङ पुल, खेलौना वा गुडिया, बालबालिकाले चपाउने खेलौना लगायतका धेरै उपभोग्य सामाग्रीहरुमा प्रयोग गरिएको हुन्छ ।  
खेलौना र उपभोग्य सामाग्रीहरुमा पिभिसीको बढ्दो प्रयोग बालबालिकाको स्वास्थ्यका लागि समेत चिन्ताजनक रहेको विज्ञहरु बताउँछन् । पिभिसीमा हुने भिनायल क्लोराइडका कारण जन्मजात निम्तिने स्वास्थ्य समस्याहरु जस्तैः कलेजोको समस्या, वृद्धि विकाशमा अवरोध, पुरुषहरुमा शुक्रकिट र अन्डकोष सम्बन्धि समस्या तथा कलिलैमा यौवनावस्थाहरु निम्तिने समस्या आउन सक्छ ।  
यसैगरि पिभिसीमा ‘फथालेट्स’ नामक रसायन पनि हुन्छ । जुन प्लास्टिकलाई अझै लचिलो बनाउनका लागि प्रयोग गरिन्छ । यसले हर्मोनहरुमा अवरोध, विकास र प्रजननमा समस्या, दम, समय नपुगी जन्मने र क्यान्सरसम्मका समस्याहरु देखिन सक्छन् ।

नेपालमा खेलौनासम्बन्धि अध्ययन 

नेपाल हस्तकला महासंघले युनिसेफका विज्ञहरु र केहि स्वास्थ्य विज्ञ तथा स्वास्थ्यकर्मीहरुको टोली गठन गरि गुडियामा प्रयोग गरिने रसायनले विशेषगरि ८ वर्षमुनिका बालबालिकामा पर्ने असर, बच्ने उपाय र त्यसको सट्टामा कस्ता गुडिया निर्माण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेको थियो । जहाँ खेलौना निर्माणमा घरेलु तथा साना उद्योगको हिस्सा र भुमिकाका विषयमा समेत छलफल भएको थियो ।  


अध्यक्ष शाक्यका अनुसार बालबच्चालाई खेलौनामा हुने हानिकारक रसायनबाट बचाउनका लागि उन र कपासबाट बनेका खेलौनाहरु प्रयोग गर्न सकिन्छ । जुन धुन र सफा गर्न मिल्ने तथा स्वास्थ्यका दृष्टिकोणले पनि सुरक्षित मानिन्छ । यद्द्यपि, यस्ता खेलौनाहरु अन्य खेलौनाहरु भन्दा केहि महँगो हुने उहाँको भनाइ छ । 

महासंघले सेरामिक, काष्टकला, उनिजन्य बस्तु र कपडा गरि चारवटा बिधामा  बनाउने खेलौनामध्ये बालबालिकाले कुनचाहिं बढि रुचाउँछन् भन्ने कुराको अध्ययन गरेको थियो । ‘बालबाालिकाको स्वास्थ्य र रुचिलाई समेत ध्यानमा राख्दै सामाग्री र डिजाइन तयार पारियो । साथै उत्कृष्ट डिजाइन तयार पार्ने व्यक्तिलाई प्रतिस्पर्धाका आधारमा अवार्ड र सम्मानको व्यवस्था समेत गरिएको थियो’ शाक्यले भन्नुभयो, ‘त्यसपछि विभिन्न जनचेतनाका कार्यक्रमहरु सञ्चालन गरिएको थियो । जुन व्यापार मात्र नभइ स्वास्थ्यका दृष्टिकोणले पनि निकै उपयोगी रहेको हामीले पायौं ।’

पहिले यससम्बन्धि पर्याप्त ज्ञानको अभावले आफुहरुले नि हानिकारक रसायन र सामाग्रीहरु प्रयोग गर्ने गरेको शाक्य स्विकार्नुहुन्छ । ‘पहिले पहिले प्लास्टिकको सामाग्रीहरुमा चम्कने बस्तु राखेर गुडियहरु बनाउने गरिन्थ्यो । त्यस्तै, हवाईजहाज लगायतका खेलौनाहरुमा त धारिलो खालका सामाग्रीहरु प्रयोग गरिएको हुन्छ । प्लास्टिकजन्य बस्तुले रासायनिकरुपमा असर गर्ने भयो भने यस्ता धारिला किसिमका उपकरणहरुले भौतिक रुपमा पनि असर गर्ने भयो । बालबालिकाहरु त गुडियासंग खेल्दा दोहोरो रुपमा पो स्वास्थ्य क्षति भोगीरहेका हुँदारहेछन्’, उहाँले भन्नुभयो ।    

