• बुधबार, २० चैत, २०८१
  • ०९:०३:४१

काठमाडौं उपत्यकाका पुस्तकालय

काठमाडौं ।नेपालको पालको पहिलो पुस्तकालय काठमाडौंको हनुमानढोकामा स्थापना भएको थियो । २१२ वर्षअघि तत्कालीन राजा गीर्वाणयुद्ध शाहका पालामा सो पुस्तकालय स्थापना भएको हो। तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्दा महत्त्वपूर्ण कागज र पुस्तक पनि प्राप्त गर्नुभएको थियो ।

ती पुस्तकलाई हनुमानढोकामा पुस्तकालय स्थापना गरी सुरक्षित राखिएको थियो । त्यो पुस्तकालयलाई पुस्तक चिताइ तहबिल मनिन्थ्यो ।
प्रधानमन्त्री जङ्गबहादुरको पालामा हनुमानढोकाको पुस्तकालयलाई थापाथली दरबारमा सारियो। पछि प्रधानमन्त्री वीरशमशेरले घण्टाघर रहेको स्थानमा भवन निर्माण गर्न लगाई थापाथलीको पुस्तकालयलाई सार्नुभयो।

त्यसलाई वीर पुस्तकालय भनिन्थ्यो । पछि राष्ट्रिय अभिलेखालय नामक कार्यालय स्थापना भयो । वीर पुस्तकालयलाई अभिलेखालयमा गाभियो । अभिलेखालय माइतीघरमा छ । काठमाडौँ उपत्यकाभित्र सार्वजनिक तथा सामुदायिक गरी ६३ पुस्तकालय रहेका छन् । केही पुस्तकालयका बारेमा चर्चा गर्ने छौं।

१. त्रिवि केन्द्रीय पुस्तकालय
कीर्तिपुरमा रहेको त्रिभुवन विश्वविद्यालय पुस्तकालय देशकै सबैभन्दा ठूलो पुस्तकालय हो। स्थापना २०१६ सालमा भएको हो । यस पुस्तकालय हाल चार लाखभन्दा बढी पुस्तक छन् । यो पुस्तकालय बिहान ६ बजेदेखि खुला हुन्छ ।

२. राष्ट्रिय पुस्तकालय
राष्ट्रिय पुस्तकालयको स्थापना २०१३ सालमा भएको हो। ललितपुरको हरिहरभवनमा रहेको पुस्तकालय भवन २०७२ को भूकम्पमा ध्वस्त भएपछि यसलाई भक्तपुरको सानोठिमीमा सारिएको छ।

३. केशर पुस्तकालय
प्रधानमन्त्री चन्द्रशमशेरका छोरा केशरशमशेरको निजी पुस्तकालय भएकाले यसको नाम केशर पुस्तकात रहेको हो । यो पुस्तकालयलाई २०२६ सालमा सरकारलाई हस्तान्तरण गरिएको थियो । यहाँ ५० हजारभन्दा बढी पुस्तक, कागजात तथा अन्य महत्त्वपूर्ण सङ्कलन रहेका छन् । यो पुस्तकालयको भवनलाई हाल निकै आकर्षक बनाइएको छ ।

४. काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय
यो पुस्तकालय भृकुटीमण्डपमा छ । यो २०६० सालमा स्थापना भएको हो। यहाँ ५० हजारभन्दा बढी पुस्तक छन् । यो पुस्तकालय शनिवार बन्द हुने गरेको छ।

५. मदन पुरस्कार पुस्तकालय
ललितपुरको पाटनढोकामा मदन पुरस्कार पुस्तकालय छ । पुस्तकालयको स्थापना २०१३ सालमा भएको है। यस पुस्तकालयमा कतिपय दुर्लभ पुस्तक पनि राखिएका छन् । पुस्तकालयमा ४६ हजार पुस्तक, ५७ हजार पत्रपत्रिका, १६ हजार पर्चा पम्प्लेट र ५१ हजारभन्दा बढी तस्बिर छन् ।

६. नेपाल-भारत पुस्तकालय
यस पुस्तकालयको स्थापना सन् १९५६ भएको हो । नेपालस्थित भारतीय दूतावासले पुस्तकालय स्थापना गरेको हो । पुस्तकालय नयाँ सडकस्थित नेपाल वायुसेवा निगमको कार्यालय परिसरमा सञ्चालित छ । यस पुस्तकालयमा ६२ हजारभन्दा धेरै पुस्तक रहेका छन् ।

 ७. डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय
विद्वान् राजनीतिज्ञ डा। डिल्लीरमण रेग्मीले निजी पुस्तकालय २०३७ सालमा सरकारलाई हस्तान्तरण गर्नुभएको थियो । त्यसैले यो पुस्तकालयको नाममा उहाँ र उहाँकी पत्नीको नाम जोडिएको छ । लाजिम्पाटमा यो पुस्तकालय छ।

८. कानुन पुस्तकालय
सन् १९९३ मा सर्वोच्च अदालत र एसिया फाउन्डेसनको पहलमा केन्द्रीय कानुन पुस्तकालय स्थापना भएको हो । यो पुस्तकालय काठमाडौंको जमलमा छ । यहाँ अधिकांश पुस्तक कानुनसँग सम्बन्धित छन् । यहाँ कानुनसँग सम्बन्धित १८ हजार खण्डका पुस्तक छन् ।

९. राष्ट्रिय अभिलेखालय पुस्तकालय
माइतीघरमा राष्ट्रिय अभिलेखालय २०२४ सालमा स्थापना भएको थियो। त्यहाँ पुस्तकालय पनि स्थापना गरियो । महत्त्वपूर्ण अभिलेख वा कागजपत्रलाई अभिलेखालयमा र पुस्तक पुस्तकालयमा राखियो । यस पुस्तकालयमा पुराना पुस्तक पढ्न पाइन्छ ।सूर्यप्रसाद पाण्डे/मुनाबाट।