• शनिबार, ८ बैशाख, २०८१
  • ०१:३७:२२

नवनियुक्त उपप्रधानमन्त्री र मन्त्रीद्वारा शपथ

  • Netizen Nepal
  • शुक्रबार, १७ चैत, २०७९- १७:२६:००/ Friday 03-31-23

नेटिजन संवाददाता 
काठमाडौँ, १७ चैत। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त उपप्रधानमन्त्री एवम् मन्त्रीलाई पद तथा गोपनियताको शपथ गराउनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले उपप्रधानमन्त्री एवम् मन्त्रीहरुलाई शपथ गराउनुभएको हो । सो अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’,  सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, संवैधानिक निकायका प्रमुख, वरिष्ठ सञ्चारकर्मीलगायतको सहभागिता थियो ।

प्रधानमन्त्री दाहालले आज मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । प्रधानमन्त्री दाहालले नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्नुभएको हो ।

शपथ ग्रहण गर्नेहरुमा उपप्रधानमन्त्री तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा प्रकाशशरण महत, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा रमेश रिजाल र सहरी विकासमन्त्रीका रुपमा सीता गुरुङ हुनुहुन्छ ।

यस्तै, नेकपा(माओवादी केन्द्र)का शक्तिबहादुर बस्नेतले पनि पद तथा गोपनियताको शपथ लिनुभएको छ । उहाँले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।

नेकपा (एकीकृत समाजवादी)का तर्फबाट कृषि तथा पशुपन्क्षी विकासमन्त्रीमा  वेदुराम भुसाल र भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्रीका रुपमा प्रकाश जवालाले शथप लिनुभएको छ ।

जनता समाजवादी पार्टी नेपालका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीमा अशोक राईले पद तथा गोपनियताको शपथ लिनुभएको छ ।  लोकतान्त्रिक समाजवादी पार्टीकातर्फबाट शरतसिंह भण्डारी श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बन्नुभएको छ ।

यस्तै, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीको रुपमा पद तथा गोपनियताको शपथ लिनुभएको छ । यसैगरी, नेपाल समाजवादी पार्टीका महिन्द्रराय यादवले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रीको रुपमा शपथ लिनुभएको छ ।