जिबी राईसहित १९ जनाविरुद्ध सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दर्ता
- नेटिजन संवाददाता
- शनिबार, ६ पौष, २०८१- ०६:३५:००/ Saturday 12-21-24
पोखरा। सूर्यदर्शन सहकारी ठगी प्रकरणमा यसअघि अदालतबाट मुद्दा चलेका जिबी राईसहित १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । यसअघि सहकारी ठगीमा मात्र मुद्दा चलाइका राई लगायत १९ जनामाथि सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धिको कसुरमा पुरक अभियोगका रुपमा थपिएको हो ।
अदालतमा मुद्दा विचाराधीन रहेका राईसहित १९ जनाविरुद्ध थप अभियोग दर्ता गरिएको सरकारी वकिल कार्यालय कास्कीकी सूचना अधिकारी शान्तिदेवी शर्माले जानकारी दिनुभयो । ”मुद्दा विचाराधीन रहेका १९ जनाविरुद्ध पूरक अभियोग दर्ता भएको छ । शर्माले भन्नुभयो “।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक एवम पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध भने आइतबारमात्र कास्की जिल्ला अदालतमा अभियोगपत्र दर्ता गर्ने तयारी गरिएको छ ।
सूर्यदर्शन सहकारी ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबी राइसहित ३७ जना फरार छन् । प्रहरी सरकारी वकिकको कार्यलयलाई बुझाएको प्रतिवेदनमा उक्त सहकारी ठगी अभियोगमा एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गर्न राय दिइएको छ ।
सहकारीपीडितले पूरक जाहेरी दिएपछि कास्की प्रहरीले थप अनुसन्धान गरी मङ्सिर २६ गते १९ जनाविरुद्ध पूरक प्रतिवेदन सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । सूर्यदर्शन सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), पूर्वअध्यक्ष भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समिति
उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेललगायतमाथि प्रहरीले पहिलो चरणमा अनुसन्धान गरी मुद्दा दर्ता गरेको थियो ।
सहकारीका पूर्वसचिव अनुज नकर्मी र सुरज श्रेष्ठ, सञ्चालक सदस्यहरू शिवबहादुर गुरुङ, भविश्वर अर्याल, आइस्मा गुरुङ, लेखा समितिका संयोजक सागर केसी, सदस्य दिनेश रोका र ललिता तामाङ, लेखा अधिकृत सृष्टि मानन्धर, कर्जा अधिकृत बुद्धि गुरुङ, सदस्यहरू हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईविरुद्ध सहकारी ठगी मुद्दा अदालतमा विचाराधीन छ ।
यो ठगी प्रकरणका मुख्य मुख्य योजनाकार जिबीसहित ३७ जना फरार छन् । सूर्यदर्शनमा यसअघि एक अर्ब ११ करोड बिगो रहेकामा बढेर एक अर्ब ५१ करोड ४० लाख रुपियाँ बिगो कायम गरिएको छ । । प्रहरीले संसदीय समितिको निर्देशनबमोजिम अनुसन्धान गरी ५२ जनालाई प्रतिवादी बनाउन सिफारिस गरेको छ ।
६५ जनाविरुद्ध अनुसन्धान भएकोमा ठेगाना नखुलेका १४ जनालाई ठेगाना खुलेपछि प्रतिवादी बनाउन सिफारिस गरिएको अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो । सूर्यदर्शन ठगी प्रकरणमा अहिलेसम्म नौ जना पुर्पक्षका लागि कारागारमा छन् ।