• सोमबार, ७ माघ, २०८१
  • ०८:३५:१३

हर्क साम्पाङको रित्तो गाग्रिले के मागिरहेको छ ?

काठमाडौं: धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्रीसहित काठमाडौं आइपुगेका छन्। उनले धरानका जनताको खानेपानी समस्या समाधानका लागि केन्द्र सरकारलाई दबाब दिन यस्तो कदम उठाएको बताएका छन्।


त्रिभुवन विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै साम्पाङले भने, "धरानका जनतालाई खानेपानीको दीर्घकालीन समाधान सरकारले दिन नसकेकाले सरकारलाई जागरुक बनाउन काठमाडौं आएको हुँ।"

साम्पाङले यसअघि धरानको भानु चोकमा समर्थकहरूसँग गाग्रीसहित प्रदर्शन गर्दै केन्द्र सरकारलाई कोशी नदीको पानी धरानमा पुर्‍याउने व्यवस्था गर्न आग्रह गरेका थिए। उनले भने, "खाली गाग्री बोकेर सिंहदरबारमा खानेपानीमन्त्री र प्रधानमन्त्रीसँग भेटेर यो समस्या समाधानको माग गर्नेछु।"

साम्पाङका अनुसार धरानको खानेपानी समस्या समाधानका लागि कोशी नदीबाट पानी ल्याउनु विकल्परहित छ। तर, सुरुङमार्फत तमोर नदीको पानी ल्याउने योजना अव्यावहारिक भएको उनको तर्क छ। "तमोर नदीको पानी ल्याउँदा ड्याम बनाउनुपर्नेछ, जसले हजारौं स्थानीयलाई विस्थापित गर्ने मात्र होइन, जलाधार क्षेत्रलाई पनि विनाश गर्नेछ," साम्पाङले भने।

उनले धरानका जनतालाई आफ्नो कार्यकालभरि तत्काल खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाए। साथै, उनले आगामी ५०–१०० वर्षलाई लक्ष्य राखेर स्थायी समाधानका लागि कोशी नदीको पानी उपयोग गर्ने योजना बनाउनुपर्ने धारणा व्यक्त गरे।

धरानका जनताको जीवनयापन सहज बनाउन पानीको व्यवस्थापन पहिलो प्राथमिकतामा राख्दै साम्पाङले आफ्नो अभियानलाई निरन्तरता दिने बताएका छन्।