युट्युबले ल्याउँदैछ तपाईंको मुडअनुसार भिडिओ सिफारिस गर्ने फिचर!
- नेटिजन संवाददाता
- मंगलबार, १६ पौष, २०८१- १७:०२:००/ Tuesday 12-31-24
भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले आफ्नो प्रयोगकर्ताको मुडअनुसार भिडिओ सिफारिस गर्ने नयाँ फिचरको परीक्षण थालेको छ। यो फिचरले प्रयोगकर्ताले हेरेका भिडिओ, लाइक, डिसलाइक, कमेन्ट, शेयर र सब्स्क्राइब गर्ने बानीलाई विश्लेषण गरी सोहीअनुसारका भिडिओ सिफारिस गर्नेछ।
यस फिचरलाई "प्ले समथिङ" नाम दिइएको छ। केही टेक प्लेटफर्महरूले यो फिचर पहिलो पटक एन्ड्रोइड एपमा परीक्षण भइरहेको पत्ता लगाएका छन्। एन्ड्रोइड एपको भर्सन १९.५० मा यो फिचर परीक्षणका लागि उपलब्ध गरिएको छ।
फिचर सक्रिय भएपछि युट्युब एपको तलपट्टि कालो ब्याकग्राउन्डमा "प्ले समथिङ" लेखिएको बटन देख्न सकिन्छ। उक्त बटनमा ट्याप गरेपछि युट्युबले प्रयोगकर्ताको गतिविधिलाई विश्लेषण गरेर उपयुक्त कन्टेन्ट देखाउने सुविधा दिनेछ।
यो फिचर सबै प्रयोगकर्ताका लागि कहिले उपलब्ध हुनेछ भन्ने युट्युबले खुलाएको छैन। यद्यपि, यस फिचरले प्रयोगकर्ताको मुड अनुसार भिडिओ कत्तिको सटीक सिफारिस गर्न सक्छ भन्ने कुराले यसको लोकप्रियता निर्धारण गर्नेछ।