• शनिबार, १५ बैशाख, २०८१
  • ०९:५५:५५

स्वदेशमै अडिने अठोटमा स्वामीकार्तिक खापरका पौरखी हातहरु  

वर्षमा ६ महिना स्वदेश बस्नु र ६ महिना रोजगारीका लागि भारत पुग्नु बाजुरास्थित स्वामीकार्तिक खापर गाउँपालिका–५ का कर बहादुर शाहीको बाध्यता हो । उमेरले ६ दशक टेकेका शाहीले जीवनको ३५ वर्ष भारतमा बिताए आफ्नो परिवारको गुजारा चलाउँनका लागि । तर आजभोलि उनी भारत जान छाडेर आफ्नै गाउँठाउँमा बसी बाख्रा पालन गरेर आयआर्जन गर्न थालेका छन् ।

सन् २०२० मा कोरोना संक्रमणका कारण स्वदेश फर्किएपछि उनी भारत गएका छैनन । कर बहादुरजस्तै कोरोनाको समयमा भारतबाट फर्किएका व्यक्तिहरुलाई शिप विकास तालिमका माध्यमबाट आयआर्जन र जीविकोपार्जनमा सहयोग गर्ने र वित्तिय सेवामा पहुँच पु¥याउने उदेश्यले बाजुरा जिल्लामा स्थापित स्थानिय संस्था मानव संशाधन केन्द्र,(एचआरसी) बाजुराले अमेरिकी अन्तराष्ट्रिय विकास नियोग (युएसएआइडी)को सहयोगमा सञ्चालन गरेको ‘युएसएआइडी लोकल वक्र्सः बाजुरा’ परियोजनाको छोटो अवधि अन्र्तगत कृषि, पशुका साथै शिप विकास र उद्यम विकास तथा वित्तिय साक्षरता सम्बन्धि तालिमपछि स्वामीकार्तिक खापर गाउँपालिकाका २३५ जना विदेशबाट फर्किएकाहरु अहिले आफ्नै गाउँमा जीविकोपार्जनका काममा लागेका छन् । त्यसमध्ये एक नमूना पात्र कर बहादुर पनि हुन् ।

 

कृषि पेशामा निर्भर गाउँका अधिकांशलाई आफ्नो खेतबारीको अन्नले ४ देखि ६ महिना मुस्किलले खान पुग्थ्यो । बाँकी ६–८ महिनाको गुजाराका लागि भारत जानै पथ्र्यो । कोरोनाले मजदुरीको काम पनि खोसेपछि अप्ठ्यारोमा परेका उनीहरुलाई आयआर्जन र रोजगारीको आधार सिर्जना गर्न सञ्चालन गरिएको परियोजनाबाट विपन्न समुदायका व्यक्तिहरुलाई कोरोना कहरबाट मुक्ति मात्र मिलेको छैन, स्वदेशमै बसेर अर्थोपार्जनको काममा लाग्न सघाउ पुर्याएको छ ।

परियोजनाले छोटो र लामो अवधिका दुई किसिमका तालिमहरु सञ्चालन गरेको थियो । छोटो अवधिको (५ देखि ७ दिने) तालिमअन्तर्गत माहुरी पालन, केरा तथा कागती खेती, ओखर खेती, स्याउ खेती, बाख्रा पालन, बेमौसमी तरकारी खेती, कुखुरा पालन तालिम सञ्चालन गरिएको थियो । ६२ जना महिला, ९८ जना पुरुषसहित १६० जना सहभागी रहेको तालिममा मौरीपालन २५ जनालाई, कागती र केरा खेती १७, स्याउ खेती ९,ओखर खेती ९, बाख्रा पालन ५०, बेमौसमी तरकारी खेती २५ र कुखुरा पालन सम्बन्धि तालिम २५ जनालाई दिइएको थियो

