• शुक्रबार, १२ पौष, २०८१
  • ०५:४६:२४

पुस २० मा आरिफ र आसिफको लगनगाँठो

नेपाली क्रिकेट टिमका चर्चित दाजुभाइ आरिफ शेख र आसिफ शेख चाँडै नै वैवाहिक जीवनमा बाँधिन लागेका छन्। वीरगन्ज महानगरपालिका–१२ निवासी यी दुवै खेलाडी यही पुस २० गते एकैदिन विवाह गर्दैछन्।


पारिवारिक स्रोतका अनुसार आरिफ र आसिफ दुवैले आफ्नै समुदायका युवतीहरूसँग मागी विवाह गर्न लागेका हुन्। नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणको प्रतियोगिता सकिएलगत्तै उनीहरू बिहेको तयारीमा जुटेका थिए। आरिफ एनपिएलको उपविजेता सुदूरपश्चिम रोयल्समा आबद्ध थिए भने आसिफ विजेता जनकपुर बोल्ट्सको कप्तान थिए।

दाजुभाइ अहिले आफन्त र साथीभाइलाई बिहेको निमन्त्रणा बाँड्न व्यस्त छन्। फुर्सदको समयमा उनीहरू आफ्नो घरनजिकै रहेको नारायणी खेलमैदानमा समेत देखिने गरेका छन्।

२६ वर्षीय आरिफ शेख नेपाली राष्ट्रिय टिमका अलराउन्डर खेलाडी हुन्। सन् २०१४ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेका उनले नेपाल पुलिस क्लबबाट पनि खेलिरहेका छन्।

आसिफ शेख भने २३ वर्षका छन् र नेपाली राष्ट्रिय टिमका विकेटकिपर तथा ब्याट्सम्यानका रूपमा खेलेका छन्। सन् २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेट सुरु गरेका आसिफ हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।