• शनिबार, २९ बैशाख, २०८१
  • ०३:४७:३८

मौरीको महबाट चम्किएका  दिनेश चेपाङ्ग

  • Netizen Nepal
  • मंगलबार, ९ असोज, २०८०- १३:२०:००/ Tuesday 09-26-23

पार्वती अधिकारी 
काठमाडौं,९ असोज । मकवानपुर जिल्ला राक्सिराङ्ग गाउँपालिका वडा नं–६ सिलिंगेका दिनेश चेपाङ्गको बाल्यकाल चिउरीको बोट वरिपरि झुम्मिएका मौरीको भुनभुन सुनेरै बित्यो । दिनेशको परिवार र त्यहाँका चेपाङ्ग समुदायको  गुजारा पनि मौरीको मह संकलन र बिक्रि वितरणबाटै हुन्थ्यो । यद्यपि उनीहरु त्यो मह नुन चामलजस्ता  खाद्यान्न संग साट्थे  । यस किसिमको वस्तु विनिमय अभ्यासका कारण  उनीहरु आफ्नो उत्पादनको उचित मूल्य पाउँदैनथे । 

दिनेशलाई सानैदेखि आफुले उत्पादन गरेको मह सट्टापट्टा नभई ठुलो बजारमै लगेर बिक्रि गर्ने चाहाना थियो । बजार बुझ्न बजारमै पुग्नुपर्छ  भन्ने सोच लिएर दिनेश २०६३ बैशाखमा एक क्विन्टल मह, ५० किलो मास र ५० किलो गहत बोकेर काठमाडौँ छिरे । त्यतिबेला जनआन्दोलन चरमोत्कर्षमा  भएकाले उनी काठमाडौँ पुगेकै दिन कर्फ्यु आदेश जारि भयो । काठमाडौँ उनका लागि नयाँ ठाउँ भएकाले  बसबाट झरेपछि उनी सडकमै  बसे । कर्फ्युका बेला बाहिर बसेको भन्दै प्रहरीले गिरफ्तार गर्यो र थुनामा राखिदियो । २४ घण्टापछि दिनेश झिटीगुन्टासहित प्रहरी चौकीबाट निस्किए । त्यो बेला जसोतसो आफ्नो सामान बेचेर उनी गाउँतिर फर्किए । 

त्यो विगत भोगेका दिनेश अहिले भने चर्चित मह व्यवसायी बनेका छन् । आजभन्दा झण्डै १६ वर्षअघि १० हजार लगानीबाट सुरु गरिएको मह सङ्कलन कार्यलाई संस्थागत रुप दिने उनले  राक्सिराङ गाउँपालिका वडा नं ६ मा एभरेष्ट सिलिङ्गे हनी सप्लायर्स प्रा.लि र राइनो प्रिकन्सर्न प्रा.लि दर्ता गरेका छन् । यी संस्थाबाट उनि  वार्षिक रु. २ करोडको कारोबार गर्छन् । मह सङ्कलन केन्द्रमार्फत प्रत्यक्ष रुपमा ३ जना रोजगार छन् भने उनको जेठी छोरी, छोरा र श्रीमतीसमेत त्यहिं काम गर्छन् । उत्पादित मह उनले काठमाडौं, नारायणघाट, हेटौंडा, इलाम, झपा, बुटवल लगायतका क्षेत्रहरुमा बिक्रि गर्ने गरेका छन् ।  

मेहेनत गर्यो भने आफ्नै गाउँ ठाउँमा बसेर अवसरका ढोकाहरु खोल्न सकिने उनको तर्क छ । मौरीपालन व्यवसायबाट दिनेशको जीवनस्तरमा पनि सुधार भएको छ । उनी आफ्ना ३ छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन सक्ने भएका छन् । दिनेश पुरा चेपाङ्ग समुदायको मात्र होइन अन्य व्यक्तिका लागि पनि सफल सामाजिक उद्यमी र प्रेरणाका पात्र बनेका छन् ।    

