• शुक्रबार, १४ बैशाख, २०८१
  • ०३:०४:३४

राष्ट्रिय पार्टी बन्न कति मत ल्याउनुपर्छ ? 

  • Netizen Nepal
  • मंगलबार, ६ मङ्सिर, २०७९- ११:०८:००/ Tuesday 11-22-22

नेटिजन संवाददाता 
काठमाडौँ, ६ मङ्सिर । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको परिणाम देशभरबाट आउने क्रम जारि छ ।  पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभा अन्तर्गत नेपाली कांग्रेसले अग्र स्थानमा छ भने नेकपा एमाले दोस्रो स्थानमा छ । यी दुई पार्टीलाई स्वतन्त्रले पनि पछ्याइरहेको छ ।  

राजनीतिक दल सम्बन्धी ऐन अनुसार प्रतिनिधिसभामा राष्ट्रिय दल बन्न प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिक तर्फ दलहरूले प्राप्त गरेको कुल सदर मतको कम्तीमा तीन प्रतिशत मत ल्याउनुपर्छ । “प्रतिनिधि सभाको निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा तीन प्रतिशत मत र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ एक सिट प्राप्त गर्ने दलले मात्र राष्ट्रिय दलको रूपमा मान्यता प्राप्त गर्नेछ,” ऐनमा भनिएको छ ।

अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा जम्मा पाँच वटा दलले मात्रै समानुपातिक तर्फ तीन प्रतिशत भन्दा बढी मत ल्याएका थिए । तर ती पाँच वटा दलका विभाजन र एकताका कारण पछि चुनावसम्म आइपुग्दा छ वटा भए ।

अघिल्लो पटक संसद्मा राष्ट्रिय दल बनेका केही दलहरू विभाजित भएर निर्वाचनमा प्रतिस्पर्धा गरिरहेको वास्तविकता र केही नयाँ दलहरूको उदयका कारण यो निर्वाचनमा तीन प्रतिशत मत कटाउने दलहरूको सङ्ख्या यसअघिको निर्वाचन भन्दा बढी हुनसक्ने आकलन गरिएको छ ।

राष्ट्रिय दलले के के सुविधा पाउँछन् ?

राष्ट्रिय दलको मान्यता पाएका पार्टीले संसद्मा एउटा संसदीय दलको कार्यालय सहित सांसदको सङ्ख्या अनुसार कर्मचारी र खर्चको सुविधा पाउँछन् । राष्ट्रिय दलको मान्यता हुँदा उपलब्ध हुने सुविधा भन्दा पनि यसको राजनीतिक महत्त्व बढी छ । संसद् सचिवालयले यस्तो मान्यता पाएका दलहरूलाई संसदीय दलको सुविधा उपलब्ध गराउँछ । 

हरेक राष्ट्रिय दलको संसदीय दलका प्रमुख सचेतकले पनि संसद् सचिवालयबाट गाडी सहित सचिवालय र कर्मचारी सुविधा पाउँछन् । त्यस्तै राष्ट्रिय दलले हरेक निर्वाचनमा आफ्नो चुनाव चिन्ह कायम राख्ने सुविधा पाउँछन् । तर राष्ट्रिय दलको मान्यता असफल भएका पार्टीहरूले हरेक निर्वाचनमा त्यही चुनाव चिन्ह पाउँछन् भन्ने निश्चित हुँदैन । यद्यपि निर्वाचन आयोगले उनीहरूले रोजेको चुनाव चिन्ह प्रदान गर्दै आएको छ । त्यसबाहेक राष्ट्रिय मान्यता प्राप्त दलले पाएको मत अनुसार मतपत्रमा चुनाव चिन्ह पनि सबैभन्दा अगाडिबाट क्रमशः राखिन्छ । 

निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा ६१ प्रतिशत मतदान भएको छ । कुल एक करोड ७९ लाख ८८ हजार ५७० मतदाता मध्ये ६१ प्रतिशत मतदानमा सहभागी हुँदा देशभरबाट एक करोड ९ लाख ७० हजार बढी मतदान भएको देखिन्छ ।