अमेरिकाले ‘डिपोर्ट’ गरेका ४० बढी नेपालीलाई काठमाडौं ल्याईंदै
-
नेटिजन संवाददाता
- आइतबार, २५ जेठ, २०८२- १४:३४:००/ Sunday 06-08-25

काठमाडौं । अमेरिका पुगेका ४० जनाभन्दा बढी नेपालीलाई देश निकाला गरी आज चार्टर्ड विमानबाट काठमाडौँ ल्याइँदैछ ।
आइतबार अपराह्न ४ बजेतिर अमेरिकाले देशनिकाला गरेका नेपालीहरू ल्याइरहेको विमान अवतरण गर्ने जानकारी अध्यागमन विभागका महानिर्देशक गोविन्दप्रसाद रिजालले दिनुभएको हो ।
अमेरिका बस्न पाउने कागजपत्रविहीन नेपालीहरूलाई पक्राउ गरी नेपालतर्फ पठाइँदै गरेको हो । शुरुमा ५० जनालाई निकाला गरी काठमाडौँ पठाउने जानकारी आएपनि त्यो संख्या ४० देखि ५० को बीचमा रहने महानिर्देशक रिजालले बताउनुभयो ।
नेपाल पठाउने सूचीमा रहेकामध्ये केहीलाई अमेरिकामै राखेर अनुसन्धान अघि बढाइएको अमेरिकी समाचार माध्ययले जनाएका छन् । एकैपटक ४० जनाभन्दा बढी नेपाललीलाई अमेरिकाले देशनिकाला गरेको पहिलोपटक भएको बताइएको छ ।
आज काठमाडौँ ल्याइनेहरूलाई नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोको जिम्मा लगाइनेछ । उनीहरू मानव तस्करलाई एक करोड रुपैयाँसम्म बुझाएर तस्करीको बाटोबाट अमेरिका पुगेकोले उनीहरूलाई त्यहाँबाट निकालिएको समाचारमा उल्लेख छ ।