• बिहीबार, १० जेठ, २०८१
  • १२:४१:३५

कोभिडले कोरलेको सामागाउँको कान्ति

गोब-ची बेरीलाई ‘रोसा म्याक्रोफिला र हिमालयन रोज हिप्स’ पनि भनिन्छ । यो सामागाउँ तथा हिमाली भेगका वन जङ्गलमा पाइने एक प्रकारको फल हो । जुन हर्बल चियापत्तीका रुपमा विश्व बजारमा महङ्गो मूल्यमा बिक्री हुन्छ । गोब–ची बेरीको मदिरा पनि उत्तिकै महङ्गो मूल्यमा बिक्रि हुन्छ ।

काठमाडौं । गोरखा जिल्ला, चुमनुब्री गाउँपालिका-१ सामागाउँकी ३२ वर्षिया पासाङ्ग डोल्मालाई आफ्नै गाउँठाउँमा पाइने गोब–ची बेरीको उपयोगिताका बारेमा थाहै थिएन । जङ्गलभरि फलेको बेरी कसैले वास्ता नगर्दा त्यत्तिकै कुहिएर जान्थ्यो । तर आजभोलि गाउँका बालबालिकादेखि युवा र बुढाबुढीसमेत गोब-ची बेरी सङ्कलन गर्छन् । स्थानीय संस्था टेरगार च्यारिटी नेपालले गोब-ची बेरीको महत्वको बारेमा उनीहरुलाई बुझाएपछि अहिले स्थानीयमाझ यसको सङ्कलनसंगै संरक्षण पनि बढेको छ ।   

गोब-ची बेरीलाई ‘रोसा म्याक्रोफिला र हिमालयन रोज हिप्स’ पनि भनिन्छ । यो सामागाउँ तथा हिमाली भेगका वन जङ्गलमा पाइने एक प्रकारको फल हो । जुन हर्बल चियापत्तीका रुपमा विश्व बजारमा महङ्गो मूल्यमा बिक्री हुन्छ । गोब–ची बेरीको मदिरा  पनि उत्तिकै महङ्गो मूल्यमा बिक्रि हुन्छ । यो तिब्बतियन र चाइनिज जडिबुटीका रुपमा रक्तचाप कम गर्न र दृष्टि सुधारका लागि समेत प्रयोग गरिन्छ ।  

टेरगार च्यारिटी नेपालले स्थानीय वासिन्दालाई यो महत्व बुझाइदिने मात्र होइन, उनीहरुले सङ्कलन गरेको सबै फल खरिद समेत गरिदिएपछि स्थानीयले यसबाट राम्रो आम्दानी पनि लिएका छन् । संस्थाले बेरी सङ्कलन गरेबापत प्रतिकेजी १५ सय र पखालेर सफा गरी ल्याउनेलाई रु १ हजार ९ सय ४० का दरले रकम उपलब्ध गराई यसबाट हर्बल चिया उत्पादनको  सम्भावना उजागर गरेपछि स्थानीय यसतर्फ आकर्षित भएका हुन् । पासाङ्गलगायत गाउँका केही महिलाहरु यसलाई सोलार ड्रायरमा उपयुक्त तापक्रममा सुकाएर  चियापत्ती तयार गर्छन् ।

२०२१ मा सामागाउँका २१ जना महिलाले गोब–चीको १७५ बक्स हर्बल चिया प्याकेजिङ्ग गरी क्यानडा र अमेरिकामा बिक्री गरेर रु.३२ हजार आम्दानी गरे । अहिले गोब–ची सङ्कलनबाट खेर गएको महत्वपूर्ण वनस्पतिको सदुपयोग मात्र भएको छैन, स्थानीयको आयआर्जनमा समेत मद्दत पुगेको छ । गोब–जी बेरी सङ्कलन तथा बिक्री वितरणमा महिला बढी संलग्न छन् । यसले गर्दा उनीहरु आर्थिक रुपमा सबल बन्दै गएको संस्थाको भनाइ छ ।   

 

