सुपर ओभरमा विराटनगर पराजित, पोखराको प्लेअफ आशा जीवित
- नेटिजन संवाददाता
- बिहीबार, २७ मङ्सिर, २०८१- १२:४३:००/ Thursday 12-12-24
सुपर ओभरको क्रममा पोखराका लागि एन्ड्रिस गोउस र रेमोन रेफरले ब्याटिङ गरे। पहिलो दुई बलमै रेमोनले दुई छक्का प्रहार गरे। तेस्रो बलमा उनले रन लिन सकेनन् भने चौथो बलमा चौका हान्दै पाँचौं बलमा १ रन बनाए। अन्तिम बलमा पनि १ रन लिएर पोखराले सुपर ओभरमा १८ रन जोड्यो।
विराटनगरका लागि सुपर ओभरको बलिङ कप्तान सन्दीप लामिछानेले गरे। पोखराले १९ रनको लक्ष्य दिएपछि विराटनगरका मार्टिन गप्टिल र निकोलस क्रिटोनले ओभरको सुरुवात गरे। बलिङ गर्न पोखराका रेमोन रेफर आए।
पहिलो बलमा गप्टिलले १ रन लिए भने दोस्रो बलमा क्रिटोनले पनि १ रन मात्र लिन सके। तेस्रो बलमा गप्टिलले १ रन लिए। चौथो बल डट हुँदा विराटनगरको दवाव बढ्यो। पाँचौं बलमा क्रिटोनले १ रन लिए। अन्तिम बलमा रेफरले वाइड बल फाले, तर अन्तिम बलमा कुनै रन आउन सकेन। सुपर ओभरमा विराटनगर १३ रनमै सीमित हुँदै ६ रनले पराजित भयो।
यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले दिएको १४० रनको लक्ष्य पछ्याउँदै पोखराले २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएपछि खेल बराबरीमा पुगेको थियो। त्यसपछि खेल सुपर ओभरमा पुगेको हो।
पोखराका लागि निर्धारित खेलमा एन्ड्रिस गोउसले सर्वाधिक ३९ रन बनाए। उनले २७ बलमा ७ चौकासहित उत्कृष्ट इनिङ खेले। पोखराले पावरप्लेमा १ विकेट गुमाउँदै ५९ रन बनाएको थियो।
ओपनर दिनेश खरेल र एन्ड्रिस गोउसले ४७ रनको बलियो सुरुवाती साझेदारी गरे। दिनेश खरेल ४.३ ओभरमा प्रतिश जिसीको बलमा अनिल खरेलबाट क्याच आउट भए। उनले ११ बलमा १ छक्कासहित ११ रन जोडे।
पोखराले १० ओभरमा १ विकेट गुमाएर ७८ रन बनाएको थियो। दोस्रो विकेटका रूपमा १०.३ ओभरमा एन्ड्रिस गोउस आउट भए। जेन मलिक तेस्रो विकेटका रूपमा आउट भए भने चौथो विकेटका रूपमा कुशल भुर्तेलले ३१ रन बनाएर पेभेलियन फर्किए। कुशल १४.२ ओभरमा आउट भए भने अर्को बलमै तिर्थ राज दास पनि आउट भए।
विराटनगरका लागि प्रतिश जिसीले ४ विकेट लिए भने क्रिस सोलले २ विकेट लिए।
पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १३९ रन बनाएको थियो। विराटनगरका लागि सर्वाधिक स्कोर स्कट इड्वार्डले गरे। उनले ३५ बलमा ५ चौकासहित ४५ रन बनाए।
विराटनगरले पावरप्लेमा २ विकेट गुमाउँदै ३४ रन बनाएको थियो। विराटनगरको पहिलो विकेटका रूपमा ओपनर मार्टिन गप्टिल ५ रनमा आउट भए। उनलाई पोखराका स्पिनर सागर ढकालले ४.३ ओभरमा आउट गरे।
अर्का ओपनर लोकेश बम पावरप्लेको अन्तिम बलमा रेमोन रेफरको बलमा कट एण्ड बोल्ड आउट भए। उनले १६ बलमा २ चौका र २ छक्कासहित २६ रन बनाए।
७.१ ओभरमा नरेन भट्ट ४ रनमा दिनेश खरेलको बलमा सागर ढकालबाट क्याच भए। विराटनगरले १० ओभरमा ३ विकेट गुमाएर ६१ रन बनाएको थियो।
चौथो विकेटका रूपमा निकोलस क्रिटोन आउट भए। उनले १६ बलमा १ छक्का प्रहार गर्दै १९ रन बनाए। क्रिटोनले स्कट इड्वार्डसँग ४३ रनको साझेदारी गरे।
क्रिस सोल ७ रनमा आउट भए भने दिपक बोहोरा ४ रनमा पेभेलियन फर्किए। वसिर अहमदले २० बलमा १ चौकासहित २१ रन बनाएर नटआउट रहे भने प्रतिश जिसीले १ बलमा १ चौका हान्दै ४ रन बनाएर अविजित रहे।
पोखरा एभेन्जर्सका लागि सागर ढकाल र रेमोन रेफरले समान २/२ विकेट लिए। दिनेश खरेलले १ विकेट हात पारे।