नेटफ्लिक्सले सब्सक्रिप्सन शुल्क बढाउँदै, नयाँ मूल्य कति?
- नेटिजन संवाददाता
- बुधबार, ९ माघ, २०८१- १९:०४:००/ Wednesday 01-22-25
वासिङ्टन डिसी। लोकप्रिय ओटीटी प्लेटफर्म नेटफ्लिक्सले आफ्नो सब्सक्रिप्सन शुल्क बढाउने निर्णय गरेको छ। २०२४ को अन्तिम महिनाहरूमा झन्डै १ करोड ९० लाख नयाँ प्रयोगकर्ता थपिएसँगै, कम्पनीले अमेरिका, क्यानडा, अर्जेन्टिना र पोर्चुगलजस्ता देशहरूमा शुल्क वृद्धि गर्ने योजना बनाएको हो।
कम्पनीले सब्सक्राइबरहरूको अनुभव सुधार्न र थप लगानी गर्नका लागि शुल्क बढाउनुपरेको बताएको छ। कोरियन ड्रामा स्क्विड गेम को दोस्रो सिरिज, जेक पल र माइक टाइसनको बहुचर्चित बक्सिङ म्याचजस्ता सामग्रीहरूले प्रयोगकर्ताहरूलाई आकर्षित गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।
अमेरिकामा सबै योजनाको मूल्यमा वृद्धि गरिएको छ। विज्ञापनरहित सामान्य योजना अब मासिक १७.९९ डलर तिर्नुपर्नेछ, जुन यसअघिको १५.४९ डलरबाट बढाइएको हो। त्यस्तै, विज्ञापनसहितको सदस्यता शुल्क १ डलर थप गरी ७.९९ डलर बनाइएको छ।
गत वर्ष २०२३ को अक्टोबरमा पनि कम्पनीले शुल्क वृद्धि गरेको थियो। २०२४ मा नेटफ्लिक्सले ३० करोडभन्दा बढी सब्सक्राइबरको आँकडा पार गरेको छ। अक्टोबरदेखि डिसेम्बरको बीचमा मात्र ९६ लाख नयाँ प्रयोगकर्ता थपिने अपेक्षा गरिएको थियो।
कम्पनीका अनुसार, यो वृद्धि प्रयोगकर्तालाई अझ राम्रो सेवा दिन र प्लेटफर्ममा गुणस्तरीय सामग्री उपलब्ध गराउनका लागि गरिएको हो।