साना अनुदान कार्यक्रम प्रभावकारी
- Netizen Nepal
- आइतबार, २१ असोज, २०८०- ०५:५८:००/ Sunday 10-08-23
नेटिजन संवाददाता
पोखरा । युएनडिपीको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रमको सहयोगमा संचालित कार्यक्रमहरु किफायती, प्रभावकारी र समुदायस्तरमा नविनतालाई प्रबद्र्धन गर्न उल्लेख्य भूमिका खेलेको सरोकारवालाहरुले बताएका छन् । उक्त सहयोग अन्तर्गत हाल संचालन भएका र भरखर मात्र सम्पन्न भएका परियोजनाको समिक्षा तथा सिकाइ आदानप्रदान सम्बन्धीको पोखरामा सम्पन्न दुई दिने कार्यशालामा उक्त धारणा व्यक्त भएको हो । कार्यशालामा नेपालका हिमाली, पहाडी र तराई तीनै क्षेत्रमा संचालन भएका विभिन्न परियोजनाको अनुभव, सिकाइ र उपलब्धिहरु आदान प्रदान गरिएको थियो ।
उक्त कार्यशालामा वातावरण, जैविक विविधता, जलवायु परिवर्तन लगायतका विभिन्न विषयवस्तुका करिव तीन दर्जन परियोजनाको बारेमा गरिएको छलफलबाट आएका अनुभव, सिकाइ, नतिजा तथा प्रभावहरु रोचक र सिक्न लायक भएको सहभागिहरुको प्रतिक्रिया थियो ।कार्यक्रममा प्रस्तुत गरिएका सिर्जनात्मक तथा नविनतम काम तथा अभ्यासहरु एक ठाउँमा शुरु गरिए पनि यस्ता सिकाइहरु अन्य स्थानका लागि पनि उपयोगी हुने भएकाले यो कार्यशाला उपलब्धिमुलक भएको सहभागीहरुले बताएका थिए ।
संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको विश्व वातावरण कोषको साना अनुदान कार्यक्रममार्फत कार्यान्वयन भएका कार्यक्रमले सानो लगानीबाट पनि बहु क्षेत्रको साझेदारीसहित प्रभावकारी र दीगो नतिजा हासिल गर्न सकिन्छ भन्ने कुराको उदाहरण यो कार्यक्रमका प्रस्तुतिबाट देखाइएको थियो । प्रस्तुतीकै क्रममा उर्जा तथा वातावरण नेपालले तनहुँसुरमा साना अनुदान कार्यक्रमको ४० हजार डलर आर्थिक सहयोगमा शुरु गरेको थनहुँसुरको पर्यापर्यटन विकास कार्यक्रममा सरकारका विभिन्न निकायबाट १० करोड भन्दा बढि लगानी भएको तथ्य प्रस्तुत गरेको थियो । स्थानिय समुदाय, स्थानिय सरकार र सरोकारवालाहरुको स्वीकार्यतासहितको सहभागिता सुनिश्चित गर्न सकिएमा सानो लगानीले पनि सार्थक विकासको ढोका खोलन सक्छ भन्ने दृष्टान्तहरु उक्त प्रस्तुती मार्फत दिइएको थियो । अन्य सहभागिहरुले पनि विभिन्न क्षेत्रमा हासिल गरिएका सफलताहरु प्रस्तुत गरेका थिए ।