कोभिडले कोरलेको अवसर  

सन् २०२० मा सारा विश्व कोभिडले आक्रान्त भएको बेला सामागाउँ पनि लकडाउनको चपेटामा पर्यो। यातायात तथा ढुवानीमा ढिलाइ र अवरोध हुँदा सामागाउँबासीले  खाद्यसङ्कटको समाना गर्नुपर्यो। कोभिडकै कारण सामागाउँको मुख्य आयआर्जनको बाटो पर्यटन पनि प्रभावित भयो । आठ हजार एक सय ६३ मिटरमा अवस्थित विश्वको आठौं अग्लो हिमाल मनास्लु चढ्नका लागि पर्यटकहरु सामागाउँ हुँदै जान्छन् । तर कोभिडको समयमा  गाउँको बाटो भएर हिड्ने कोही पनि थिएन ।  

सामागाउँका लागि नयाँ प्रविधिको रुपमा शुरु गरिएको ग्रीन हाउसले तरकारी उत्पादनमा उत्साहजनक नतिजा दियो । हिमाली क्षेत्रमा पर्यावरणमैत्री प्रविधि अपनाएर खेती गरी आयआर्जन र पोषणको प्रशस्त आयामहरु निर्माण गर्न सकिने सम्भावना सामागाउँबाट उजागर भएपछि छिमेकी गाउँमा समेत यसलाई विस्तार गरिएको छ। 

गाउँमा खाद्य सङ्कट भएपछि स्थानीय सरकारले राहतका सामाग्रीहरु बाँड्ने काम पनि गर्यो तर सधैं अरुको भर पर्दा स्थानीयको जनजीवन नचल्ने देखेर जनप्रतिनिधि तथा गाउँका अगुवाहरु यो समस्या समाधानको दिगो उपायको खोजीमा लागे । स्थानीय अगुवा योङ्गे मिङग्युर रिम्पोचेको नेतृत्वमा रहेको टेरगार च्यारिटी नेपालको पहलमा गाउँका  विपन्न, असहाय र एकल महिलाका लागि १५ वटा प्यासिभ सोलार, ढुंगा र डबल लेयर पोलिकार्बोनेटको छाना भएको चिसो मौसमयुक्त ‘ग्रीनहाउस’ निर्माण गरियो । साना अनुदान कार्यक्रमको सहयोग भएकाले यो कार्यलाई अघि बढाउँन पनि सजिलो भयो । ‘ग्रीनहाउस’ (हरितगृह) वर्षमा १० महिना तरकारी लगाउन मिल्ने गरी बनाइएको थियो। 

सामागाउँका लागि नयाँ प्रविधिको रुपमा शुरु गरिएको ग्रीन हाउसले तरकारी उत्पादनमा उत्साहजनक नतिजा दियो । त्यसपछि गाउँलेहरु टनेल बनाएर तरकारी खेती गर्न लागि परे । परियोजनाले स्थानीयवासीलाई ग्रीन हाउस तथा करेसाबारीमा आवश्यक बिउबिजन, नर्सरी निर्माण, औजार तथा सिंचाइका लागि आवश्यक सामाग्रीहरु उपलब्ध गराएको थियो ।

यसबाट खानेसंँगै बेच्ने तरकारी पनि उत्पादन हुन थालेपछि सामागाउँवासीले यसलाई निरन्तरता दिए । ग्रीनहाउस प्रविधिको तरकारी उत्पादन कार्य विस्तार भइरहेको छ । समागाउँमा अहिले थप ३२ ओटा र छिमेकी गाउँ साम्दोमा १५ ओटा ग्रीन हाउस निर्माण गरी तरकारी खेती गर्न थालिएको छ । हिमाली क्षेत्रमा पर्यावरणमैत्री प्रविधि अपनाएर खेती गरी आयआर्जन र पोषणको प्रशस्त आयामहरु निर्माण गर्न सकिने सम्भावना सामागाउँबाट उजागर भएपछिछिमेकी गाउँमा समेत यसलाई विस्तार गरिएको कार्यक्रम अधिकृत रोहन पौडेलको भनाइ छ ।

