• मंगलबार, ६ कार्तिक, २०८१
  • १०:२५:१७

महिनावारी स्वास्थ्य, वातावरण र विभेदविरुद्ध प्याड क्रान्ति 

  • Netizen Nepal
  • आइतबार, १४ असोज, २०८०- १४:०५:००/ Sunday 10-01-23

स्यानिटरी प्याड त्यत्तिकै खेर जाने केराको बोटबाट पनि बनाउँन सकिन्छ । यदि यसरी प्याड बनाउँन थालियो भने कच्चा पदार्थ खरिदमा बाहिरिने करोडौं रकमसमेत जोगिन सक्छ ।

पार्वती अधिकारी 

काठमाडौँ, १४ असोज। सानो हुँदा देवी भगवानका रुपमा पुजिने छोरीलाई महिनावारी हुने बित्तिकै समाज र परिवार स्वयंले अछुतको व्यवहार गरेको देख्दा चितवनकी  सावित्री भण्डारीलाई यसो किन गरिएको होला भन्ने कौतुहलता जाग्थ्यो । आफ्नै छोरी, बुहारीलाई  घर, परिवार, चुलोचौकामा पस्न नदिने, अभ्यास उनलाई अनौठो लाग्थ्यो । जब उनी आफैं २०४५ सालमा महिनावारी भइन् तब त्यसको भुक्तभोगी बन्ने भइन् । समाज र परिवारले महिनावारी भएको बेलामा तोकिदिएको सिमितता त्यतिबेला तोडेर जान सक्ने हिम्मत जो कोहिले सायदै गर्थे  । 

सावित्री यस्ती महिला हुन् जसले पहिलो र दोस्रो पटक महिनावारी हुँदा घरमा बस्नु हुँदैन भन्ने मान्यतालाई तोड्दै परिवारसंगै विद्रोह गरेर घरमै बस्नुभयो । आजभन्दा ३५ वर्षअघि उहाँले देखाउँनुभएको आँटले नै उहाँलाई महिलाहरुको महिनावारी स्वच्छता र वातावरणमा काम गर्ने इच्छा जगायो । 

महिनावारी हुनु भनेको महिला सृष्टि गर्नका लागि योग्य हुँदै जानु र उसको स्वास्थ्य अवस्था ठिक भएको संकेत पनि हो । तर महिनावारीका बेला हुने विभेदका कारण उनिहरुमा हिनताबोध हुने, आत्मबल घट्ने, डर र चिन्ताको विषय बन्न पुग्छ । समाजमा महिनावारीलाई लिएर हुँदै आएका कुचलनका कारण महिलाहरुको  व्यक्तित्व विकासमा समेत असर गरेको देखेपछि उहाँले महिनावारीलाई महिला विभेद र अन्यायको एक जटिल कारकको रुपमा देख्नुभयो । यसैको फलस्वरुप उहाँले प्याड क्रान्ति थाल्दै अहिले वायोडिग्रडेवल प्याडको उत्पादनको शुरुवात गर्नुभयो ।

प्याड क्रान्तिको शुरुवात 

स्यानिटरी प्याड महिनावारीसंग मात्र नभइ वातावारणिय, स्वास्थ्य, र आर्थिक पक्ष पनि जोडिएको हुन्छ । यी बहुआयामिक पक्षहरुको ख्याल गर्दै सावित्रीको नेतृत्वमा सञ्चालित न्यायका लागि सक्रिय महिला मञ्चले ‘मितेरी’ वातावरण तथा जैविकमैत्री प्याड उत्पादन गर्दै आएको छ । संस्थाले २०६६ देखि महिला हिंसा र कुचलनविरुद्ध आवाज उठाउँने, सचेतना दिने, प्राकृतिक प्रकोपहरुमा सरसहयोग र स्वयंसेवाको काम गर्दै आएको थियो । २०७१ देखि संस्थामार्फत गाउँगाउँका महिलाहरुलाई कपडाको प्याड बनाउँने तालिम दिन थालियो । २०७६ सालदेखि ‘मितेरी जैविक प्याड उत्पादन केन्द्र’को स्थापना गरि माटोमा राखेपछि ६ देखि ८ महिनामै कुहिने (बायो डिग्रेडेबल) प्याड उत्पादन सुरु भयो ।  