सहभाागिहरुमध्ये ६५ जना दलित र ९५ जना अन्य समुदायका व्यक्तीहरु थिए । यही तालिम अन्तर्गत बाख्रापालनसम्बन्धि ५ दिने तालिम लिएपछि कर बहादुर शाहीले ५ ओटा बाख्रा, दाना र घाँसका बिउहरु निःशुल्क प्राप्त गरेका थिए । त्यसपछि आफुलाई बाख्रापालनमा रुचि बढ्न थालेको उनी बताउँछन् । अहिले शाहीको खोरमा १९ ओटा बाख्रा छन् । आफ्नो बुढ्यौली उमेर आफ्नै देशमा खर्चिने मन भएको बताउँदै उनी भन्छन्, ‘मैले युवा अवस्थामै आयआर्जनका यो सम्भावना देखेको थिएँ भने भारत पुगेर घोटिने थिइनँ । अब ढिलै भए पनि बाख्रापालन व्यवसायमा लागेको छु ।’ यी बाख्रा बढाएर ५० ओटा बनाउने र आम्दानीलाई थप बढाउँने उनको योजना छ । शाहीलाई उनकी श्रीमती र ३ जना छोरा छोरीले समेत बाख्रा चराउने र दानापानी गर्ने काममा सघाउँछन् ।  

छोटो अवधिको तालिम अन्तर्गत मौरी पालन तालिम लिएकाहरुलाई २ ओटा मौरीसहितको घार र ३ ओटा मौरी बिनाको घारका साथै अन्य सामग्री उपलब्ध गराइएको थियो । कुखुरा पालन सम्बन्धी तालिम लिएकाहरुलाई १५० ओटा चल्ला, आवश्यक भाँडाकुँडा, तथा बल्ब सहयोग गरिएको थियो । बेमौसमी तरकारी खेती सम्बन्धी तालिम लिएकाहरुलाई प्लास्टिक टनेल, बिउबिजन, सिंचाईका लागि सामाग्रीहरु, पाइप, झोल मलका लागि ड्रम तथा आवश्यक कृषि सम्बन्धि उपकरणहरुको सहयोग गरिएको थिो । तालिममा सहभागि भइ यस किसिमको सहयोग समेत पाएका अधिकांश व्यीक्तहरुले अहिले कर बहादुरले जस्तै आफ्नो पेशा र क्षेत्रमा नयाँ प्रयासको थलानी गरेका छन् । 

फलफुल खेतीसम्बन्धी तालिम लिनेहरुका लागि १००० स्याउका बिरुवा, ३५० ओखर, १४०० केरा, ३०० कागतीका बिरुवा सहित खाडल खन्ने मेसिन, बंगैचाका लागि आवश्यक तारबार समेत निःशुल्क वितरण गरिएको थियो । 

कर बहादुरजस्तै कोरोनाका कारण भारतमा रोजगारी गुमाएर गाउँ फर्किएका स्वामीकार्तिक खापर गाउँपालिका –३ क वसन्त बहादुर शाहीको अहिले दैनिकी नै परवर्तन भएको छ । कोभिड महामारीका कारण अन्नको जोहो गर्नै मुस्किल पर्ने अवस्थामा पुगेका उनले परियोजनाले सञ्चालन गरेको ३ महिने सिकर्मी तालिममा सहभागी भएपछि यसैलाई आयआर्जनको माध्याम बनाउने निष्कर्षमा पुगे । गाउँमा फर्निचर सम्बन्धि काम गर्ने तर राम्ररी चल्न नसकेको एउटा उद्योगसंग सहकार्य गरेर व्यवसाय सुरु गरेका उनले अहिले महिनामै ६५ हजार सम्म कमाउँछन् । काम गर्ने क्षमता र योग्यता स्थानियसंगै हुन्छ । तर कसरी सुरु गर्ने या सञ्चालन गर्ने बारेमा उनीहरू अनविज्ञ भइरहेको अवस्थामा एउटा सानो तालिम सञ्चालन गर्दा पनि कति परिवर्तन आउने रहेछ भन्ने कुरा वसन्तको प्रगतिले बताउँछ । आफु बाँच्ने आधार नभेटेर बाध्यताले विदेशिनु परेको बताउँदै वसन्त भन्छन्, ‘अवसर पायो भने देशमै उता भन्दा बढी कमाउन सकिने रहेछ भन्ने कुरा महसुस हुँदैछ । अब यही फर्निचर व्यवसायबाट मेरो आर्थिक आवश्यकता टर्छ । म अहिले खुशी छु । ’  

