कर्णालीको बलियो प्रदर्शन: चितवनलाई १७६ रनको लक्ष्य
- नेटिजन संवाददाता
- बुधबार, ३ पौष, २०८१- १०:५२:००/ Wednesday 12-18-24
नेपाल प्रिमियर लिग (एनपीएल) को इलिमिनेटर खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको चुनौती प्रस्तुत गरेको छ। टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको चितवनले कर्णालीलाई ६ विकेटको क्षतिमा १७५ रनमा रोक्यो।
कर्णालीको इनिङ्समा दुई ब्याटरले अर्धशतक प्रहार गर्दै टिमलाई सानदार स्कोरमा पुर्याए। भारतीय खेलाडी जयकिसन कोसवालले ५३ रनको उपयोगी पारी खेले भने विलियम बोसिस्टोले ५२ रनको योगदान दिए। दुबै ब्याटरले महत्वपूर्ण साझेदारी गर्दै इनिङ्सलाई मजबुत बनाए।
अन्त्यतिर चाडविक वाल्टनले विस्फोटक प्रदर्शन गर्दै ४ चौका र ३ छक्कासहित ४६ रनको तेज पारी खेले। जिसन मक्सुदले १४ रन जोड्दा कर्णालीले बलियो लक्ष्य दिन सफल भयो। कर्णालीका दुई ब्याटर शून्यमा आउट भए भने सोमपाल कामी शून्य रनमा नटआउट रहे।
चितवनका बलरहरू मध्ये सोहेल तनविरले उत्कृष्ट प्रदर्शन गर्दै २ विकेट लिए। त्यस्तै, शरद भेषवाकर, कुशल मल्ल र रवि बोपाराले समान १-१ विकेट हात पारे।
अब चितवन राइनोज १७६ रनको लक्ष्य पछ्याउन मैदानमा उत्रने छ। चितवनका ब्याटरहरूको प्रदर्शन कस्तो रहन्छ भन्ने प्रतीक्षा गरिँदैछ। खेल रोमाञ्चक हुने अनुमान गरिएको छ।