• आइतबार, २३ भदौ, २०८१
  • ०५:३३:२८

कमला ह्यारिस, डेमोक्र्याटिक पार्टी र ट्रम्पका लागि बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिनुको अर्थ

काठमाडौं ।अमेरिकामा राष्ट्रपति चुनाव एकदमै नजिक आएका बेलामा जो बाइडन राष्ट्रपतिको दौडबाट बाहिरिएका छन्।

डेमोक्र्याटिक दलका उम्मेदवारका रूपमा कायम रहने लामो जिद्दीबीच उनी पार्टीभित्र र बाहिरको दबावसामु झुक्न बाध्य भए र बाटो खाली गरिदिए।उपराष्ट्रपति कमला ह्यारिस, डेमोक्र्याटिक पार्टी र उनका प्रतिस्पर्धी रिपब्लिकन डोनल्ड ट्रम्पका लागि बाइडनले मैदान खाली गर्नुका विभिन्न अर्थ छन्। 

पद सम्हाल्ने बित्तिकै उनलाई अमेरिका-मेक्सिको सीमामा देखिएको आप्रवासन सङ्कटको मुख्य कारणलाई सम्बोधन गर्ने जिम्मा दिइएको थियो। त्यो कठिन चुनौती थियो र उनले चालेका कतिपय गलत कदमहरू र गलत बयानबाजीले उनी आलोचनाको सिकार पनि भइन्।

 

ह्यारिस: डेमोक्र्याटहरूले लिन चाहेको जोखिम

जो बाइडनको समर्थनका कारण कमला ह्यारिस डेमोक्र्याटिक उम्मेदवार हुने सम्भावना व्यापक रूपमा बढेको छ। बाइडनले चार वर्षअघि ह्यारिसलाई उपराष्ट्रपति बनाउने आफ्नो निर्णयलाई आफूले गरेको सबैभन्दा उपयुक्त भन्दै कमलालाई पूर्ण रूपमा समर्थन गरेका छन्।

ह्यारिसले पनि बाइडनको समर्थन पाउँदा आफू सम्मानित भएको र पार्टीको उम्मेदवार बन्नका लागि सक्दो प्रयास गर्ने बताइन्। अधिकांश डेमोक्र्याटहरूले राष्ट्रपतिको नेतृत्वलाई पछ्याउँदै उपराष्ट्रपतिका पछाडि लाग्नेछन्।

एक महिनाभन्दा पनि कम समयमा हुने 'डेमोक्र्याटिक कन्भेन्सन'का क्रममा जारी अनिश्चितता नरहोस् भन्नका लागि पनि उनीहरूले त्यसो गर्न सक्ने देखिन्छ।

त्यसो गर्नुका पछाडि व्यावहारिक र राजनीतिक कारणहरू छन्। उनी संवैधानिक उत्तराधिकारीको पङ्क्तिमा रहेकी व्यक्ति हुन्। पहिलो अश्वेत महिला उम्मेदवारका रूपमा उनलाई हेरिनेछ तर त्यो पार्टीका लागि भयानक जोखिम पनि हुनेछ।

उनले हालसम्म चुनावी अभियानका लागि उठेको करिब १० करोड अमेरिकी डलर रकममा पनि सहजै पहुँच पाउने छिन्। तर त्यसका जोखिमहरू पनि छन्। जनमत सर्वेक्षणहरूले ह्यारिसलाई स्वीकार्ने दर बाइडनकै जस्तो एकदमै कम रहेको देखाएका छन्।

डोनल्ड ट्रम्पसँगको तीव्र प्रतिस्पर्धामा ह्यारिसको टक्कर पनि बाइडनको जस्तै कमजोर देखिएको छ। दोस्रो कुरा भनेको ह्यारिसले उपराष्ट्रपतिका रूपमा केही समय एकदमै अफ्ट्यारो परिस्थितिको सामना गरेकी छन्।

पद सम्हाल्ने बित्तिकै उनलाई अमेरिका-मेक्सिको सीमामा देखिएको आप्रवासन सङ्कटको मुख्य कारणलाई सम्बोधन गर्ने जिम्मा दिइएको थियो। त्यो कठिन चुनौती थियो र उनले चालेका कतिपय गलत कदमहरू र गलत बयानबाजीले उनी आलोचनाको सिकार पनि भइन्।

उनी गर्भपतन अधिकारसम्बन्धी बाइडन प्रशासनकी मुख्य व्यक्ति पनि थिइन्। उक्त मामिलामा भने उनले प्रभावकारी रूपमा काम गरिन्। तर उनका सुरुवाती छाप अहिले पनि जनमानसमा ताजै छन्।

सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने उनी पहिले पनि राष्ट्रपतिको दौडमा रहिसकेकी व्यक्ति हुन्। उनले सन् २०२० मा पनि राष्ट्रपतिको उम्मेदवार बन्ने कोसिस गरेकी थिइन् तर उनले नराम्ररी ठक्कर खाएकी थिइन्। उनी सुरुवाती प्राइमरीहरूबाटै उम्मेदवारको दौडबाट बाहिरिनु परेको थियो।

ह्यारिसलाई उम्मेदवार बनाउनु भनेको डेमोक्र्याटहरूका लागि जोखिम हो तर यो बिन्दुमा उनीहरूका लागि एउटा सुरक्षित विकल्प पनि हो। त्यसले डोनल्ड ट्रम्पको सम्भावित विजयमा पनि उनीहरूले पाउन सक्ने मतलाई उच्च बनाउन सक्छ।  