ग्रिनहाउस निर्माणपछि तरकारीको दुःख नभएको स्थानीय बासिन्दा बतउँछन् । उनीहरुका अनुसार पहिला एक किलो तरकारी बजारबाट ल्याउनका लागि ढुवानी खर्च मात्र १ सय १० रुपैयाँ तिर्नुपथ्र्यो । अहिले कतिपय किसानले त आफ्नै बारीमा तरकारी फलाएर आफूलाई खाने जोहो गर्दै बचेको तरकारी बिक्रिबाट केही आयआर्जन समेत गर्न सफल भएका छन् । अहिले सामागाउँमा आउँने पर्यटक  पनि  स्थानीयको बारीबाटै तरकारी किन्ने गरेका छन् । यसले गर्दा उनिहरुलाई थप उत्साहित गराएको छ ।   

एक किलो तरकारीको ढुवानी खर्च मात्र १ सय १० रुपैयाँ तिर्नुपर्ने सामागाउँबासी अहिले आफैंले फलाएको तरकारी बेचेर आयआर्जन गर्छन् । 

 

अभावबाट उद्यमतर्फ 

यहाँ स्थानीयको आयआर्जनका लागि  नेपाली, तिब्बतियन र अन्य देशका खाना बनाउने तथा स्थानीय उत्पादनहरुबाट विभिन्न परिकार बनाउने तालिम दिइयो । यो तालिमपछि स्थानीयहरु पर्यटकको रोजाइअनुसारका खाना बनाउन सक्षम भए  । १९ वर्षिया छिरिङ्ग डिकी पनि संस्थाले दिएको तालिममा सहभागी भइन् । राम्ररी खाना बनाउन नजान्ने उनी तालिमपछि आफ्नो रुचिअनुसारको खानेकुरा बनाउन सक्ने भएकी छिन् ।

यसका साथै ग्रीन हाउसमा उत्पादित तरकारीहरुको बजारका बारेमा बुझाइदिने, सोलार ड्रायरको प्रयोग गर्ने तरिका तथा गोब–जी बेरीको प्रशोधन तथा सङ्कलनका बारेमा दिइएको तालिमबाट स्थानीय निकै लाभान्वित भएको उनको भनाइ छ । परियोजनाले सामागाउँमा ठूलो परिवर्तन ल्याएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘यसको सफलताबाट प्रभावित भएर गाउँका प्रमुख धार्मिक गुरुले ’गोब–ची बेरी (रोजा म्याक्रोफिला)का एक हजार ओटा विरुवा नर्सरीमा सहयोग गरेका थिए । स्थानीयले पनि गोब–चीको विरुवा आफ्नो घर बारीमा रोप्न थालेका छन् । 

महिलाहरुका लागि स्वच्छता शिक्षा, आधारभूत साक्षरता कक्षा, स्वास्थ्य र पोषणका बारेमा सचेतना लगायतका कामहरुले उनीहरु स्वास्थ्य र सरसफाइमा सचेत हुन थालेको पौडेल बताउनुहुन्छ । सामागाउँका  १५ जना पुरुष र ५४ जना महिलालाई दिइएको क्षमता अभिवृद्धि तथा सीप विकाससम्बन्धी तालिम पनि दिइएको थियो । यो तालिमले उनिहरुको आम्दानी बढाउँन सहयोग पुगेको छ । छ जना महिलाहरुले  श्रृङ्गार तथा पार्लरसम्बन्धी र गुणस्तरीय स्यानिटरी प्याड उत्पादनसम्बन्धी तालिम लिएपछि यसैलाई आयाआर्जनको माध्यम बनाएर काम गर्न थालेका छन् ।  

विश्व जलवायु सूचकांकका अनुसार जलवायु परिवर्तनले छिटो असर गर्ने देशहरुमध्ये नेपाल चौंथो जोखिमयुक्त मुलुकमा पर्छ । नेपालको पनि तराई र पहाडी भूभागको तुलनामा हिमाली क्षेत्रको पर्यावरण र जनजीवनमा यसको असर तुलनात्मक रुपमा छिटो पर्ने अध्ययनहरुले देखाएका छन् । त्यसैले जलवायु परिवर्तनको जोखिमलाई न्युनिकरण गर्दै पर्यावरणको सुरक्षा, दिगो विकास र उत्थानशिलताका लागि विभिन्न अभियान र कार्यक्रमहरु सञ्चालन तथा सचेतनाका यस्ता कामहरु निकै उपयोगी हुने गरेका छन् ।  