प्राङ्गारिक कृषिको अभ्यास, पहिरो तथा भूक्षय रोकथाममा स्थानीय प्रविधिको प्रयोग, प्लास्टिकजन्य फोहोरको व्यवस्थापन, स्वच्छ उर्जामार्फत समुदायले लिएको बहुपक्षीय लाभ र यी प्रयासहरुबाट वातावरणमा परेको नकारात्मक असरलाई घटाउन पुगेको योगादनका सफल अभ्यासहरु सम्बन्धीका प्रस्तुतीमा सहभागिहरुले चासो दिएका थिए भने यसमा गहन छलफल समेत भएको थियो । वातावरणको क्षेत्रमा भएका अध्ययन अनुसन्धानहरु, सोलार उर्जाको प्रयोग गरेर अभ्यासमा ल्याइएको सानो सिंचाई तथा खानेपानीलगायतका नविनतम तथा प्रभावकारी अभ्यासहरु प्रति धेरैले चासो व्यक्त गर्दै यस्ता सफल अभ्यासहरु अन्य स्थानमा पनि विस्तार गर्दै उच्च लाभ लिन सकिने बताइएको थियो ।
साना अनुदान कार्यक्रमको सफलता यसमा काम गर्ने व्यक्ति र समुदायको मेहेनत तथा सिर्जनशीलताले सम्भव भएको बताउँदै अर्थमन्त्रालयका सहसचिव ईश्वरी अर्यालले भन्नुभयो, ’यो कार्यक्रम थोरै लगानीबाट उच्चतम प्रतिफल प्राप्त गर्न सकिने तथा लगानीका हिसाबले किफायती विकासको मोडेल स्थापना गरेको कार्यक्रम हो । यसले दिगोपानालाई पनि बढाउने भएकाले अर्थमन्त्रालयले यसलाई सधै प्रोत्साहन गर्नेछ । ’
युएनडिपीका सहायक आवासिय प्रतिनिधि विजय सिंहले एसजीपी थोरै लगानीमा ठुलो परिणाम दिएको नेपालको सफल कार्यक्रममध्येको एक भएको बताउनुभयो । ’कार्यक्रमले नेपालमा सफलता प्राप्त गरि तीन दशकको अवधिमा एउटा नमुना नै स्थापना गरेको छ। अब त्यहि मोडेलमा क्षेत्र विस्तार गर्दै हरेक गतिविधिलाई जीविकोपार्जन र अर्थोपार्जनसंग पनि जोड्नुपर्छ । अब युएनडिपी त्यता लाग्छ’, उहाँले भनुभयो । वातावरण संरक्षणलाई जीविकोपार्जनसंगै जोडेर अघि बढ्न आवश्यक रहेको र यसका लागि लगानीलाई पनि अझ विस्तार गर्न आवश्यक रहेको भन्दै आगामी कार्यक्रमहरुले यो पाटोलाई पनि ध्यान दिने उहाँको भनाइ थियो ।
युएनडिपीको विश्व वातावरण कोष अन्तर्गतको साना अनुदान कार्यक्रम नोपलका राष्ट्रिय संयोजक विवेक शर्माले सम्पन्न भएका कार्यक्रमको प्रतिवेदन लेख्दा ख्याल गर्नुपर्ने कुराहरुको बारेमा संक्षिप्त प्रस्तुती राख्दै, साना अनुदान कार्यक्रमको प्रगति प्रतिवेदन लेख्दा समावेश गर्नुपर्ने आधारभूत कुराहरुको बारेमा जानकारी दिनुभयो । प्रतिवेदनको महत्व बारे संक्षिपत प्रस्तुती दिदै उहाँले भन्नुभयो, “यस कार्यक्रम मार्फत फिल्डमा विश्वकै ध्यान तान्ने काम भएका छन् । हामीले गरेका कामलाई लिखित प्रतिवेदनमा शसक्त ढंगले प्रस्तुत गर्न सकेमा नेपालको चर्चा अझ बढ्नेछ ।”
कार्यशालामा वातावरण, जैविक विविधता, नीति निर्माण लगायत विभिन्न क्षेत्रका विज्ञहरुले पनि साना अनुदान कार्यक्रमले पाएको सफलताको चर्चा गर्दै यी सफलताहरुको व्यवस्थित अभिलेख तथा व्यापक प्रचारप्रसार आवश्यक रहेको बताउनुभएको थियो । उहाँहरुले सानो लागनीबाट पनि उच्चतम नतिजा दिने सफलताहरु अन्य स्थानको विकासका लागि पनि उपयोगी हुने भएकाले यस्ता नतिजा तथा सफलताको प्रचारले सिकाइलाई अझ बलियो र व्यापक बनाउँने बताउनुभयो ।