सुदुरपश्चिम रोयल्स्द्वारा पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य प्रस्तुत
- नेटिजन संवाददाता
- आइतबार, ३० मङ्सिर, २०८१- १४:४९:००/ Sunday 12-15-24
काठमाडौँ सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले टस जितेर फिल्डिङ रोजेपछि सुदूरपश्चिमले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा १५३ रन बनायो।
सुदूरपश्चिमको लागि आरिफ शेखले नटआउट ४२ रनको योगदान गरे। उनले ३८ बलमा २ चौका र १ छक्का हान्ने काम गरे।
सुरुवातमा ओपनर सइफ जइब ९ रनमा र विनोद भण्डारी १४ रनमा आउट भए। सइफलाई पोखराका रेमन्ड रेइफरले दोस्रो ओभरमा बोल्ड गराएका थिए। भण्डारीलाई सातौं ओभरमा पोखराका कप्तान कुशल भुर्तेलको बलमा विपिन खत्रीले क्याच गरे।
भण्डारीको आउटको ठीक केही समयपछि ब्रान्डन माक्मलेन २३ रनमा आउट भए। उनलाई भुर्तेलले सागर ढकालको मद्दतमा क्याच गरे।
दशौं ओभरमा हरमित सिंहलाई माइकल लिस्कले १३ रनमा सुदिप अर्यालको क्याचमा समेटे।
१५औं ओभरको अन्तिम बलमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी २० रन बनाउँदै खेलिरहेका बेला सागर ढकालको एलबिडब्लू बलमा आउट भए। उनले १६ बलमा १ छक्का हान्न सके।
सुदूरपश्चिमले १९औं ओभरको पहिलो बलमा इशान पाण्डेलाई १० रनमा रिटायर्ड आउट गर्दै स्कट कुगेलेइनलाई ब्याटिङमा ल्यायो। तर, उनी अन्तिम ओभरको तेस्रो बलमा दुई रनमा रनआउट भए।
बलिङतर्फ पोखराका कप्तान भुर्तेलले २ विकेट लिए, जबकि रेइफर, सागर ढकाल र माइकल लिस्कले १-१ विकेट हात पारे।
पोखरा यो खेलपछि प्लेअफबाट बाहिरिसकेको छ। यदि सुदूरपश्चिम आजको खेलमा जित निकाल्छ भने, उनीहरूको प्लेअफ स्थान पक्का हुनेछ। सुदूरपश्चिमको अन्तिम लिग खेल सोमबार कर्णाली याक्ससँग हुनेछ।