अन्तर्राष्ट्रिय पुरस्कार र चर्चा 

तरकारी खेती र गोब–ची बेरीमार्फत सामागाउँको खाद्य सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले संयुक्त राष्ट्र संघिय विकास कार्यक्रमको विश्व वातावरण कोषअन्तर्गतको साना अनुदान कार्यक्रमको आर्थिक सहयोग र टेरगार च्यारिटी नेपालको पहलमा सन् २०२१ देखि १८ महिना सञ्चालन भएको कार्यक्रममार्फत सामागाउँमा उल्लेखनीय परिवर्तनहरु भएका छन् ।

आलु कोदो, जौ र फापरजस्ता केही सीमित बालीनाली मात्र हुने यस क्षेत्रमा परियोजनामार्फत ग्रीन हाउस निर्माण भएपछि बाह्रै महिना तरकारी उत्पादन हुन थालेको छ । बजार क्षेत्रको पहुँचबाट निकै टाढा रहेको यस गाउँमा सामान ढुवानीकै प्रतिकेजी ९० रुपैयाँ लाग्थ्यो । अहिले स्थानीय तहरुको त्यो बाध्यता मात्र हटेको छैन,  यहाँको  तरकारी बिक्री गरी आयआर्जन गर्न सक्ने समेत भएका छन् ।

हिमालको चिसो हावापानी भएको स्थानमा यस किसिमको उत्पादन प्रविधिको सफल परीक्षणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ, जुन प्रविधि अन्य हिमाली क्षेत्रका लागि समेत उपयोगी हुन सक्छ ।

हिमालको चिसो हावापानी भएको स्थानमा यस किसिमको उत्पादन प्रविधिको सफल परीक्षणलाई महत्वपूर्ण उपलब्धिका रुपमा लिइएको छ, जुन प्रविधि अन्य हिमाली क्षेत्रका लागि समेत उपयोगी हुन सक्छ ।  टेरगार च्यारिटी नेपाल सामागाउँमा वातावरणमैत्री प्रविधिमार्फत आयआर्जन तथा पोषणका क्षेत्रमा पुर्याएको योगदानकै कारण संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रमअन्तर्गत इक्वेटर इनिसियटिभद्वारा आयोजित इक्वेटर अवार्डबाट समेत सम्मानीत भएपछि यो गाउँको चर्चा अन्तर्राष्ट्रिय रुपमा समेत भएको छ । हरेक २–२ वर्षमा प्रदान गरिने उक्त अवार्ड संस्थाले दिगो खाद्य सुरक्षा, जीविकोपार्जन तथा उत्थानशीलताका लागि गरेको प्रयास र यसबाट पाएको सफलताका कारण प्राप्त गरेको हो ।

परियोजनामार्फत वन तथा पर्यावरणको संरक्षण र खेर गएको गोब–चीको सदुपयोसंगै आर्थिक उन्नति र वातारणमैत्री ग्रीन हाउसमार्फत स्थानीयको खर्च बचतसंँगै अर्गानिक खानेकुराले स्वास्थ्यमा समेत लाभ पुग्ने भएकाले नै संस्था अन्तर्राष्ट्रिय इक्वेटर अवार्डबाट सम्मानित भएको  हो । संस्थाले विगत पाँच वर्षदेखि सामागाउँका गरिब, विपन्न, एकल महिला तथा पिछडिएको वर्गहरुको जिवनस्तर उकास्नका लागि आय आर्जनमूलक स्थानीय मोडेलका अभ्यासहरुमार्फत खाद्य समस्या समाधानमा सहज र सफल प्रयोग गर्दै आएको छ ।

सम्बन्धित समाचार: 

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन

सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता

ग्रामिण विकासमा नयाँ  अभ्यासको अग्रसरता

साना अनुदान कार्यक्रम : सानो पाइलाबाट ठूलो यात्रा

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

उघारिदै तनहुँसुर

मसिने गाउँको माछामा सबैको आँखा 

जीवनको अस्तित्वका लागि जैविक विविधता