• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०२:२७:५०

पहिलो पराजयपछि जनकपुरका कप्तान शाहको टिप्पणी: 'ब्याटरको सट चयनमा कमजोरी देखियो'

जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले खेलमा पिचको अवस्थालाई भन्दा पनि ब्याटरहरूको सट छनोटमा कमजोरी देखिएकाले पराजय भोग्नुपरेको बताएका छन्।


सुदूरपश्चिम रोयल्ससँगको हारपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै कप्तान शाहले पिचको दोष लगाउनुभन्दा ब्याटरहरूको निर्णय क्षमतामै समस्या रहेको उल्लेख गरे।

उनका अनुसार, बल बढी घुमेर आउट नभई सिधा बलमा समेत विकेट गुमेकाले हारको जिम्मेवारी ब्याटरहरूले लिनुपर्ने देखिएको छ। कप्तान शाहले आफ्नो व्यक्तिगत प्रदर्शनप्रति पनि असन्तुष्टि व्यक्त गर्दै ब्याटिङ गर्दा खेलाडीहरूको मनमा धेरै कुरा खेल्नाले कठिनाइ भएको बताए।

उनले खेलको सुरुदेखि नै मिडल अर्डरको सही परीक्षण हुन नसकेकोमा पनि चिन्ता व्यक्त गरे। कप्तान शाहले आजको खेलमा मोहम्मद मोहसिनलाई विश्राम दिई केही नयाँ प्रयोग गरिएको भए पनि अपेक्षित नतिजा नआएको बताए।

अघिल्ला खेलहरूमा जस्तै आज पनि मिडल अर्डरसम्म ब्याटिङ गर्ने मौका आए पनि टोलीले सो अवसरलाई सदुपयोग गर्न नसकेको उनको भनाइ थियो। ब्याटिङ लाइनलाई बलियो बनाउनका लागि तल्लो क्रमसम्म पनि ब्याटर राखिएको भए पनि सफल नतिजा प्राप्त गर्न नसकेको उनले स्वीकारे।