• शनिबार, ८ बैशाख, २०८१
  • १०:०२:४८

अविरल वर्षाका कारण दर्जनौ सडक अवरुद्ध, नदीमा पानीको सतह खतरा विन्दुमा

  • Netizen Nepal
  • बिहीबार, २० असोज, २०७९- ०९:३४:००/ Thursday 10-06-22

  नेटिजन सम्बाददाता 

काठमाडौं, २० असोज। निरन्तरको वर्षाका कारण  देशका  विभिन्न भागमा सडक अवरुद्ध भएका छन् भने नदीमा पानीको सतह उच्च   बिन्दुमा  पुगेको छ।     नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरो खस्दा अवरुद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    
    
कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार आज बिहान ८ः२० बजे लेदोसहितको पहिरो खसी सडक दुईतर्फी सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएसँगै नारायणगढ–मुग्लिन सडक भएर चल्ने सवारी साधन र यात्रु बाटोमा अलपत्र परेका छन् । सडकमा खसेको पहिरो पन्छाउन सडक विभागसँग समन्वय भइरहेको कार्यालयले जनाएको छ ।    

 सिद्धार्थ राजमार्ग अवरुद्ध   
  
सुनौली पोखरा जोड्ने सिद्धार्थ राजमार्गको वालिङ–गल्याङखण्ड अवरुद्ध भएको छ । आज बिहान ४ बजेतिर गल्याङ–८ झोल्पेमा सडकमाथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको  छ।      
बिहानदेखि अवरुद्ध भएको सडक खुलाउनका लागि सडक विभागको डोजर पठाउन समन्वय भइरहेको छ । अविरल वर्षासँगै खसेको पहिरोका कारण दसैँको टीका तथा आशीर्वाद थाप्नका लागि आफन्तकोमा आउने जानेहरु बीचमै रोकिएका छन् । त्यस्तै स्याङ्जा र कास्कीको सीमास्थित कुभिण्डेमा पनि अविरल वर्षाका कारण अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग एकतर्फी खुलाइएको छ । मङ्गलबार रातिदेखि अविरल परेको वर्षाका कारण बडादसैँमा आफ्ना मान्यजनबाट टीका लगाउन जानेलाई सास्ती भएको छ । जिल्लाका ग्रामीण भेगमा सवारी साधन चल्न नसक्दा यसपालिको दसैँ कष्टकर बनेको छ ।    

   बेँसीसहर–चामे सडक अवरुद्ध   
   
निरन्तरको वर्षाका कारण बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । बङ्गालको खाडीबाट उर्लिरहेकोे न्यून चापीय बायुको असर उत्तर पश्चिमतर्फ सर्दै जाने क्रममा भएको निरन्तरको वर्षाका कारण पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।    
    
अधिक वर्षा भएपछि उक्त सडक खण्डअन्तर्गत मनाङको नासोँ गाउँपालिका–३ खोत्रोमा पहिरो खसेर सडक अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले जानकारी दिनुभयो । अधिक वर्षा भएपछि यस सडकखण्डमा पहिराले क्षति पु¥याएपछि पूर्णरुपमा यातायात अवरुद्ध भएको उहाँले बताउनुभयो । “यस सडक खण्डअन्तर्गत खोत्रोमा सडकको बीच भागमा नै भल बगेकाले यात्रा गर्न सक्ने अवस्था छैन”, प्रजिअ आचार्यले भन्नुभयो, “योसँगै अन्य स्थानमा पनि कति बेला माथिबाट पहिरो खस्छ भन्ने थाहा नभएकाले यात्रा गर्न जोखिम रहेको छ ।”    
    
पर्यटक आउने अनुकूल मौसम भएकाले सडकमार्फत यात्रा गर्न समस्या हुँदा मनाङ भ्रमणमा आउने पर्यटकले यस विषम् परिस्थितिलाई ध्यानमा राखेर यात्रा नगर्नसमेत उहाँले आग्रह गर्नुभयो । प्रशासन कार्यालयले कसैले मनाङको अनुपम छटाले भरिपूर्ण प्रकृतिसँग रमाउनका लागि आफ्नो यात्रा तय गरेको भए सडक सञ्चालन भएको जानकारी लिएर मात्र योजना बनाउन पनि सम्बन्धित यात्रुलाई अनुरोध गरेको छ ।    

  गण्डक ब्यारेजका २२ वटा ढोका खोलियो   
   लगातार परेको वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि त्रिवेणीस्थित गण्डक ब्यारेजका २२ वटा ढोका खोलिएको छ । रातिदेखिनै नारायणी नदीको जलसहत बढ्ने क्रममा रहेकाले हुनसक्ने जोखिमीलाई मध्यनजर गर्दै गण्डक ब्यारेजका ३६ वटा ढोकामध्ये २२ वटा ढोका खोलिएको  छ।    
    
लगातारको वर्षाका कारण नारायणी नदीमा पानीको बाहव बढ्दा यसले क्षति पु¥याउन सक्ने भएकाले ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बिहान ७ बजे ब्यारेजमा पानीको सतह दुई लाख चालिस हजार क्यु सेक पुगेको छ ।  गण्डक ब्यारेजमा दुई लाख ५० हजार क्युसेक पानीलाई चेतावनीको तह र तीन लाख क्युसेक पानीलाई खतराको तह मानिन्छ । पानीको सतहले चेतावनीको तह पार गर्नुपूर्व नै ब्यारेजका २२ वटा ढोका खोलिएको हो । बाढी सूचना केन्द्रले नारायणी नदीको जलाधार क्षेत्रमा थप वर्षा हुने पूर्वानुमान गदैै नवलपरासी र चितवनका तटीय क्षेत्रमा हुने आज साँझसम्म सतर्कता साथ सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ ।  

   नारायणीमा पानीको बहाव यस वर्षकै उच्च   
   अविरल वर्षाका कारण नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले आज बिहान ७ः३० बजे दिएको जानकारीअनुसार नारायणगढ र देवघाट बाढी मापन केन्द्रमा जल सतहले सतर्कताको तह पार गरेको हो । नारायणगढमा बिहान ७ बजे पानीको सतह १० दशमलव ६१ मिटर पुगेको छ । नौ दशमलव आठ मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । नारायणगढ क्षेत्रमा बिहान ६ बजे नै पानीको सतह नौ दशमलव आठ मिटर पुगेको थियो । एघार मिटर पुग्नासाथ खतराको संकेत मानिन्छ ।    
    
यस्तै देवघाट मापन केन्द्रमा पनि पानीको बहाव सात दशमलव चार मिटर पुगेको छ । सात दशमलव तीन मिटर पुगेपछि सतर्कता तह पार हुन्छ । देवघाटमा नौ मिटर पानीको बहाव पुगेपछि खतराको सङ्केत मानिन्छ । नारायणीमा पानीको बहाव आज यस वर्षकै उच्च रहेको चितवन जिल्ला प्रशासन कार्यालयले जानकारी गराएको छ । पानी निरन्तर परिरहेकाले बाढीको सतह बढ्ने क्रममा छ । नारायणीमा बहाव बढेपछि पश्चिम चितवनका नदी तटीय क्षेत्र जोखिममा परेका छन् ।    
    
चितवन र नवलपरासीका तटीय क्षेत्रमा हुनेले आज साँझसम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन उक्त केन्द्रले जनाएको छ । चितवन, नवलपरासीलगायत जिल्लामा रातभर पानी परेकाले नारायणी तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।