लामो अवधिको तालिम आफुहरुका लागि निकै प्रभावकारी भएको लाभान्वितहरुले बताउँने गरेका छन् । जुत्ता सिलाउनेसम्बन्धि ३ महिने तालिम लिएका स्वामीकार्तिक खापर गाउँपालिका वडा नं ५ .का असारे कामीलाई बिहान बेलुकाको गुजारा के खाएर टार्ने भन्ने चिन्ताले सताउन छाडेको छ । तालिमपछि उनले सुरु गरेको जुत्ता सिलाउने कामबाट दिनमै ४–५ सय आम्दानी हुन थालेपछि उनी दङ्ग छन् । जुत्ता सिलाउने काममा खर्च र मेहेनत कम लाग्ने भएकाले पनि आफु यो कामप्रति सन्तुष्ट रहेको भन्दै यो आम्दानी आगामी दिनमा झन् बढ्छ भन्ने विश्वासमा उनी यो पेशालाई नै निरतरता दिने बताउँछन् ।   

लक्षित समुदायका व्यक्तिलाई जीवन उपयोगी शिप विकास मार्फत उद्यमको समेत विकास गर्नका लागि ३ महिने तालिम दिइएको थियो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्ले डिजाइन गरेको कोर्षमा आधारित यी तालिमहरु अन्तर्गत १५ जनालाई सिकर्मी तालिम, हाउस वायरिङ्ग २५ जनालाई, घर निर्माण कार्य २५ जना, मोवाइल मर्मत २० जना, जुत्ता बनाउने काम २० जना, सिलाईकटाइ सम्बन्धि तालिम २५ जना र १० जनालाई ड्राइभिङ्ग सम्बन्धि तालिम दिइएको थियो । तालिममा ३१ जना महिला, १०९ जना पुरुष सहभागी थिए । यसमध्ये १०२ जना दलित र ३८ जना अन्य व्यक्तिहरु गरी कूल १ सय ४० जना कोभिड प्रभावित आप्रवासी कामदारहरु र गरिब तथा अति विपन्न व्यक्तिहरु लाभान्वित भएका छन् ।

लामो र छोटो अवधिको तालिममा सहभागी भएका अधिकांश व्यक्तिहरुले  अर्थोपार्जनका केही न केही कामको शुरुवात गरेको परियोजना संयोजक रमेश सुनार बताउनुहुन्छ । उहाँका अनुसार  पहिलाको तुलनामा आयआर्जन समेत २५ प्रतिशतले बढेको छ । तालिम लिएका मध्ये ४९ प्रतिशत व्यक्तिहरु जीविकोपार्जनका काममा लागेका छन् भने १६ प्रतिशतले आफ्नै व्यवसाय गरी आाम्दानी गर्न थालेका छन् । दलित तथा विपन्न समुदालाई प्राथमिकतामा राखएिको यो परियोजनाले दलित समुदायका व्यक्तिको आयआर्जनमा विशेष योगदान गरेको पाइएको छ । छोटो अवधिको तालिममा सहभागीमध्ये करिब ४१ प्रतिशत र लामो अवधिको तालिममा ७३ प्रतिशत व्यक्तिहरु दलित समुदायका छन् । उनिहरुले अहिले आफ्नो पुरानो पेशालाई बजारमुखी बनाएर आम्दानीको राम्रो माध्यम बनाउँन लागि परेका छन् ।  

वित्तिय पहुँचले उद्यमको अवसर विस्तर 

आयआर्जन र शिप विकासको तालिममा संलग्न सबै सदस्यहरु तथा उनको परिवारको सदस्यलाई २६ दिनको वित्तिय साक्षरता सम्बन्धीको तालिम दिइएको थियो । उनिहरुको आर्थिक तथा वित्तिय आवश्यकतालाई सम्बोधन गर्नका लागि स्थानीय ४ वटा सहकारीलाई पनि विभिन्न सहयोग तथा क्षमता विकासका कार्यक्रमबाट तालिमका सहभागीसंग जोडिएको थियो । जसले गर्दा ९५ प्रतिशत तालिमका लाभान्वितहरुले सहकारीमा आबद्ध भई आर्थिक क्रियाकलापहरु बढाएर आफ्नो वित्तिय पहुँचमा समेत बृद्धि गरेका छन् । साथै आर्थिक कारोबार, बचत तथा लगानीसम्बन्धि विषयमा दिइएको तालिमले ३०० जनाको आर्थिक क्रियाकलाप सम्बन्धि बुझाई बढेको छ भने बचत गर्ने बानीको समेत विकास भएको पाइएको छ ।  

