• बिहीबार, १३ बैशाख, २०८१
  • ०५:२०:२५

बाबुको ठेगान नभएको विनोदले कहिले नागरिकता पाउला ? 

  • Netizen Nepal
  • शनिबार, १३ जेठ, २०८०- १९:३०:००/ Saturday 05-27-23

नेटिजन संवाददाता 
काठमाडौँ, १३ जेठ । गाउँमा सडक बनाउन गएको एक युवकसंग भागेर विवाह गरेपछि चन्द्रकलाका लागि माइतीको ढोका सधैंका लागि बन्द भयो । उनीहरु काठमाडौँ आएर दुखसुख गरेर बस्न थाले । श्रीमानको ठाउँ ठेगानासमेत थाहा नभएकी चन्द्रकलाले विवाहको अर्को वर्ष छोरा जन्माइन। त्यसपछि उनका श्रीमान खबरै नगरी अचानक हराए र कहिल्यै फर्किएर आएनन । 

उनले आफ्नो छोरा विनोदलाई ठुलो संघर्ष गरि हुर्काउँछिन् ।  विनोद पढाईमा अब्बल हुन्छ । कक्षा १२ अध्ययनरत बिनोद र तृष्णा साथी हुन्छन । उनिहरु विदेश गएर उच्च शिक्षा लिन चाहन्छन । एकअर्कालाई प्रेम गर्ने उनीहरु भविष्यमा बिहे गरेर संगै हुने योजना बुन्छन ।  

जब विनोदले आमासंग पासपोर्ट बनाउने कुरा गर्छ, आमासंग नागरिकतासमेत हुँदैन । श्रीमानको ठाउँ ठेगाना थाहा नभएकी उनको आश अब माईती मात्र हुन्छ । अन्तत छोराको भविष्यका लागि बिसौं वर्षदेखि नटेकेको माइतीको आँगनमा उनि पुग्छिन । माइतीमा पनि आमा बा र दाजुहरु पुरानो कुरा बिर्सेर चेली माइती आएकोमा खुसी हुन्छन् । अनि माइतीको सहयोगमा चन्द्रकलाको नागरिकता बन्छ।

आमाको नागरिकता बनेपछि आफ्नो नागरिकता बन्छ भन्नेमा विनोद ढुक्क हुन्छ । तर उसले सोचेजस्तो हुँदैन । बाबुको नागरिकता र आमाको बिहे दर्ता विना वडा कार्यलयले सिफारिस दिन मान्दैन । अनि वडाको सिफारिस विना जि.प्र.का. बाट नागरिकता बन्ने प्रक्रिया पूरा हुन सक्दैन । 
यसरी नागरिकता विना बिनोदको भविष्यका सबै बाटाहरु बन्द हुन्छन । विदेश पढ्न जानू त परको कुरा नेपालमा उच्च शिक्षा पढ्न समेत समस्या हुन्छ। जागिर गर्नबाट बन्चित हुन्छ । आफ्नै व्यवसाय संचालन गर्न सक्दैन । आफ्नो हातमा केही नभएपछि दिक्क मानेर विनोद  आत्महत्याको प्रयास गर्नै लाग्दा शुत्रधार सुवास सुवेदी नाटक रोकेर दर्शकसंग छलफल गर्न थाल्दछन ।

अहिले पनि बिनोद र चन्द्रकलाको जस्तै कथासंग मिल्दाजुल्दा समस्या भएका धेरै नागरिक वडा र सिडिओ कार्यलयको चक्कर लगाइरहेका छन । कहिले संसदबाट नागरिकतासम्बन्धि कानुन पारित होला र सजिलै आमाको नामबाट नागरिकता प्राप्त गर्ने सहज वातावरण बन्ला भन्ने आशमा धेरै नागरिक अनागरिक भएर बाँच्न बाध्य छन । हाम्रो पनि खबरदारी नेपाल सरकार र संसदलाई आखिर कहिलेसम्म आफ्नै देशका  नागरिकहरु अनागरिक भएर बाँच्नुपर्ने ?

यो कथा प्रसङ्ग हो, आमाको नामबाट नागरिकताको माग गर्दै हाल काठमाडौँ उपत्यकामा प्रदर्शनरत कचहरी नाटकको । महिला कानुन तथा विकास मन्च (FWLD) ले पन्ध्रौँ गणतन्त्र दिवसको अवसर पारेर नेपाली नागरिकको सन्तान हुँदा हुँदै पनि एकल आमाका सन्तानले नागरिकता पाउन नसकेको पीडाका बारेमा सरकारलाई झकझकाउन काठमाडौँ, भक्तपुर र ललितपुरका विभिन्न सो नाटक मन्चन गरिरहेको छ ।    

२०७२ सालको संविधानले प्रत्येक नेपाली नागरिक नागरिकता सुनिश्चित गरेको छ ।  अझ आमाको नामबाट नागरिकता पाउने भनेर समेत स्पष्ट किटानसमेत गरेको छ। तर संविधान अनुसारको कानुन निर्माण र कार्यन्वयनमा ढिलाइ हुँदा विनोदजस्ता हजारौंले दुखा पाइरहेका छन् ।   आमाको नामबाट नागरिकता प्रदान गर्ने व्यवस्थाका लागि दवावस्वरुप प्रदर्शनरत नाटक जेठ ११ गतेदेखि सुरु भइ जेठ १५  गतेसम्म चल्नेछ । जेठ ११ गते स्वयम्भु र पशुपति क्षेत्र, १२ गते जोरपाटी र तिनकुनेमा प्रदर्शन गरिएको नाटक १३ गते काठमाडौँको नरेफाँट प्रदर्शन भयो। जेठ १४ गते ललितपुरको शंखपार्क र पाटन दरबार तथा १५ गते भक्तपुरका केहि स्थानहरुमा मन्चन हुने नाटकका कलाकार तथा रङ्गकर्मी सुवास सुवेदीले जानकारी दिनुभयो ।

संविधान बनेको आठ वर्ष भइसक्दा पनि कार्यन्वयन हुन नसक्नु दुखद भएको बताउंदै रंगकर्मी सुवेदीले भन्नुभयो, 'हामीले महिला कानुन तथा विकास मन्चको सहकार्यमा आमाको नामबाट नागरिकता सहज रुपमा प्राप्त गर्ने वातावरण बनोस् भन्दै २०७४ सालदेखि देशका विभिन्न स्थानहरुमा नाटक मन्चन गर्दै आइरहेका छौं। हामीले यो नाटकमार्फत सरकार र संसदलाई खबरदारी गर्ने प्रयास गरेका हौँ ।"

नाटकमा आमाको नामबाट नागरिकता पाउन गरेको संघर्षको वास्तविक घटनालाई आधार मानेर नाट्य रुपान्तरण गरिएको नाटकका निर्देशक सहिन प्रजापतिले बताउनुभयो । 'अहिले उपत्यका भित्रका तीन जिल्लालाई समेटेर भिन्नभिन्न  ठाउँमा नाटक मन्चन कार्य भैरहेको छ । त्यसलगत्तै उपत्यका बाहिरका जिल्लामा पनि नाटक लिएर जाने योजना छ', उहाँले भन्नुभयो ।  

नाटकलाई सहिन प्रजापती र सुवास सुवेदी मिलेर तयार पारेका हुन्।  नाटकमा सौरभ ढकाल, समापिका गौतम, सरस्वती अधिकारी, शिशिर अर्याल, सहिन प्रजापती र सुवास सुवेदीको अभिनय रहेको छ ।