आजदेखि काठमाडौँ–टीकापुर हवाई उडान सञ्चालनमा
- नेटिजन संवाददाता
- आइतबार, ३० मङ्सिर, २०८१- १५:३३:००/ Sunday 12-15-24
काठमाडौं । सत्ताइस वर्षपछि कैलालीको टीकापुर विमानस्थलमा आजदेखि नियमित हवाई उडान सुरू भएको छ। तारा एयरको वाइटी १७०१ नम्बरको ट्वीनअटर विमान दिउँसो १ः४४ बजे टीकापुर विमानस्थलमा अवतरण गरेपछि हवाई उडानको नयाँ युगको सुरुवात भएको हो। विमानमा चालक दलका तीन सदस्य, छ कर्मचारी र १२ यात्रु सवार थिए।
पहिलो उडानको स्वागतमा संस्कृति, पर्यटन र नागरिक उड्डयन राज्यमन्त्री अरूणकुमार चौधरी र अन्य अधिकारीहरूले सहभागी थिए। यस अवसरमा स्थानीय जनताले विमानको भव्य स्वागत गरेका थिए।
टीकापुर नगरपालिकाले विशेष पहल गरी काठमाडौँदेखि नेपालगञ्ज हुँदै टीकापुरसम्म उडानको व्यवस्था गरेको हो। यति एयरलाइन्सका काठमाडौँ–नेपालगञ्ज उडानका साथ तारा एयरको कनेक्टिङ फ्लाइट मार्फत टीकापुर विमानस्थलमा उडान हुनेछ।
विमानस्थलबाट हरेक हप्ता आइतबार र बिहीबार काठमाडौँ–नेपालगञ्ज–टीकापुर र टीकापुर–नेपालगञ्ज–काठमाडौँ उडानहरू सञ्चालन हुनेछन्। नगरप्रमुख रामलाल डगौरा थारूका अनुसार, काठमाडौँ–टीकापुरको एकतर्फी भाडा रु. ९,००० निर्धारण गरिएको छ।
तारा एयरले काठमाडौँबाट बिहान १० बजे यति एयरलाइन्सको विमान नेपालगञ्जका लागि उडान गर्ने जानकारी दिएको छ । त्यसपछि दिउँसो १२:३० बजे तारा एयरको विमान टीकापुर पुग्नेछ।
अग्रिम योजनामा, काठमाडौँबाट अछामको साँफेबगर विमानस्थलका लागि पनि उडान सञ्चालनको तयारी भइरहेको छ। यसका लागि स्थानीय सरकार र तारा एयरबीच सहमति भइसकेको छ।