 ‘महिनावारी विभेद हामीले सम्झाएर परिवर्तन भइहाल्ने विषय होइन । नबुझेकालाई राम्रोसंग भनेमा  बुझ्छन्, बुझेर पनि यो प्रथालाई निरन्तरता दिएकाहरुलाई परिवर्तन गर्नु निकै मुस्किल काम हो।’

बजारमा पाइने प्याड एकातिर खर्चिलो, अर्कोतिर चिलाउने, एलर्जी हुने र संक्रमण हुने  हुनेजस्ता स्वास्थ्य समस्याहरु देखिएपछि राधा पौडेल फाउन्डेसन र न्यायका लागि सक्रिय महिला मञ्चका सदस्यहरु मिलेर जनचेतनासंगै पुनः प्रयोग गर्न सकिने कपडाको प्याड बनाउँने तालिम गाउँगाउँमा दिन थालिएको सावित्रीको भनाइ छ । यहि क्रममा महिनावारी विभेदका कुरा पढेलेखेका र शिक्षित व्यक्तिहरुले बुझी बुझी प्रश्रय दिएको कुरा भण्डारीलाई महसुस भयो ।

‘महिनावारी विभेद हामीले भाषण गरेर या सम्झाएर परिवर्तन भइहाल्ने विषय होइन । नबुझेकालाई राम्रोसंग भनेमा  बुझ्छन्, बुझेर पनि यो प्रथालाई निरन्तरता दिएका हरुलाई परिवर्तन गर्नु निकै मुस्किल काम हो’, भण्डारीले  भन्नुभयो । त्यसैले आफुहरुले स्यानिटरी प्याडमार्फत कुप्रथा विरुद्ध मन्ध रुपमा क्रान्ति थालेको उहाँको भनाई छ । जसको उद्धेश्य वातावारण र महिलाको स्वास्थ्य जोगाउँनु मात्र नभई महिनावारी सम्बनधीको अन्धविश्वासलाई चिर्नु पनि रहेको छ ।  

मितेरी प्याड भारत र नेपालका ल्याबहरुमा परिक्षण गरेपछि मात्र बजारमा ल्याइएको बताउँदै राधा पौडेल फाउन्डेसनकी अध्यक्ष राधा पौडेल भन्नुहुन्छ, ‘नेपाल सरकारको गुणस्तर चिन्ह मापन केन्द्रमा लगेर पनि परिक्षण गरिएको थियो । त्यहाँबाट गुणस्तरिय भएको प्रतिक्रिया आएपछि धेरै महिलाहरुलाई प्रयोगका लागि पनि दिइयो । उनिहरुले अन्य प्याडभन्दा सजिलो भएको र यसको प्रयोगले छालामा हुने समस्याहरु नभएको बताएपछि मात्र बिक्रि वितरण गर्न थालिएको हो ।’ 

उत्पादन क्षमता र बजार बढाउँदै 

सुरुवातमा सानो मेसिनको प्रयोग गरेर ‘मितेरी’ प्याडको उत्पादन थालिएकोमा सन् २०२१ देखि ठूलो क्षमताको स्वचालित मेसिन जडान गरियो । यो मेसिन जडान गरिएपछि अहिले उत्पादमा समेत बृद्धि भएको बताउँदै भण्डारी भन्नुहुन्छ, ‘पुरानो मेसिनबाट एक दिनमा ५ सय वटा प्याड उत्पादन हुने गरेकोमा नयाँ स्वचालित मेसिन जडानपछि भने दश गुणा बढी अर्थात ५ हजार ४ सय वटा  प्याड उत्पादन गर्न सकिने क्षमता विस्तार भएको  छ ।  संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको विश्व वातावरण कोष अन्तर्गत साना अनुदान कार्यक्रमको सहयोगमा जाडान भएको नयाँ स्वचालित मेसिन भारतबाट ल्याइयो । 