सहकारी संस्थालाई सहकारी व्यवस्थापन, वित्तीय÷लेखा व्यवस्थापन, वित्तीय सुशासन, व्यवसाय योजना तयारी, क्षमता विकास योजना तयार गर्ने, रणनीतिक योजना तयार गर्ने लगायतका विषयमा दिइएको तालिमले उनिहरुको पनि क्षमता विकास गर्न सहयोग पुगेको सहकारी सञ्चालकहरुको भनाइ छ ।तालिम दिइएका ४ ओटै सहकारीको भौतिक व्यवस्थापनका लागि फर्निचर, आवश्यक उपकरण, लेखा सफ्टवेयर र अन्य आवश्यक सामग्रीसमेत सहयोग गरिएको थियो ।  

सहकारीहरुलाई व्यवसाय सुरुवात गर्नका लागि च्यालेन्ज फन्डका रुपमा १६ लाख नगदसमेत सहयोग गरिएको छ । अहिले चारवटै सहकारीमा च्यालेन्ज फण्डको व्यवस्था छ । सहकारीहरुमार्फत गरिएका यस्ता कार्यले गर्दा शुरु गरिएका कामको दीगोपनालाई बलियो बनाएको छ ।

नेपालमै अवसर  

स्वामीकार्तिक खापर गाउँपालिका बाजुरा जिल्लाको गरिब, विपन्न तथा दुर्गमा क्षेत्रमा पर्दछ । यातायात तथा सेवा सुविधाको अभावका कारण यहाँ हरेक कार्यको थालनी गर्न निकै कठिन छ । त्यसैले आर्थीक अवस्थाका कारण मानिसहरु व्यवसायमा लगानी गरेर जोखिम मोल्ने आँट बिरलै गर्न सक्छन् । यस्तो अवस्थामा परम्परागत पेशालाई पनि आम्दानीको स्रोत बनाउँन सकिन्छ भन्ने सम्भावनाको ढोका परियोजनाले खोलिदिएपछि आफुले वषौंदेखि जान्दै आएको शिपबाट आयआर्जन गर्न उनीहरु हौसिएका छन् । स्थानीयको विश्वास जित्ने कार्यक्रम गर्न सकिएमा विदेश गएर कमाउने पैसा यहीं कमाउँन सकिन्छ भन्ने विश्वास अधिकांश तालिमका सहभागीहरुमा छ । 

तालिमपछि गाउँबाट मौसमी रुपमा बसाइँ सर्ने तथा रोजगारीका लागि भारत जाने दरमा कमि आएको छ भने उनीहरुको आर्थिक पहुँचमा समेत सुधार भएको छ । उनिहरुमध्ये अधिकांश अब भारत नजाने बरु नेपालमै बसेर आयआर्जनका विकल्प खोज्ने बताउँछन् । 

गाउँठाउँमै नयाँ आयआर्जनका कार्यक्रम सुरु भएपछि उद्यम विकासका लागि सहकारीसंगको सम्बन्ध र हातेमालो गर्ने अभ्यास समेत बढेको छ । यद्यपि यो सुखद सुरुवातलाई निरन्तर्ता दिनका लागि स्थानिय सरकारको सहयोगको विशेष महत्व हुन्छ । उनीहरुलाई थप प्राविधिक सहयोग, परामर्श, सहुलियत दरको ऋण तथा आवश्यक सहयोग गरेर प्रेरणा दिंदै अबको पुस्ता कालापथ्थरमा घन उचाल्न जानु नपर्ने गरी नयाँ अभ्यासको सुरुवात गर्नु आजको आवश्यकता हो ।