झण्डै ७ करोड लगानीमा निर्माण हुदै गरेको कालीकोटको संग्रहालय अन्तिम चरणमा
- भिमबहादुर रावल
- बिहीबार, १८ पौष, २०८१- १८:०९:००/ Thursday 01-02-25
काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिका–७ को पिलीमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘युद्ध संग्रहालय’ निर्माण गर्न थालिएको छ। भौगोलिक रूपमा विकट मानिने कालीकोटको पर्यटन प्रवर्द्धनका लागि युद्ध संग्रहालय निर्माणदेखि द्वन्द्वका बेलाको स्मरण गर्न स्मारक निर्माण थालिएको हो।
कालीकोट १० वर्षे सशस्त्र द्वन्द्वकालको समयमा अत्यन्त्यै प्रभावित जिल्ला भएकाले सो समयमा जिल्लावासीले कयौं सास्ती भोग्नुपरेको थियो। द्वन्द्वकालमा भएका ठूला युद्धमध्येको कालीकोटको पिलीमा पनि भएको थियो। सोही स्थानमा कर्णाली प्रदेश सरकारको लगानीमा तीव्र गतिमा युद्ध संग्रहालय निर्माण भइरहेको छ।
कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ देखि बर्सेनि बजेट विनियोजन गरेर प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमार्फत् डिभिजन वन कार्यालय कालीकोटले युद्ध संग्रहालय निर्माणलाई निरन्तरता दिइरहेको खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले बताए। आन्तरिक तथा बाह्य पर्यटकलाई अध्ययन तथा अनुसन्धानको केन्द्र बनाउँदै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँ संग्रहालय निर्माण थालिएको उनले उल्लेख गरे।
'नगरपालिकाले पनि संग्रहालय निर्माणमा सहयोग गरिरहेको छ,' नगरप्रमुख शाहीले भने, 'प्रदेश सरकारको लगानीमा संग्रहालय बनिरहेको छ, यसले आन्तरिक आम्दानी वृद्धि हुने, युद्ध भएको स्थानबारे प्रचारप्रसार भई पर्यटक आगमन बढ्ने र द्वन्द्वकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि उत्कृष्ट गन्तव्य हुने विश्वास लिएका छौं।'
संग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ८५ प्रतिशत भौतिक प्रगति र ५७ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए। अहिले बाहिरी आवरण र रङ्गरोगनको काम भइरहेको छ।
द्वन्द्वको बेला तत्कालीन शाही सेना र माओवादी सेनाको अन्तिम भिडन्त भएको ठाउँ पिलीलाई युद्ध पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न स्थानीय, स्थानीय सरकार र प्रदेश सरकारले पहल गरिरहेको उनको भनाइ छ।
'वि.सं २०६२ साउन २३ गते विद्रोही र तत्कालीन शाही सेनाबीच दोहोरो भिडन्त हुँदा एक सय तीन जनाको ज्यान गएको पिली गाउँलाई युद्ध पर्यटकीयस्थलका रूपमा विकास गर्ने लक्ष्य गाउँले लिएको छ,' स्थानीय मानबहादुर मल्लले भने। सो समयमा सबैभन्दा बढी मानवीय क्षति भएकाले यसलाई युद्ध पर्यटन क्षेत्रका रूपमा विकास गर्न खोजिएको उनले उल्लेख गरे।
कर्णाली राजमार्ग हुँदै जुम्ला र मुगुको राराताल जानेबीच बाटोमा पर्ने भएकाले यहाँ पर्यटकको आगमन बढाउन सकिने भन्दै यो ठाउँ द्वन्द्वकालका बारेमा अध्ययन, अनुसन्धान गर्न चाहनेका लागि महत्वपूर्ण हुनसक्ने स्थानीय रामबहादुर कार्कीले विचार राखे।
'द्वन्द्वका कारण राष्ट्रिय र अन्तर्राष्ट्रिय चर्चामा रहेको पिलीलाई सधैंभर जीवन्त राख्ने, युद्धको अवशेषहरू देखाउने र पर्यटनका माध्यमबाट स्थानीयको जीवनस्तर उकास्ने उद्देश्यले पर्यटकीय गाउँका रूपमा विकास गर्न थालेका हौं,' उनले भने, 'युद्ध पर्यटकीयस्थल र लडाइँ भएका ठाउँमा भग्नावशेष र लडाइँमा प्रयोग भएका बङ्करको संरक्षण गर्ने तयारी थालिएको छ। लडाइँ प्रयोग भएका हतियारसमेत सङ्कलन गर्ने तयारी छ।'
आव २०७६/७७ मा रु एक करोड ५० लाख बजेट विनियोजन भएकामा सो रकमबाट घरबास (होमस्टे) सहित तीन वटा भवन, करिब सात सय मिटर रेलिङसहितको सिँढी निर्माण भएका खाँडाचक्र नगरपालिकाका प्रमुख शाहीले जानकारी दिए।
'त्यसअघि र पछि गरेर रु तीन करोड खर्च भइसके पनि नयाँ बन्ने संरचनाको काम सुरू भएको छैन। पिलीका लागि सङ्घीय संरचना नबन्दै तत्कालीन दाँहा गाविस, जिल्ला विकास समिति कालीकोट, नागरिक तथा पर्यटन उड्डयन मन्त्रालय लगायत निकायको समन्वयमा ती संरचना निर्माण भएका हुन्। कोभिड–१९ पछि भने बजेट विनियोजन भएको थिएन,' उनले भने।
भ्युटावरसहित अन्य संरचना बन्दै
डिभिजन वन कार्यालय कालीकोटमार्फत पिलीमा युद्ध पर्यटकीय क्षेत्र बनाउन विभिन्न पूर्वाधारका काम भइरहेका छन्। यहाँ युद्ध संग्रहालय, रेलिङसहित करिब एक हजार नौ सय मिटर पैदलमार्ग, पौडी पोखरी, सवारीस्थल, प्रवेशद्वार, भ्युटावर, टिकट काउन्टर, बुट्यानसहितका दुई वटा चौतारा, शौचालय र गेट निर्माण गरिएको डिभिजन वन कार्यालयका प्रमुख महेश कुमाईले जानकारी दिए।
संग्रहालय निर्माण अन्तिम चरणमा पुगेको बताउँदै ८५ प्रतिशत भौतिक प्रगति र ५७ प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए। अहिले बाहिरी आवरण र रङ्गरोगनको काम भइरहेको छ।
वि.सं २०८४ असार २२ गतेसम्म काम सम्पन्न गर्ने गरी विसं २०७९ असार २३ गते रु छ करोड ८९ लाख ९९ हजारमा ठेक्का सम्झौता भएको थियो। डिभिजन वन कार्यालयका प्रमुख कुमाईले अहिले तीव्र रूपमा निर्माण अघि बढेको जानकारी दिए।
युद्धस्थलका रूपमा चिनिएको पिलीलाई पर्यटकीय गन्तव्यमा रूपान्तरण गर्न सके स्थानीयको आयआर्जन वृद्धि हुनुका साथै रोजगारीका अवसर सिर्जना हुने प्रमुख कुमाईले बताए।
'यहाँ उत्पादन हुने स्थानीय वस्तु र व्यवसाय प्रवर्द्धनमा सहयोग पुग्नेछ,' उनले भने, 'घटनासँग सम्बन्धित विषय र सामग्री संग्रहालयमा राखेपछि अवलोकन, अनुसन्धान गर्ने आन्तरिक र बाह्य पर्यटक पनि बढ्नेछन्। अब यो पिलीको डाँडा मात्र नभई पर्यटकीय गन्तव्यका रूपमा चिनाउन जरूरी छ।'
आन्तरिक पर्यटकको रोजाइमा पिली
पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पिली पर्न थालेको छ। यहाँ बनेका संरचना र कर्णाली राजमार्गको सिरानमा पर्यटकीय क्षेत्र विस्तार भएपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको हो।
पिली द्वन्द्वसम्बन्धी अध्ययन र अनुसन्धान गर्नेका लागि आकर्षण केन्द्र बनेको भन्दै प्रमुख पर्यटकीय गन्तव्य राराताल र जुम्ला पुग्ने पर्यटकलाई यहाँ रोकिराख्न पनि यो स्थान महत्वपूर्ण हुने कर्णाली प्रदेशसभाका सांसद दुर्गबहादुर रावतले बताए।
'पिली रारा तथा जुम्ला जाने सडक नजिक पर्ने भएकाले पनि आन्तरिक पर्यटकको रोजाइ पर्ने गरेको छ,' उनले भने, 'अहिले यो पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै गएको छ।' उनले यस क्षेत्रको प्रचारप्रसार, थप पूर्वाधार निर्माणलगायत काममार्फत् पर्यटन प्रवर्द्धनमा प्रदेश र सङ्घीय सरकारले योजनाबद्ध रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याए।
युद्धमा प्रयोग भएका हातहतियार र अन्तिम युद्ध भएको ठाउँको इतिहासलाई महसुस गर्ने सामग्री राख्ने गरेर संरचना तयार गरिएको खाँडाचक्र नगरपालिकाले जनाएको छ। युद्धका बेला दुवै पक्षले प्रयोग गरेका बङ्कर हातहतियार समेत संरक्षण गर्नु आवश्यक देखिएकाले ती संरचना संरक्षण गर्न थालिएको पूर्ववडाध्यक्ष रजबहादुर मल्लले बताए।
'सशस्त्र द्वन्द्वको अन्तिम युद्धस्थल पिलीमा बनेका भौतिक संरचनाको संरक्षण गर्दै पर्यटकलाई आकर्षित गर्ने योजना बनाउनुपर्छ,' उनले भने, 'स्थानीय अर्गानिक उत्पादनलाई जोड दिएर यहाँको पर्यटन क्षेत्रको विकासका लागि ध्यान दिएका छौं।' रासस