• बुधबार, २० चैत, २०८१
  • ०९:०१:१८

दाँत कसरी स्वास्थ्य र सफा राख्ने ?

काठमाडौं ।  दाँतले मानिसको सुन्दरतालाई बढाएको हुन्छ । देखिदा सुन्दर देखिएता पनि त्यसको स्वास्थ्य कस्तो छ भनेर हामी सचेत हुनु जरुरी छ । धेरै मानिसलाई मुख स्वास्थ्यका बारेमा जानकारी छैन। दाँत सफा राख्नुपर्छ भन्ने जानेका मानिस पनि मुख स्वास्थ्यबारे अनभिज्ञ छन्।

मुख स्वास्थ्य भनेको दाँत मात्र नभई गिजा, जिब्रो, भित्रको गालासमेत पर्छ। दाँत मात्र माँझेर मुख सफा वा स्वस्थ रहँदैन। दाँतका साथसाथै जिब्रो, गिजालाई पनि सफा र स्वस्थ राख्न आवश्यक छ। 

नेपालमा धेरै देखिने स्वास्थ्य समस्यामध्ये दन्त समस्या पनि एक हो। नेपालका सन्दर्भमा किरा लागेर दाँत टुक्राटुक्रा भएर झर्ने, गिजासम्बन्धी समस्या भएर दाँत झर्ने तथा सुन्निने समस्या धेरै छ।  दाँतमा किरा लागेर जरासम्म असर गर्दा नशासम्मको उपचार गर्नुपर्ने केसहरु धेरै आउँछन्। नेपालमा मुख स्वास्थ्यको सरसफाइ राम्ररी गरिएन भने किरा लाग्ने तथा गिजामा समस्या आउँछ। 

जनमानसमा ब्रस गरेपछि कुल्ला गर्ने, जिब्रो सफा गर्ने बानी नभएकाले अन्य समस्या सुरु हुन्छ। यसरी सफा नगर्दा दाँत र गिजाको बीचमा फोहोर जम्न थाल्छ, त्यो फोहोरले नै गिजालाई पनि असर गर्छ। पछि त्यही सानो समस्याले ठूलो रुप लिएर अन्य जटिल समस्या देखाउन थाल्छ। 

यसरी सफा राख्न सकिन्छ दाँत र गिजा :
दिनको दुई पटक ब्रस गर्ने, गुलियो खाएपछि सफा गर्ने गर्नुपर्छ। दाँत माझ्दा दाँत र गिजाको बीचमा ब्रस राखेर सफा गर्नुपर्छ। 
नुनपानीले मुख कुल्ला गर्नाले मुखमा लाग्ने धेरै रोग लाग्नबाट बचाउन सहयोग गर्छ।

दाँत स्वस्थ बनाउनका लागि ६ महिनाको अन्तरमा दन्त रोग विशेषज्ञकोमा गएर जँचाउने, दाँत र गिजाको बीचमा रहेको फोहोर सफा गर्नुपर्छ। अर्को महत्वपूर्ण कुरा, दाँत जहिले पनि नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको विशेषज्ञ चिकित्सकको मात्र देखाउने गर्नुपर्छ।

हरेक नेपालीलाई कुनै न कुनै प्रकारको मुखसम्बन्धी समस्या छ। त्यसैले सानैबाट मुख स्वस्थ राख्न अन्य जाँच जस्तै मुखको पनि परीक्षण गरिरहनुपर्छ।

दाँत माझ्दा ध्यान दिनुपर्ने कुराहरु :

दिनको दुई पटक दाँत माझ्ने, जहिले पनि मञ्जन प्रयोग गर्ने, दाँत माझ्दा पाउडरवाला मन्जन प्रयोग नगर्ने। पाउडर प्रयोग गर्दा दाँत खिइन्छ। 

मानिसहरु दाँत सेतो बनाउने रहरले कागती, नुन–तेल, कोइला, दतिवनजस्ता वस्तुले दाँत माझ्ने गर्छन्। तर, त्यस्ता चिजले कहिल्यै दाँत सफा गर्नुहुन्न। ती वस्तुले दाँतलाई खियाउने समस्या हुन्छ, जसले दाँतलाई कमजोर बनाइदिन्छ। दाँत माझ्ने ब्रस तीन महिनाको अवधिमा परिवर्तन गर्नुपर्छ।

अर्को महत्वपूर्ण कुरा, दाँत स्वास्थ राख्नका लागि खैनी, चुरोट तथा मदिरापानबाट टाढै रहनुपर्छ। गुलियो कम खाने, स्वस्थ र सफा खानेकुरामा जोड दिने गर्नुपर्छ।

पोषक तत्त्वहरूले भरिपूर्ण आहारले दाँतलाई स्वस्थ राख्न र दाँतको समस्याबाट बच्न मद्दत गर्दछ । क्याल्सियम, फस्फोरस र भिटामिन डीको मात्रा बढी हुने खानाले दाँत र हड्डी बलियो बनाउन मद्दत गर्छ । 

फाइबर उच्च हुने खानाहरू मुखको स्वास्थ्यको लागि पनि लाभदायक हुन सक्छ । किनकि यसले थुक उत्पादनमा सहयोग गर्छ र दाँतबाट खाद्य कणहरू वा टुक्राहरु हटाउन मद्दत गर्छ ।