जैविकमैत्री प्याडले पर्यावरण जोगाउनका लागि उत्तिकै भुमिका खेलेको छ । उक्त प्याड प्रयोग गर्नेहरुको तथ्याङ्क केलाउँदा प्रत्येक दिन ५ लाख ४० हजार ग्राम र वर्षमा १ लाख ९७ हजार १०० केजी प्लास्टिक प्रयोग हुनबाट जोगिएको भण्डारीको दाबी छ । 

स्थानीय सरकार तथा अन्य संस्थाहरुले पनि यो अभियानलाई साथ दिएपछि  अहिले स्थानीय जनशक्तिबाटै यो मेसिन सञ्चालन गरिएको छ । पहिले ७ जना महिला रोजगार थिए, नयाँ मेसन आएपछि १२ जना महिलाहरु प्याड निर्माणमा कस्सिएको भण्डारी बताउँनुहुन्छ । यसलाई बढाउँन सकेको खण्डमा एक सय देखि १ सय ५० जना महिलाहरुलाई रोजगारी दिन सकिने सम्भावना रहेको उहाँको भनाई छ । भण्डारीको भनाइले  प्याडसंग  वातावरण, महिलाको स्वास्थ्य संगै रोजगारी र आर्थिक पाटो पनि उल्लेख्यरुपमा जोडिएको छ । जैविकमैत्री प्याडले पर्यावरण जोगाउनका लागि उत्तिकै महत्वपुर्ण भुमिका खेलेको छ । जसका कारण प्रत्येक दिन ५ लाख ४० हजार ग्राम र वर्षमा १ लाख ९७ हजार १०० केजी प्लास्टिक प्रयोग हुनबाट जोगिएको भण्डारीको दाबी छ । 

अध्ययनहरुले देखाए अनुसार एउटी महिलाले आफ्नो जिवनकालमा १४ देखि १८ हजार प्याड प्रयोग गर्छन् ।  यो संख्याको आर्थिक मूल्य गर्दा करिब २ लाख रुपैयाँ त महिलाले प्याडमै खर्च गर्ने रहेछन्, जुन परिवारसंग समेत जोडिएको सवाल हो । त्यसैले महिनावारी महिलासंग मात्र जोडिएको विषय होइन । यसलाई आर्थीक पाटोबाट हेर्ने हो भने रोजगारी र आर्थीक उत्पादनको आधार समेत भएको भण्डारीको भनाइ छ । महिनावारी प्याड सुरक्षित र स्वास्थ्यमैत्री हुनुपर्नेमा जोड दिदै मितेरी प्याडले मुलुकलाई नै फाइदा पुग्ने उहाँको भनाइ छ । 

बायोडिग्रेडेबल मितेरी प्याडको मुल्य एक प्याकेटको ११० रुपैयाँ पर्छ । यो मुल्य अन्य सामान्य प्याडभन्दा थोरै बढी भए पनि महिलाहरुमा हुने ७० प्रतिशत रोगहरुबाट बच्न ठुलो मदत पु¥याउँछ । 

एउटी महिलाले आफ्नो जिवनकालमा १४ देखि १८ हजार प्याड प्रयोग गर्छन् ।  यो संख्याको आर्थिक मूल्य गर्दा करिब २ लाख रुपैयाँ त महिलाले प्याडमै खर्च गर्ने रहेछन्, जुन परिवारसंग समेत जोडिएको सवाल हो ।

उहाँले चितवनका सामुदायिक विद्यालयहरुमा  मितेरी प्याडको प्रयोगसंगै सचेतना कार्यक्रमको अभिायान समेत चलाउनु भएको छ । भरतपुर महानगरपालिकाले बजेट छुट्याएर केहि विद्यालयहरुमा मितेरी प्याड बाँड्न थालेको छ । ‘मितेरी प्याडको पहिलो बजार भनेकै स्थानिय बजार हो । हामी निरन्तर स्थानिय उत्पादन र स्थानिय खपतका लागि वकालत गरिरहने छौं’, उहाँले भन्नुभयो ।   
मितेरी प्याड अहिले चितवनस्थित कार्यालयबाटै देशभर पठाउँने गरिएको छ । यसका अलावा काठमाडौंमा राधा पौडेल फाउन्डेसनमा पनि उपल्ब्ध छ । साथै कुरियरमार्फत जुनसुकै मुलुकहरुमा पनि पठाउँने गरिएको छ ।

