• आइतबार, ३० मङ्सिर, २०८१
  • ०५:३४:३४

मनकामना केबलकार दुई दिनको लागि बन्द

काठमाडौं। मनकामना केबलकारको सेवा पुस १ र २ गते मर्मत कार्यका कारण दुई दिनका लागि बन्द रहनेछ। मनकामना दर्शन प्रालिका नायब प्रबन्धक उज्वल शेरचनका अनुसार, केबलकारका टावरको मर्मत गर्नका लागि यो निर्णय लिइएको हो।


शेरचनले यस समयमा केबलकारको सेवा बन्द रहने भए पनि पुस ३ गते बुधवारदेखि सेवा पुनः नियमित रूपमा सुरु हुने जानकारी दिएका छन्।

मर्मत कार्यको अवधि भरी 'वटम स्टेशन' स्थित रेष्टुरेन्ट सेवा भने यथावत् रुपमा सञ्चालन हुने मनकामना दर्शन प्रालिले जनाएका छन्।

गोरखा जिल्लाको सहिद लखन गाउँपालिकामा स्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिरसम्म यात्रुहरूलाई सहज पहुँच प्रदान गर्नका लागि नेपालमा पहिलो पटक २०५५ सालको मङ्सिर महिनामा मनकामना केबलकार सुरु गरिएको हो।

केबलकारको प्रवेशद्वार चितवन जिल्लाको इच्छकामना गाउँपालिका–४ स्थित चेरेसमा रहेको 'वटम स्टेशन' मा पर्दछ।