सामाजिक उद्यम भन्नेबित्तिकै स्वच्छ प्रतिस्पर्धामा आधारित, वातावरणमैत्री र समाजका सिमान्तकृत व्यक्तिलाई सहयोग गर्ने व्यवसाय भन्ने बुझिन्छ । सामाजिक उद्यम बजारको एक यस्तो अवधारणा हो, जसले व्यवसायवाट हुने नाफाभन्दा त्यसबाट समाजमा परेको प्रभावलाई बढी महत्व दिन्छ । अरुलाई सहयोग गर्नु, सामाजिक मूल्य सिर्जना गर्नु, सकारात्मक सामाजिक प्रभाव, दिगोपन, मूल्य मान्यतामा आधारित, नवप्रवर्द्धन यसका विशेषताहरु हुन् । दिनेश अहिले  सामाजिक उद्यमका यी अधिकांश विशेषताहरु अपनाएका एक उद्यमीको रुपमा उभिएका छन् । 

सामाजिक, आर्थिक र भौगोलिकलगायत हरेक कुराबाट बन्चितिकरणमा परेका समुदायको परम्परागत पेशालाई व्यवसायमा परिणत गरेर आयस्तर उकास्न दिनेश सफल भए । एउटा तालिममा सहभागी भएर व्यवसाय सुरु गरेका युवा सामाजिक उद्यमको अभियानता र रोलमोडलकै रुपमा अहिले गाउँ गाउँ गएर अरुलाई सिकाउन सक्ने भएका छन् ।  यति मात्र होइन, उनी जैविक विविधताको उच्चतम सुरक्षाका सवालमा समेत सचेत देखिन्छन । उनले गाउँमा चिउरी संरक्षण र मौरीपालनको प्रवद्र्धनका लागि चिउरीको बिरुवा रोप्ने, फलफुल तथा केरा खेतीमा समेत किसानहरुलाई प्रोत्साहन गर्दै आएका छन् । 
 
तालिमले खोलिदिएको ढोका 

२०६३ सालमा मह बेचेर काठमाडौंबाट फर्किएपछि उनी खेतीपाती तथा मह उत्पादन गर्ने र गाउँगाउँ डुलाएर बेच्ने कामलाई नै निरन्तर्ता दिंदै थिए । २०६४ सालमा युएनडिपीको साना अनुदान कार्यक्रमको सहयोग र स्थानिय साझेदार संस्था एमडिआइ नेपालको सहकार्यमा स्थानिय मह र चेपाङ्ग समुदायलाई स्थानीय उत्पादनबाट आम्दानी बढाउँने तरिकाको बारेमा तालिम प्रप्त गरेपछि बल्ल दिनेशले व्यवसाय गर्नका लागि प्रशस्त अवसरका ढोकाहरु देख्न थाले । उत्पादित सामाग्रीहरु आफैं बजारमा गएर बिक्रि वितरण गर्न प्रोत्साहन दिन तालिम संचालन गरिएको थियो, जसमा दिनेश पनि एक सहभागि थिए  । सो तालिमपछि दिनेशले  चार दिन बजार अवलोकन र भ्रमण गर्ने अवसर पनि पाए । भ्रमणका क्रममा व्यापारी र उद्यमीहरुसंग उनको भेट भयो । त्यहि क्रममा जावलाखेलस्थित हिमालयन हनी सप्लायर्स प्रा.लि.ले उनीसंग एक हजार किलो मह खरिद गर्ने प्रस्ताव राखे ।  

एक्कासी आएको प्रस्तावले एकचोटी त दिनेश झस्किए । त्यति धेरै मह कसरी संकलन गर्ने ? त्यसपछि उनले एउटा जुक्ति लगाए, ’प्रचार प्रसारका लागि पम्पलेट छपाउने ।’  उनले गाउँलेहरुले देख्ने धेरै ठाउँहरुमा पम्पलेट टाँसिदिए । फोन नम्बर र ठेगाना सहितको त्यो पम्प्लेट देखेकै आधारमा मह बेच्ने मानिसहरुको ओइरो  लाग्न थाल्यो ।

 

एक्कासी आएको प्रस्तावले एकचोटी त दिनेश झस्किए । त्यति धेरै मह कसरी संकलन गर्ने ? त्यसपछि उनले एउटा जुक्ति लगाए, ’प्रचार प्रसारका लागि पम्पलेट छपाउने ।’ त्यतिबेला अहिलेजस्तो सामाजिक संजाल छ्यापछ्याप्ती थिएन । त्यसैले  उनले गाउँलेहरुले देख्ने धेरै ठाउँहरुमा पम्पलेट टाँसिदिए । फोन नम्बर र ठेगाना सहितको त्यो पम्प्लेट देखेकै आधारमा मह बेच्ने मानिसहरुको ओइरो  लागेको दिनेश बताउँछन् ।  उनी भन्छन, ’दाल, चामल र नुनमा सस्तोमा साटिरहेको मह मैले किलोको १४० मा किनिदिएँ । मानिसहरु यति आए कि एक हजार किलो मह चाहिएकोमा ३ हजार किलो संकलन भयो ।’ मह व्यापार गर्यो भने बजारमा टिक्न सकिन्छ भन्ने लागेर आफु यस पेशामा लागेको उनी बताउँछन् ।  