जैविकमैत्री मितेरी प्याड स्वास्थ्यमैत्री पनि भएको कुरा काठमाडौंका स्वास्थ्यकर्मी, विशेषज्ञ तथा गाइनोका डाक्टर तथा स्वस्थ्यकर्मीहरुले प्रयोग गरेर बताएको भण्डारीको भनाई छ । यसले वातावरणमा कुनै असर गर्दैन भने प्लाष्टिकबाट हुने वातावरणिय ह्रासलाई समेत घटाउँन मदत गर्छ । स्थानिय महिलाहरु रोजगार हुने प्रशस्तै सम्भावना तथा विदेशी तथा गुणस्तरहिन सामाग्रीलाई स्वदेशी उत्पादनले प्रतिस्थापन गर्ने अवसरका रुपमा पनि यसलाई लिन सकिन्छ । भण्डारीका अनुसार अहिले राज्यले बाँडेको प्याडकै हिसाब गर्दा पनि त्यति उत्पादन नेपालमै गर्ने हो भने ५०० भन्दा बढी महिलाहरु स्वदेशमै रोजगार हुन सक्छन्  ।  

अहिले यो प्याडका लागि कच्चा पदार्थ भारतबाट आयात हुन्छ । सरकारले विदेशबाट खरिद गरिने प्याडमा त छुटको व्यवस्था ग¥यो तर स्वदेशमा उत्पादन गर्नका लागि ल्याइने कच्चा पदार्थमा भने ३५ प्रतिशतसम्म कर लगाइदियो । जसका कारण आफुहरुजस्ता सामाजिक उद्धेश्य बोकेर व्यवसाय गर्नेहरुको ढाड सेकिएको भण्डारीको गुनासो छ ।

भण्डारीका अनुसार अहिले राज्यले बाँडेको प्याडकै हिसाब गर्दा पनि त्यति उत्पादन नेपालमै गर्ने हो भने ५०० भन्दा बढी महिलाहरु स्वदेशमै रोजगार हुन सक्छन्  ।  

 स्यानिटरी प्याड त्यत्तिकै खेर जाने केराको बोटबाट पनि बनाउँन सकिन्छ । यदि यसरी प्याड बनाउँन थालियो भने कच्चा पदार्थ खरिदमा बाहिरिने करोडौं रकमसमेत जोगिन सक्छ । मितेरी जैविकमैत्री प्याड उत्पादन केन्द्रले पनि नमुनाका रुपमा केराको बोटको प्याड बनाएको थियो । उक्त प्याड निर्माण गर्न थप उपकरण र जनशक्ति समेत चाहिने भएकाले तत्कालै निर्माण गर्न नसकिएको उहाँको भनाई छ । ‘यदि सरकारको साथ पायौं भने केराको बोटबाट बनेको प्याड नै बजारमा ल्याउँन सकिन्छ’, उहाँले भन्नुभयो । 

बजारलाई बुझाउँनै गाह्रो 

सामुदायिक विद्यालयहरुमा बायोडिग्रेडेवल प्याड वितरणमा चितवनका स्थानिय तहहरुले चासो देखाएका थिए । संस्थाले पनि यसका लागि पहल नगरेको होइन । तर सरकारको  नीति सस्तो सामान खरिद गर्ने भएका कारण  मितेरी प्याडको गुणस्तर र देशलाई नै फाइदा हुने पाटो वेवास्तामा परेको  उहाँ बताउँनुहुन्छ । सरकारले सामुदायिक विद्यालयहरुमा वार्षिक झण्डै ३० करोड रुपैयाँको  प्याड वितरण गर्ने गर्छ । यदि यी विद्यालयमा मितेरी प्याडजस्ता स्वदेशी प्याड दिन सके यसबाट वातावरण र बालिकाहरुको स्वास्थ्यमा ठूलो फाइदा पुग्ने भण्डारी बताउनुहुन्छ ।  

