योमरी कसरी बन्छ योमरी ?
- नेटिजन संवाददाता
- आइतबार, ३० मङ्सिर, २०८१- ११:०३:००/ Sunday 12-15-24
काठमाडौं। योमरी नयाँ धानको चामलको पिठोबाट बनाईन्छ । ताइचिन धानको चामलको पिठो उत्तम मानिन्छ । चामलको पिठोलाई शुद्ध घिउ हालेर तातो पानी हाल्दै मुछ्नु पर्दछ । यसको लागि नरम हुनेगरी पिठो मुछिएपछि हावाबाट बचाउन सफा मखमलको कपडाले छोप्नुपर्छ । हावाको प्रत्यक्ष सम्पर्क परेमा मुछिएको पीठो कडा हुन्छ ।
पिठो कडा भएमा योमरी फुट्ने डर हुन्छ । त्यसपछि पिठोको डल्लोलाई चोर औंलाले छेड्नुपर्छ । औँला घुमाउँदै जाँदा पिठोको डल्लो पातलिँदै जान्छ । पातलो डल्लो झन्डै शङ्खको आकारमा परिणत हुन्छ ।
यसरी गर्दै जाँदा माथिल्लो भाग मन्दिरको गजुर जस्तै चुच्चो पर्दै जान्छ र तल्लो भागमा खोक्रो ठाउँ बन्छ । खोक्रो भागमा चाकु, खुवा राखेर बन्द गरिन्छ र योमरी तयार हुन्छ ।
योमरीमा खुवा,चाकु, तिल ,गुँदपाक लगायत सामाग्री राख्ने प्रचलन पनि छ । यसरी योमरी तयार भएपछि एउटा भाँडोमा पानी उमाल्ने र उम्लिएको पानीको माथि अर्को प्वाल प्वाल भएको भाँडो वा म:म पकाउने भाडाको प्रयोग पनि गर्न सकिन्छ ।अघि बनाएको योमरी राखेर छोपिदिने। वाफको सहाएताले करिव ५-१० मिनेट वफाएपछि योमरी तयार हुन्छ ।