• शुक्रबार, १२ पौष, २०८१
  • ०७:४१:१७

पुस २१ देखि शुरु हुँदैछ दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता

नेपाल क्रिकेट संघले एलाइट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २१ देखि आयोजना गर्ने घोषणा गरेको छ।


यो प्रतियोगिता चार वटा टोलीका बीच वीरगञ्ज र जनकपुरमा सञ्चालन हुनेछ र माघ ३ गतेसम्म निरन्तर खेलाइनेछ।

प्रतियोगिताको नाम ‘जय ट्रफी मेन्स एलाइट कप’ राखिएको छ।

नेपाल क्रिकेटको गौरवमयी इतिहाससँग जोडिएको 'जय ट्रफी'लाई नेपालको प्रमुख बहुदिवसीय क्रिकेट प्रतियोगिताका रूपमा पुनः स्थापनागरी भविष्यमा यसलाई पहिलो श्रेणीको राष्ट्रिय प्रतियोगिता बनाउने उद्देश्यका साथ यसका नाममा संघका पूर्वअध्यक्ष स्व. जयकुमार नाथ शाहको नाम राखिएको क्यानका प्रवक्ता छुम्बी लामाले बताएका छन्।

प्रतियोगिताको पहिलो संस्करणमा गत वर्ष सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा शीर्ष स्थानमा रहेको चार टोली प्रतिस्पर्धा गर्नेछन्।

नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, बागमती प्रदेश र मधेश प्रदेशबीच यस प्रतियोगितामा प्रतिस्पर्धा हुनेछ।


प्रतियोगिताका लिग चरणका खेलहरू दुईदिवसीय ढाँचामा र फाइनल खेल तीनदिवसीय ढाँचामा आयोजना गरिनेछ।

खेल तालिका:
पुस २१ र २२ गते – मधेस बनाम बागमती (जनकपुर), पुलिस बनाम आर्मी (वीरगञ्ज)
पुस २४ र २५ गते – आर्मी बनाम बागमती (जनकपुर), मधेस बनाम पुलिस (वीरगञ्ज)
पुस २७ र २८ गते – पुलिस बनाम बागमती (जनकपुर), आर्मी बनाम मधेस (वीरगञ्ज)
माघ १, २, ३ गते – फाइनल (लिग चरणका शीर्ष दुई टोली, वीरगञ्ज)