रवि लामिछानेसहित ३१ जनाविरुद्ध ३ वटा कसुरमा मुद्धा दर्ता
- नेटिजन संवाददाता
- आइतबार, ७ पौष, २०८१- १४:४०:००/ Sunday 12-22-24
काठमाडौं । गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत विरुद्ध आइतबार मात्र कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । सहकारीको बचत रकम अपचलनको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने विरुद्ध कास्की जिल्ला अदालतमा आइतवार अभियोगपत्र पेस भएको हो ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उहाँविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो ।
प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नु पर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो । लामिछानेका हकमा सहकारी ठगीमा ४ देखि ६ वर्षसम्म कैद, संगठित अपराधमा थप ५० प्रतिशत सजाय र सम्पत्ति शुद्धीकरणमा २ देखि १५ वर्ष कैद र बिगोको दोब्बर जरिवाना लगाउनुपर्ने राय प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।
पोखराको सूयदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम अपचलन गरेको आरोपमा लामिछाने गत कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएको थियो । उहाँमाथि कास्कीसहित अन्य जिल्लासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ ।
संसदीय समितिको प्रतिवेदनले सूर्यदर्शन सहकारीबाट ५ करोड ५८ लाख गोर्खा मिडियामा गएको उल्लेख गरेको थियो । देशभरका सहकारीबाट ६५ करोड गोर्खा मिडिया नेटवर्कमा लगी दुरुपयोग हुँदा लामिछाने त्यसको प्रबन्ध निर्देशक हुनुहुन्थ्यो । लामिछानेको नाममा समेत सूर्यदर्शन सहकारीबाट एक करोड रकम जम्मा भएको देखिएको छ । प्रहरीले लामिछानेलाई रुपन्देही, चितवन, पर्सा र काठमाडौँसमेत लगी बयान लिइसकेको छ ।