• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०४:१९:५३

रारामा देखिए कालो चितुवा र लोखर्के

काठमाडौं  I मुगु जिल्लाको रारा राष्ट्रिय निकुञ्जमा पहिलो पटक दुर्लभ कालो चितुवा (मेलानेस्टिक लिओपार्ड) र लोखर्के देखिएका छन् । 


त्रिभुवन विश्वविद्यालयका शोधकर्ता विद्यार्थीहरूले क्यामेरा ट्र्याप प्रविधिको प्रयोग गरेर यी दुर्लभ जनावरको भिडियो रेकर्ड गर्न सफल भएका हुन् ।

रारा राष्ट्रिय निकुञ्जका निमित्त वरिष्ठ संरक्षण अधिकृत महेश न्यौपानेका अनुसार, क्यामेरा ट्र्यापमा हिमाली भालु, स्याल, कस्तुरी, बँदेल, लगायतका अन्य जनावर पनि देखिए। तर कालो चितुवा र लोखर्केको उपस्थिति पहिलो पटक पुष्टि भएको छ।

निकुञ्जभित्र स्तनधारी जनावरहरूको गतिविधि र विवरण संकलनका लागि ४० स्थानमा २१ दिनसम्म क्यामेरा जडान गरिएको थियो। यो अनुसन्धान त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्र केन्द्रीय विभागका विद्यार्थीहरू तिलक थापा मगर, विमलराज श्रेष्ठ, वाचन प्रसाईँ र अनुसन्धान टोलीले गरेको हो । सह-प्राध्यापक हरिप्रसाद शर्माको सुपरिवेक्षणमा गरिएको यो अध्ययनले निकुञ्जको जैविक विविधता थप खुलाउन सहयोग पुर्‍याएको छ ।

रारा राष्ट्रिय निकुञ्ज जैविक विविधताले भरिपूर्ण छ। यहाँ ५४ प्रजातिका स्तनधारी जनावर, २९६ प्रजातिका चराचुरुङ्गी, ७ प्रजातिका माछा (जसमध्ये ३ प्रजातिका असला माछा विश्वभरि केवल रारा तालमै पाइन्छन्, १ प्रजातिका उभयचर, १ प्रजातिका घर्षणशील वन्यजन्तु र १०२४ प्रजातिका वनस्पति पाइन्छन् ।

वरिष्ठ संरक्षण अधिकृत न्यौपानेका अनुसार, यो अनुसन्धानले संरक्षण प्रयासहरू थप बलियो बनाउनेछ । उहाँले निकुञ्जको जैविक विविधता अध्ययनका लागि वैज्ञानिक उपकरण र प्रविधिको उपयोगमा जोड दिनु आवश्यक रहेको बताउनुभयो ।

नेपालकै ठूलो र गहिरो रारा ताल समेटिएको यो निकुञ्जमा जैविक विविधताको अध्ययन र संरक्षणले निकुञ्जको महत्त्वलाई थप उजागर गर्नेछ । यस प्रकारका अध्ययनले भविष्यमा राष्ट्रिय निकुञ्ज व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।रासस।