• बुधबार, २८ जेठ, २०८२
  • ०५:५१:४०

तीनतलेका किसानको चिराइतोखेती : वार्षिक १२ लाखसम्म आम्दानी

काठमाडौं।षडानन्द नगरपालिका–१० तीनतलेका किसान चिराइतोको व्यावसायिक खेतीमा लागेका छन्। चिराइतोबाट मकै, आलुलगायत बालीको तुलनामा राम्रो आम्दानी हुने भएकाले उनीहरू यसतर्फ आकर्षित भएका हुन्।  

षडानन्द–१० साङपाङका वडाध्यक्ष पेमदोर्ची शेर्पाका अनुसार तीनतले क्षेत्रका १२० भन्दा बढी किसानले चिराइतो, लोठसल्ला, सतुवालगायतको व्यावसायिक खेती गरिरहेका छन्। यहाँको माथिल्लो भेगमा चिराइतो किसानको मुख्य आम्दानीको स्रोत बनेको छ। नगरपालिकाले यो क्षेत्रलाई जडीबुटीको पकेट क्षेत्र घोषणा गरेको छ।     

 १५ सयदेखि २५ सयमिटर उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउँछ। लेकाली र चिस्यानयुक्त क्षेत्र भएकाले तीनतलेमा चिराइतोको राम्रो उत्पादन हुन्छ। चिराइतो खेती षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ–५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत क्षेत्रमा व्यावसायिक रूपमा गरिन्छ।

 

 ‘चिराइतो तीनतले क्षेत्रका अधिकांश किसानको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको छ, अन्य बालीको तुलनामा चिराइतोखेतीबाट राम्रो आम्दानी हुने भएपछि किसान व्यावसायिक खेतीमा लागेको देखिन्छ। अहिले हामीले यो क्षेत्रलाई चिराइतो पकेट क्षेत्र घोषणा गरेर जडीबुटी खेतीका लागि प्रोत्साहनका कार्यक्रम सञ्चालन गरिरहेका छौँ,’ उहाँले भन्नुभयो ।  

तीनतलेका किसानले चिराइतो बिक्रीबाट एकपटकमा १ लाख ५० हजारदेखि १२ लाखसम्म आम्दानी गर्ने गरेका छन्। स्थानीय किसान फुर्लाक्पा शेर्पाले २५ रोपनीमा चिराइतोखेती गरेर वार्षिक ४ देखि ७ लाखसम्म आम्दानी गर्ने  बताउनुभयो । उहाँले गत वर्ष चिराइतो बिक्रीबाट ७ लाख आम्दानी गरे।

स्थानीय किसान निमा शेर्पाले उत्पादित चिराइतो घरबाटै ठेकेदारले लैजाने  बताउनुभयो । गत वर्ष एक मन (४० केजी) चिराइतो ४० हजारदेखि ४५ हजारमा बिक्री भएको उहाँले  बताउनुभयो । ‘मैले १० वर्षदेखि चिराइतोको व्यावसायिक खेती गरिरहेको छु,’ उहाँले भन्नुभयो, ‘चिराइतोबाट राम्रो आम्दानी लिँदै आएको छु। बर्सेनि मूल्यवृद्धि भइरहेको छ। त्यही भएर धेरै किसान यसको व्यावसायिक खेतीमा लागेका छन्।’ 

चिराइतो बारीमा छरेको २६ देखि २७ महिनामा सङ्कलन योग्य हुन्छ। भदौ, असोज, कात्तिकमा चिराइतो सङ्कलन गरिन्छ। पछिल्लो समय चिराइतोमा बोट सुक्ने र जरा कुहिने रोग देखिएको छ। रोग नियन्त्रणका लागि सरकारी सहयोग भएमा किसानले थप आम्दानी गर्न सक्ने शेर्पाले  बताउनुभयो ।

चिराइतो ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका जस्ता रोगका लागि औषधिको रूपमा प्रयोग हुन्छ। यसको पात, डाँठ, जरा सबै प्रयोग गर्न सकिन्छ। यहाँको चिराइतो भारत, चीन र बङ्गलादेशमा निर्यात हुन्छ।  

१५ सयदेखि २५ सयमिटर उचाइको हावापानीमा चिराइतो राम्रोसँग फस्टाउँछ। लेकाली र चिस्यानयुक्त क्षेत्र भएकाले तीनतलेमा चिराइतोको राम्रो उत्पादन हुन्छ। चिराइतो खेती षडानन्द नगरपालिकाको वडा नं १०, ११ र १३ को माथिल्लो भेग, टेम्केमैयुङ–५ मझौले, तिम्मा, दोभाने, हेलौंछा, खार्तम्छा, आमचोक गाउँपालिकाको युँ, वासिङथर्पु, पौवादुङमा गाउँपालिकाको श्यामशिलालगायत क्षेत्रमा व्यावसायिक रूपमा गरिन्छ। रासस ।