गाउँलाई नै उकास्ने  अभियान  

आफू सफल सामाजिक उद्यमी बनेपछि दिनेशले चेपाङ्ग समुदायलाई माथि उठाउनुपर्छ भन्ने सोचले २०६६-६७ मा गाउँको परम्परागत मौरीपालनलाई व्यवसायिक बनाउने उद्देश्यका साथ विभिन्न सरकारी कार्यालयमा  सहयोगका लागि प्रस्ताव पेश गरे ।  उनले अर्थ मन्त्रालयबाट ४० जनालाई  आधुनिक मौरी पालन लागि घार सहयोग पाए । त्यतिखेर गाउँलेकै हितका लागि गरिएको काममा गाउँलेले नै साथ नदिएको क्षण सम्झंदै उनी भन्छन्, ’मैले ४० जनाले मौरी पालन गर्ने प्रतिवद्धता जनाएपछि घार पाएको थिएँ ।  गाउँमा ल्याउँदा मुस्किलले २० जना मात्र सहभागि भए । गाउँका अलि बुझ्ने मान्छेहरुलाई सम्झाएर बाँकी २० ओटा घारमा पनि मौरीपालन गर्न अनुरोध गरें  । अधिकांश मानिस परम्परागत मौरी पालनकै पक्षमा थिए । त्यसैले हाम्रो विरोध गरिरहे ।’ 

‘आधुनिक मौरी पालन गर्नेहरुले वर्षमा १२ देखि १५ लाख आम्दानी  गर्न थाले । त्यसपछि मात्र अन्य व्यक्तिहरु पनि आधुनिक मौरी पालनमा सहभागि भए । त्यसपछि लाग्यो मानिसको सोच परिवर्तन गर्न काम गरेर नतिजा देखाउनुपर्ने रहेछ ।’,उनले भने । 
अहिले सिलिंगेमा १०५ जना किसान र उनीहरुका परिवार मौरीपाल व्यवसाय गर्छन् । जसबाट वार्षिक ५ हजार घार मौरीपालन र  ५० हजार टन मह उत्पादन हुने गरेको उनी बताउँछन् । उनिहरुकोे आयस्तर नै  उकासिएको छ भने जीवनस्तरमा पनि सुधार भएको छ । 

‘आधुनिक मौरी पालन गर्नेहरुले वर्षमा १२ देखि १५ लाख आम्दानी  गर्न थाले । त्यसपछि मात्र अन्य व्यक्तिहरु पनि आधुनिक मौरी पालनमा सहभागि भए । त्यसपछि लाग्यो मानिसको सोच परिवर्तन गर्न काम गरेर नतिजा देखाउनुपर्ने रहेछ ।’

 

दिनेशलाई गाउँलेले उत्पादन गरेको मह संकलन र प्रशोधन गर्दै भ्याइनभ्याई हुन्छ । ‘किसानको घरमै गएर मह संकलन गर्ने गरेको छु । उनीहरुले घार नै पठाउँछन् । त्यसलाई छान्नका लागि एउटा अटो मेसिन पनि जडान गरेको छु’ उनि भन्छन् । 
   
चिउरी संरक्षणमा सामुहिक सक्रियता   

चेपाङ्ग समुदाय परम्परागत रुपमा  मुख्यतः प्रकृतिमा आश्रीत भएर जीवनयापन गर्ने जाती हुन् ।  उनीहरुले चिउरीलाई आफ्नो पैत्रिक सम्पतिका रुपमा लिन्छन् ।  पैतृक धनका रुपमा उपहारसमेत चिउरीको बोट दिन थालियो । त्यसैले छोरीको बिहेमा चिउरीको बोट उपहार दिने चलन अहिले पनि चेपाङ्ग समुदायमा विद्यमान छ ।  

चिउरीको बोट संरक्षण गर्नाले फल, तेल का लागि  समेत प्रयोग गर्न पाइने भएकाले यसबाट धेरै फाइदा लिन सकिने चेपांगहरुले बुझेका छन् ।  यही सांस्कृतिक र आर्थिक फाइदालाई जोडेर दिनेशले चिउरीको विरुवा रोप्ने नयाँ अभियानको शुरुवात गरे ।

