• शुक्रबार, १८ असोज, २०८१
  • ०६:०६:१३

दशैंको दोस्रो दिन : ब्रह्मचारिणीको पूजा गरिदै, को हुन् ब्रह्मचारिणी ?

काठमाडौँ । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ ।  नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ ।

संसारका मुमुक्षु प्राणीलाई सच्चिदानन्द रुप ब्रह्मको बोध गराउनका लागि निरन्तर लागिरहने मान्यतामा नवदुर्गामध्येको दोस्रो देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीको हातमा कमल, अक्षमाला र कमण्डलु बनाइनुपर्छ भन्ने विधान छ ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । नवरात्रका अवसरमा शक्तिपीठ गई देवीको पूजाआराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने, शक्ति प्राप्त हुने, सुख शान्ति मिल्ने धार्मिक विश्वास छ ।

बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।

देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।

दधाना करपद्यमाध्याम् अक्षमालाकमण्डलू ।
देवी प्रसीदतु मयि ब्रह्मचारिण्यनुत्तमा ।।

सेतो कपडा लागाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ ।

नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ ।

यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गादेवीको विशेष आराधना गर्छन् । नवरात्रभर पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैठौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ ।

नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ ।