डोनाल्ड ट्रम्पको दोस्रो कार्यकाल: अमेरिकी राजनीतिमा नयाँ अध्याय
- नेटिजन संवाददाता
- सोमबार, ७ माघ, २०८१- १४:५६:००/ Monday 01-20-25
काठमाडौं । डोनाल्ड ट्रम्प आज दोस्रो कार्यकालका लागि अमेरिकी राष्ट्रपतिका रूपमा शपथ लिँदै छन्। नेपाली समय अनुसार राति करिब १०:१५ बजे अमेरिकाको राजधानी वासिङ्टन डिसीस्थित क्यापिटल हिलमा सपथ ग्रहण कार्यक्रम हुनेछ। सपथ ग्रहण समारोहमा करिब ७०० जना सहभागी हुने अपेक्षा गरिएको छ। सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्ट्सले ट्रम्पलाई सपथ गराउनेछन्। यस क्रममा ट्रम्पले आफ्नो देब्रे हात बाइबलमा राख्नेछन्, जुन उनकी श्रीमती मेलानियाले समाउनेछिन्।
सन् १९८० मा, ३४ वर्षीय ट्रम्पले एक म्यागजिनलाई दिएको अन्तर्वार्तामा राजनीति निर्दयी हुने बताएका थिए। उनी भन्थे, "जो सक्षम छन्, उनीहरूले व्यवसाय गर्छन्।" तर समयसँगै ट्रम्पको दृष्टिकोण मात्र होइन, यात्रा पनि परिवर्तन भयो। एक सफल व्यवसायीका रूपमा पहिचान बनाएका ट्रम्प अब अमेरिकी राजनीतिमा दोस्रो पटक शीर्ष स्थानमा पुग्दैछन्।
अमेरिकी राजनीतिमा राष्ट्रपति पदमा सपथ लिने परम्परा १७८९ मा जर्ज वासिङ्टनबाट सुरु भएको हो। त्यसबेला राष्ट्रपतिले बाइबलमा हात राखेर सपथ लिने परम्परा स्थापित गरेका थिए। यद्यपि, अमेरिकी संविधानले बाइबलमा हात राखेर सपथ लिनुपर्ने अनिवार्यता भने गर्दैन। इतिहासमा केही राष्ट्रपतिहरूले अन्य धार्मिक पुस्तकहरूमा हात राखेर अथवा कुनै पुस्तक प्रयोग नगरी पनि सपथ लिएका छन्।
अमेरिकामा सत्ता हस्तान्तरणको प्रक्रिया अन्य देशको तुलनामा समय लिने खालको छ। चुनाव सम्पन्न भएपछि नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्न करिब ७५ दिन लाग्छ। यस लामो प्रक्रियाको कारण ऐतिहासिक रूपमा देशको ठूलो भौगोलिक क्षेत्र र प्रणालीगत जटिलता हो। सन् १९३३ मा समय छोट्याइए पनि, आजसम्म पनि यो समयावधि पर्याप्त मानिन्छ।
डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालले अमेरिकी राजनीतिमा के परिवर्तन ल्याउँछ, त्यो हेर्न बाँकी छ। ह्वाइटहाउस प्रवेश गरेपछि ट्रम्पले आफ्नो इच्छाअनुसार सजावट परिवर्तन गर्नेछन्। यसअघि बाइडेनले ट्रम्पद्वारा स्थापित केही परम्पराहरू परिवर्तन गरेका थिए, जुन यस पटक ट्रम्पले फेरि आफ्नै शैलीमा बदल्न सक्ने अनुमान गरिएको छ।
सपथ ग्रहणपछि ट्रम्पले औपचारिक रूपमा ह्वाइटहाउस प्रवेश गर्नेछन्। यस क्रममा उनले आफ्नो नयाँ कार्यकालका प्राथमिकताहरू र योजनाहरू प्रस्तुत गर्ने सम्भावना छ। ट्रम्पको दोस्रो कार्यकालले अमेरिका र विश्व राजनीतिमा कस्तो प्रभाव पार्छ, त्यो भने समयले देखाउनेछ।
(विविध स्रोतहरूको सहयोगमा तयार गरिएको सामग्री)