चेपाङहरुको संस्कृति, जिवनशैली, पर्यावरण र जिवसंग समेत सम्बन्ध भएको चिउरी संरक्षणका लागि २०६९ सालदेखि झण्डै १२ हजार विरुवा रोपिएको थियो । तर संरक्षण अभावमा मासिएर अहिले जम्मा २ हजार  बिरुवा बाँकी रहेको दिनेश बताउँछन् ।

चेपाङहरुको संस्कृति, जिवनशैली, पर्यावरण र जिवसंग समेत सम्बन्ध भएको चिउरी संरक्षणका लागि २०६९ सालदेखि स्थानिय सरकार, विभन्न संघसंस्था र स्थानियबासीको सक्रियतामा झण्डै १२ हजार विरुवा रोपिएको थियो । बस्तुभाउ चराउँने, घाँस काट्ने, डडेलो लगाउँने लगायतका कामले ती बिरुवाहरु मासिएर अहिले जम्मा २ हजार बिरुवा बाँकी रहेको दिनेश बताउँछन् ।

चिउरीको बोट मासिंदै गएकोमा चिन्तित हुँदै चेपाङ भन्छन्, ‘भएका बोट जोगाउने र नयाँ बिरुवा रोप्ने गरिएन भने मह उत्पादन व्यवसाय पनि संकटमा पुग्ने सक्ने खतरा छ ।’ चिउरीको बोट मासिनाले चमेरो पनि लोप भएर जाने हो कि भन्ने चिन्ता पनि छ दिनेशलाई ।  

चेपाङका अनुसार चिउरीको बिरुवाले दुई चार वर्षमै उत्पादन दिंदैन । यसको फुल र फलका लागि झण्डै १५ कुर्नुपर्छ । त्यसैले पनि १५ वर्षपछि आयआर्जन गर्नका लागि आजदेखि सोचिएन भने भोलि सुख्खा डाँडाबाट न हावा आउँछ, न मह । चिउरी फुल्न थालेपछि भने यसबाट रहरलाग्दो आम्दानी हुने बताउँदै उनी भन्छन्, ‘एउटा चिउरीको बोटबाट कम्तिमा पनि १५ घार मह उत्पादन हुन्छ । जति धेरै चिउरी उति धेरै मह ।’ चिउरी मंसिरदेखि फागुनसम्म फुल्छ । मौरीले त्यहि फुलको रस चुसेर मह उत्पादन गर्छ। 

चेपाङ समुदायको संस्कृति, चिनारी र सम्पतिलाई आधार बनाएर स्थानिय सरकार, सामुदायिक वन, एमडिआइ, युएन्डिपीलगायत सरकारी तथा गैर सरकारी संस्थाहरुको अग्रसरतामा चिउरीको बिरुवा रोप्ने कामको थालनी भएको छ । दिनेशलगायत केहि युवाहरुको पहल र स्थानिय सरकारको सहयोगमा समुदायलाई प्रतिपरिवार वार्षिक १० ओटा चिउरीको बोट रोप्ने र संरक्षणका लागि आह्वान गर्न थालिएको छ । ‘चिउरीको बोट रोप्नाले चेपाङ समुदायको परम्परा मात्र जोगिंदैन, उनीहरुको आयआर्जनमा समेत प्रत्यक्ष फाइदा पुग्छ । त्यसैले सरकारले हाम्रो समुदायलाई माथी उठाउँन भत्ताको व्यवस्था गरेको छ । हामी आफैंलाई माथी उठाउँन चिउरी संरक्षण गर्न त सक्छौं नि । यो कुरा हामी समुदायलाई बुझाउँदै छौं’, उनले भने । 

यसका अलावा चेपाङ समुदायको ज्ञान, शीप र क्षमतालाई उजागर गरि बाहिरी दुनियाँमा समेत चिनाउँनका लागि उनीहरुले उत्पादन गर्ने सामाग्री, संस्कृति झल्काउँने बस्तुहरुको समेत बजारीरण गर्ने दिनेशको योजना छ। 

सम्बन्धित समाचार:

कोभिडले कोरलेको सामागाउँको कान्ति

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

महिनावारी स्वास्थ्य, वातावरण र विभेदविरुद्ध प्याड क्रान्ति