यदि ह्यारिसले पार्टीलाई एकताबद्ध गर्न सकिनन् भने उक्त कन्भेन्सन पार्टीमा सबैका लागि स्वतन्त्र अवसर बनिदिनेछ। अनि, कैयौँ मानिसहरूले क्यामरा अगाडि गएर वा बन्द कोठामा आफू राष्ट्रपतिको उम्मेदवार बनेको घोषणा गर्न सक्ने छन्।

 

रोचक बन्न सक्ने 'डेमोक्र्याटिक कन्भेन्सन'

विगत आधा शताब्दीमा राजनीतिक कन्भेन्सनहरू पट्यारलाग्दो भएका छन्। यस्ता कार्यक्रमहरूमा सावधानीपूर्वक लेखिएका 'टेलिभिजन स्क्रिप्ट'हरू पढिन्छन् र ती राष्ट्रपति उम्मेदवारका लागि कैयौँ दिनसम्मका लागि प्रसारण गरिने विज्ञापनजस्ता बनेका छन्।

डोनल्ड ट्रम्पको अति लामो आफूले उम्मेदवार बन्न स्वीकार गरेको मन्तव्यसहित गत साताको रिपब्लिकनको कन्भेन्सन पनि त्यस्तै खालको थियो। आगामी महिना सिकागोमा हुने डेमोक्र्याटहरूको कन्भेन्सन चाँहि निकै नै फरक हुन गइरहेको छ।

बाइडनको अभियान र पार्टीले जुन पटकथामा काम गरिरहेको थियो, त्यो अब झ्यालबाट बाहिर हुत्याइएको छ। पार्टी ह्यारिसको पक्षमा खडा भए पनि कन्भेन्सन हलमा कसरी कुराहरू निस्कन्छन् भन्ने आधारमा त्यसलाई योजनाबद्ध अघि बढाउन र नियन्त्रण गर्न निकै कठिन हुन सक्छ।

यदि ह्यारिसले पार्टीलाई एकताबद्ध गर्न सकिनन् भने उक्त कन्भेन्सन पार्टीमा सबैका लागि स्वतन्त्र अवसर बनिदिनेछ। अनि, कैयौँ मानिसहरूले क्यामरा अगाडि गएर वा बन्द कोठामा आफू राष्ट्रपतिको उम्मेदवार बनेको घोषणा गर्न सक्ने छन्।

त्यो अमेरिकी जनताका लागि पहिले कहिल्यै नदेखेको एउटा प्रत्यक्ष तथा आकलन गर्न नसकिने खालको राजनीतिक रङ्गमञ्च बन्न पनि सक्छ।

रिपब्लिकनका लागि प्रभावशालीविरुद्ध कमजोर उम्मेदवार

यो वर्षको रिपब्लिकन कन्भेन्सन सावधानीपूर्वक तौलिएर आफ्ना सबैभन्दा लोकप्रिय अजेन्डाहरूलाई प्रवर्धन गर्ने र राष्ट्रपति जो बाइडनको आलोचना गर्ने मञ्च बनेको थियो। तर अहिले आएर रिपब्लिकनहरूले गलत व्यक्तिलाई निसानामा पारिरहेका थिए भन्ने अवस्था बन्यो।

बाइडनले आफूलाई राष्ट्रपतिको दौडबाट बाहिरिएको बताएपछि ट्रम्पको नेतृत्वमा रिपब्लिकनहरूले अघि सारेको प्रतिस्पर्धात्मक योजना पनि अब परिवर्तन गर्नु पर्ने अवस्था आयो। 

 महिनौँदेखि उनीहरूले ह्यारिसलाई "बोर्डर जार" भन्दै आएका छन्। सीमामा आप्रवासीको आगमन रोक्न उनी असफल भएको भाष्य बनाउन रिपब्लिकनहरूले यस्तो आरोप लगाउँदै आएका हुन्।

 

रिपब्लिकनहरूले सावधानीपूर्वक उनीहरूका डेमोक्र्याटिक प्रतिस्पर्धीका कमजोरीलाई उजागर गर्नमा केन्द्रित हुँदै हप्तौँ लगाएर कार्यक्रमका लागि'पटकथा' लेखेका थिए। उनीहरूले चुनावी अभियानमा आफ्ना उम्मेदवारको शक्ति र क्षमताको प्रदर्शन गर्ने कोसिस गरेका थिए।

उनीहरूले बाइडनको उमेरलाई देखाएर विशेषगरी युवा मतदातालाई आफूतर्फ आकर्षित गर्ने कोसिसका क्रममा अनेकौँ क्रियाकलापहरू गरेका थिए। तर अवस्था कस्तो बन्यो भने डेमोक्र्याटिक उम्मेदवार अब राष्ट्रपतिभन्दा धेरै कम उमेरकी हुने भइन्।

बलियो उम्मेदवारविरुद्ध कमजोर उम्मेदवारको भाष्ययुक्त रणनीतिले अब कमला ह्यारिस वा कुनै बाइडन भन्दा धेरै कान्छा डेमोक्र्याटिक गभर्नरमध्येबाट हुने उम्मेदवारका लागि उस्तैगरी काम गर्ने छैन।

यदि ह्यारिस उम्मेदवार बनिन् भने रिपब्लिकनहरूले वर्तमान प्रशासनका कमजोरीहरूसँग जोड्ने कोसिस गर्नेछन्।

महिनौँदेखि उनीहरूले ह्यारिसलाई "बोर्डर जार" भन्दै आएका छन्। सीमामा आप्रवासीको आगमन रोक्न उनी असफल भएको भाष्य बनाउन रिपब्लिकनहरूले यस्तो आरोप लगाउँदै आएका हुन्। बीबीसी।