वीरगञ्जबाट डिजेल आयात घट्यो
- नेटिजन संवाददाता
- बिहीबार, २७ मङ्सिर, २०८१- १२:०८:००/ Thursday 12-12-24
काठमाडौं। वीरगञ्जबाट डिजेल आयात घटेको छ । चालु आर्थिक वर्षको प्रथम ४ महिनामा डिजेलको आयात ९.४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।
डिजेल आयात घटेसँगै राजस्व पनि १५.१६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को ४ महिनामा रु. २१ अर्ब ८४ करोड ८ लाख ७६ हजारको २ लाख ४६ हजार ७ सय १९ किलोलिटर डिजेल आयात भएको थियो । गत आवको सोही अवधिमा भने रु. ३० अर्ब १७ करोड ७६ लाख ४८ हजारको डिजेल आयात भएको थियो ।
प्रमुख भन्सार प्रशासक दीपक लामिछानेले पेट्रोलियम पदार्थ, सवारीसाधन र कच्चापदार्थको आयात घट्दा राजस्व सङ्कलनमा असर परेको बताउनुभयो ।मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट नै पैठारी हुँदै आएको छ ।
नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले चालु आवको कात्तिक महिनासम्म निर्माण क्षेत्र ठप्प रहेकाले डिजेल आयात घटेको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले निर्माण क्षेत्रलाई चलायमान गराउन जरुरी छ । त्यसो नगरे पुँजीगत खर्च बढ्दैन।”
त्यसैगरी, चालु आवको ४ महिनामा रु. १२ अर्ब ४२ करोड ६१ लाख ३७ हजारको १ लाख ४२ हजार ८ सय ६५ किलोलिटर पेट्रोल आयात भएको छ । गत आवको सोही अवधिमा रु. १३ अर्ब १८ करोड ४९ लाख ९० हजारको १ लाख २९ हजार १ सय २६ किलोलिटर पेट्रोल आयात भएको थियो । रासस ।