• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०४:१४:४८

जनकपुरको सामु १०१ रनको लक्ष्य प्रस्तुत गर्दै काठमाडौं अलआउट

काठमाडौं: नेपाल प्रिमियर लिगमा काठमाडौं गुर्खाजले जनकपुर बोल्ट्सलाई १०२ रनको लक्ष्य दिएको छ। टियु क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा १०१ रनको स्कोर बनाउँदै अलआउट भयो।


काठमाडौंको लागि गेरहार्ड इरास्मसले सबैभन्दा बढी २० रन बनाए। उनले २२ बलमा २ चौका प्रहार गरे। पावरप्लेपछि २ विकेट गुमाउँदै ३५ रनमा सिमित भएको काठमाडौंले पहिलो विकेट ओपनर माइकल लेभिटको रूपमा गुमायो। २.३ ओभरमा उनले किशोर महतोको बलमा मोहम्मद मोसिनको हातमा क्याच दिएका थिए। उनले ६ बलमा १ छक्का प्रहार गर्दै ८ रन बनाए।

दोस्रो विकेट भिम सार्कीको गुमाइयो, उनले ११ बलमा १ चौकासहित ४ रन बनाउँदै मोहम्मद मोसिनको बलमा अनिल शाहको हातमा क्याच दिए। १० ओभर पुरा गर्नुअघि काठमाडौंले ४ विकेट गुमाउँदै ५४ रन बनाएको थियो। त्यसपछि मध्यक्रममा काठमाडौंको बैटिङ धेरै कमजोर देखियो।

अन्य कुनै खेलाडीले दोहोरो अंकमा रन जोड्न नसक्दा कप्तान करण केसीले १३ बलमा २ चौका र १ छक्का प्रहार गर्दै १९ रन बनाए। उनलाई शेर मल्लको बलमा विकेटकिपर लाहिरु मिलान्थाले स्टम्पिङ गरे।

जनकपुरका लागि ललित राजवंशीले ३ विकेट लिए र प्रतियोगितामा सबैभन्दा बढी विकेट लिने खेलाडीको सूचीमा शीर्ष स्थानमा पुगे। शेर मल्लले पनि ३ विकेट लिएका थिए, जबकि मोहम्मद मोसिनले २ विकेट र किशोर महतो तथा अरनिको यादवले १/१ विकेट लिएका थिए। यदि जनकपुरले यो खेल जित्यो भने, उनीहरू प्लेअफमा पुग्नेछन्।

काठमाडौंले ४ खेलमा २ हार र २ जित हासिल गरेको छ, यो काठमाडौंको पाँचौं खेल हो। जनकपुरले ६ खेल खेलिसकेको छ, जसमा ४ जित र १ हारसहित ५ खेल सम्पन्न गरिसकेको छ।