• सोमबार, ८ पौष, २०८१
  • ०२:२४:०२

रवि लामिछानेको सांसद पद निलम्बन हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेको सांसद पद निलम्बित हुने भएको छ । सम्पत्ति शुद्धीकरण  निवारण ऐनअन्तर्गत पनि आइतवार उहाँविरुद्ध अदालतमा  मुद्धा दायर  लामिछानेको सांसद पद स्वतः निलम्बन हुने भएको हो ।  सम्पत्ति शुद्धीकरण  निवारण ऐनको  दफा २७ मा  मुद्दाको अन्तिम किनारा नलागेसम्म कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने कानूनी व्यवस्था छ । सोहि व्यवस्था अनुसार उहाँको सांसद पद मुद्धको किानारा नलागेसम्म निलम्बनमा पर्ने बताइएको छ । 


उक्त दफामा प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिने  उल्लेख छ । लामिछानेसँग सहकारी ठगीअन्तर्गत सामूहिक बिगो १ करोड ६२ लाख ६५ हजार, व्यक्तिगत बिगो १ करोड ७५ लाखसहित सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार रुपैयाँ बिगो मागसहित अभियोगपत्र दर्ता भएको हो । यो अभियोग विद्यमान कानूनी व्यवस्थासंग जोडिएकाले उहाँको पद निलम्बनमा पर्ने भएको हो । 

गोर्खा मिडिया नेटवर्कका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत विरुद्ध आइतबार मात्र कास्की जिल्ला अदालतमा मुद्दा दर्ता  भएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले  लामिछानेसहित ३१ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दर्ता गरेको  हो । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उहाँविरुद्ध ३ वटा कसुरमा मुद्दा दर्ता भएको छ । लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई, रामबहादुर खनाल र कृष्णबहादुर गुरूङ विरूद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको हो । प्रहरीले लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब रूपैयाँ बिगो असुल्नु पर्ने र सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउनुपर्ने राय दिएको थियो ।