मुक्तिनाथ क्षेत्र : धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरिदै
-
नेटिजन संवाददाता
- सोमबार, २२ बैशाख, २०८२- ११:४६:००/ Monday 05-05-25

काठमाडौं । मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकसित गरिनुपर्ने आवश्यकता औँल्याइएको छ ।
मुक्तिनाथ मन्दिरमा आउने दर्शनार्थीको बसाइँलाई लम्ब्याउने गरी काम गर्न पहल गरिने र पर्यटकीय पदमार्ग पूर्वाधार निर्माण गरिने प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालले जानकारी दिनुभयो । मुक्तिनाथ क्षेत्रलाई थप धार्मिक पर्यटकीय प्रवर्धन गर्न सकिन्छ भनेर उहाँ सहितको टोलीले गत शनिबार भ्रमण समेत गरेको थियो ।
यहाँका तीन धार्मिक सम्पदासँग जोड्ने गरी मुक्तिनाथ क्षेत्रमा करिब चार किलोमिटर दुरीमा पदमार्ग निर्माण गर्नुपर्ने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्थानीय नागरिकसँगै मिलेर मुक्तिनाथ विकास समितिले पदमार्ग निर्माणलाई अघि बढाउने छ । ”
प्रजिअ भुसालसहित प्रशासन कार्यालयका कर्मचारी प्रकाश पौडेल ,पूर्वाधार विकास कार्यालयका इञ्जिनीयर जगदीशचन्द्र जोशी र मुक्तिनाथ विकास समितिका कर्मचारी रविन सुवेदीलगायत एघार जनाको टोली रहेको थियो ।
टोलीले वैकल्पिक धार्मिक सम्पदालाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ त्यहाँको प्रारम्भिक सम्भाव्यता अध्ययन गरेको जनाइएको छ ।रासस ।