स्वदेशी उत्पादन– अर्थतन्त्रमा टेको

सरकारले हस्तकला क्षेत्रलाई प्राथमिकतामा राखि निति तथा कार्यक्रम तय गरेमा ओरालो लाग्दै गएको देशको अर्थतन्त्रलाई माथि उकास्न सक्ने आधार समेत तय हुन सक्ने शाक्य बताउनुहुन्छ । सरकारले आर्थिक  वर्ष २०७९÷८० का लागि प्रस्तुत गरेको निति तथा कार्यक्रममा पनि हस्तकलालगायतका स्वदेशी उद्योग र उत्पादनलाई प्राथमिकतामा राखी आयातमुखी भन्दा निर्यातमुखी बनाउनेमा जोड दिने कुरा उल्लेख गरिएको छ । यद्यपी कागजमा उल्लेख भएको कुरा कागजमै सिमित हुने त होइन भन्ने आशंका उद्योगीहरुको छ ।

 

महासंघले नेपालका कच्चा पदार्थहरुको उपयोग गरेर नै गुडियाहरु बनाउने गरेको छ । जसले गर्दा नेपाली सामाग्रीहरुको सदुपयोग र शुद्ध नेपाली उत्पादनसमेत हुने गरेको उहाँ बताउनुहुन्छ । ‘यहाँ बनेको गुडिया विदेशी मुलुकहरुमा समेत बिक्रि हुन्छ । जसले गर्दा नेपालको अर्थतन्त्रमा समेत केहि टेवा पुगेको छ भने विदेशी मुलुकबाट डलर भित्रर्याउने एउटा सम्भावित व्यवसायका रुपमा हस्तकला व्यवसायलाई लिन सकिन्छ’, शाक्यले भन्नुभयो ।  

नेपालमा बनेको खेलौना स्वास्थ्य संवेदनशिलताका हिसाबले उपयुक्त भएका कारण युनिसेफले समेत मान्यता दिएको छ । जुन आफ्नो र देशका लागि समेत खुशीको कुरा रहेको शाक्यको भनाइ छ  । हस्तकला महासंघमार्फत स्थानिय कच्चा पदार्थको सदुपयोग, रोजगारीको सिर्जना, अन्तराष्ट्रिय व्यापारलाई प्रवद्र्घन तथा व्यापारका माध्यामबाट अन्तराष्ट्रिय सम्बन्ध बिस्तारमा समेत टेवा पुगेको महासंघको दाबि छ ।  

अध्ययनबाट सिकेका उपयोगी जानकारी र सामाग्रीहरुलाई विद्यालय, विद्यार्थी र पाठ्यपुस्तकमा समेत समेट्न सके अझै उपयोगी हुने शाक्य बताउनुहुन्छ । त्यसैले यसै विषयमा महासंले पाठ्यक्रम विकास केन्द्रमा समेत छलफल गरेको थियो । छलफलका क्रममा सरकारी निकाय निकै सकारात्मक देखिएको बताउँदै शाक्य भन्नुहुन्छ, ‘हामीले गुणस्तर विभाग र पाठ्यक्रम विकास केन्द्रसंग छलफल गरेका थियौं । जुन विषय शैक्षिक क्षेत्रमा प्राथमिकतामा पर्न सकेको छैन । यो निकै महत्वपुर्ण विषय रहेछ भनेर सबैले सकारात्मक प्रतिक्रिया जनाएका थिए ।’  

अबको बाटो

नेपाली हस्तकला क्षेत्रमा ४२ विधाहरु आधिकारिक अभिलेखमा छन्।   तर  महासंघले ४ किसिमका गुडिया बाट सुरक्षित खेलौनाको सुरुवात गरेको छ।  अबका दिनमा अन्य विधाहरुमा पनि जोड दिंदै जाने महासंघको योजना रहेको बताउँदै शाक्य भन्नुहुन्छ, ‘ अबका दिनमा चारओटा मात्रै होइन, सिसा र उनिजन्य सामाग्रीहरुमा पनि काम गर्नुपर्छ  ।’ जथाभाबी गुडियाको प्रयोगबाट ८ वर्षमुनीका बालबालिकाको स्वस्थ्यमा पर्ने असरको  न्युनिकरणका लागि  आफ्नै देशको ‘अगार्निक’ उत्पादनको प्रयोग गर्न सकिने सम्भावनाको अध्ययन गर्दै त्यहि अनुसारका सामाग्रीहरु उत्पादन गर्दै  जाने र  महासंघ अब ११ वर्षसम्मका बालबालिकाको स्वास्थ्यको बारेमा पनि अध्ययन गर्ने तयारीमा रहेको उहाँको भनाइ  छ  ।