सुरुवाती चरणमा भएका कारण प्याड बिक्रि वितरण तथा मानिसको बुझाई परिवर्तनमा समेत कठिनाई छ । उहाँ भन्नुहुन्छ, ‘बजारमा जति पनि सस्ता प्याडहरु पाइन्छ । मानिसले स्वास्थ्य र वातावरणका कुरा त्यति छिटो वास्ता गरिहाल्ने रहेनछन् ।’ साथै मितेरी प्याडको प्रचारप्रसार पनि त्यति हुन सकेको छैन । अब प्याड बिक्रि वितरणलाई बढाउँनका लागि देशभर डिलर खोल्ने र प्रचारको काममा पनि तिव्रता दिने योजनामा संस्था रहेको छ । 

संयुक्त राष्ट्र संघको तथ्यांकअनुसार विश्वमा प्रत्येक दिन प्लास्टिकले भरिएको २००० ट्रक फोहोरहरु महासागर, नदी र तालहरुमा फालिन्छ । त्यस्तै प्रत्येक वर्ष १ करोड ९० लाख देखि २ करोड ३० लाख टन प्लास्टिक नदीनालामा मिसिंदा जलचक्र र वातावरणमा नराम्ररी असर पर्न थालेको छ । प्लास्टिकका कारण हरितगृह ग्यास उत्सर्जन बढी हुने भएकाले यसले पृथ्वीको तापमान १.५ डिग्रीभन्दा कम राख्ने विश्वव्यापी लक्ष्यलाई समेत चुनौती दिएको छ ।  नेपालमा पनि प्लास्टिकको समस्या बढेर गएको छ । पछिल्लो समयमा प्याडको प्रयोग बढ्दै जाँदा यसको वावारणीय पाटोलाई विचार नगरिएका कारण यसले पनि थप समस्या बढाएको छ ।   

सामान्यतया प्लास्टिक कुहिन २०० देखि एक हजार वर्ष लाग्छ । महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने स्यानिटरी प्याडमा ९० प्रतिशतसम्म प्लाष्टिक मिसाइएको पाइएको छ । प्लास्टिकको मात्रा बढी प्रयोग गरिएको प्याडले वातावरण त प्रदुषित पार्छ नै, महिलाहरुको स्वास्थ्यमा समेत नकारात्मक असर पु¥याउँछ । भण्डारीको भनाइमा यो सानो पहल भए पनि विश्वव्यापी रुपमा बढेको ठूलो समस्या समाधानका लागि महत्वपूर्ण स्थानीय पहल हो । उहाँको भनाइमा यो महिनावारी स्वास्थ्य, महिलाविरुद्धको विभेद र वातावरणप्रतिको एउटा क्रान्ति हो जसले महिनावारीका बेला हुने विभेद हटाउँने, वातावरणको बारेमा चेतना जगाउँने र महिला स्वास्थको बारेमा समेत जागरण ल्याउँदै सामाजिक उद्यमको रुपमा स्थानीय प्याड उत्पादनलाई विस्तार गर्ने कार्य जारी रहने छ ।

  

उहाँले भन्नुभयो, ‘पहाडी तथा शहरी भेगमा पनि हर घरमा छाउपडी प्रथा अभ्यासमा छ । पढेलेखेका भनिएका मानिसहरुले समेत शहरमा छाउपडीलाई बलियाृे गरि लुकाएका छन् भने विदेशमा पनि बोकेरै गएका छन् । यसले महिलाको गरिमा, स्वास्थ्यलाई छायाँमा पारेको छ भने हिंसा र विभेदलाई मलजल गरेको छ । हाम्रो यो अभियान प्याडबाट शुरु भए ता पनि यी सबै समस्याको समाधान गर्नेमा केन्द्रित छ र यो झन बलियो भएर अघि बढ्ने छ ।’ 

सम्बन्धित समाचार:

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन

कोभिडले कोरलेको सामागाउँको कान्ति