• शुक्रबार, १२ पौष, २०८१
  • ०५:४५:२०

कोहलीको हर्कत भारतीय समर्थकको निशानामा

भारत र अस्ट्रेलियाबीच बिहीबार सुरु भएको बक्सिङ डे टेस्टको दोस्रो दिन भारतीय क्रिकेटर विराट कोहलीले खेल अनुशासन उल्लंघन गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कारबाही गरेको छ। कोहलीले अस्ट्रेलियाका युवा ब्याटर स्याम कोन्स्टासलाई ठक्कर दिएको घटनाले विवाद उत्पन्न गरेको थियो।


१९ वर्षीय कोन्स्टासले आफ्नो डेब्यू टेस्टमै भारतविरुद्ध अर्धशतक प्रहार गरेका थिए। उनले भारतीय बलर जसप्रित बुमराहलाई चौका र छक्का प्रहार गर्दै उत्कृष्ट प्रदर्शन गरेका थिए। कोन्स्टासको प्रदर्शनपछि भारतीय टोलीमा असन्तोष देखिएको थियो, जसका कारण कोहलीले जानजानी कोन्स्टासलाई ठक्कर दिएका थिए।

यो घटना भएपछि भारतीय समर्थकहरूले समेत कोहलीको हर्कतको विरोध जनाएका थिए। सामाजिक सञ्जालमा कोहलीको व्यवहारलाई लिएर विभिन्न प्रतिक्रियाहरू आएका थिए। आईसीसीले घटनाको पाँच घण्टाभित्रै निर्णय लिँदै कारबाही प्रक्रिया सुरु गरेको हो।

आईसीसीले कोहलीलाई म्याच फिको २० प्रतिशत जरिवाना तिराउने निर्णय गरेको छ। साथै, उनलाई एक डिमेरिट प्वाइन्ट पनि दिइएको छ। प्रारम्भमा कोहलीलाई एक खेलका लागि निलम्बन गर्ने चर्चा भए पनि आईसीसीले सजायलाई सीमित राख्दै जरिवाना मात्र तिराएको हो।

कोहलीको यो विवादास्पद कदमले खेलमा अनुशासन र खेलभावनाको महत्त्वमाथि प्रश्न खडा गरेको छ। खेलकुद क्षेत्रमा यस्ता घटनाहरूले खेलाडीहरूलाई थप जिम्मेवार र अनुशासित बन्न आवश्यक रहेको देखाएको छ।