• शनिबार, १२ श्रावण, २०८१
  • १२:४१:२४

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिको उर्दि

काठमाडौँ । नेपाली नयाँ वर्ष नजिकिदै गर्दा नयाँ भित्तेपात्रो प्रकाशनको तयारी पनि बाक्लिन थालेको छ । पछिल्लो समयमा सार्वजनिक प्रकाशनमा आउने भित्तेपात्रो नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृति लिएर मात्र प्रकाशन गर्न पाईने अनिर्वाय व्यवस्था सरकारले गरेपछि यस्ता भित्तेपात्रो प्रकाशन अघि नै अभिलेखमा आउन थालेका छन् ।

यसै सन्दर्भमा वि.सं.२०८१ का लागि प्रकाशनको तयारीमा रहेका भित्तेपात्रो प्रकाशकहरु नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृतिका लागि आउन थालेको समितिले जनाएको छ ।

तर अघिल्ला वर्षमा कतिपय भित्तेपात्रो अनुमति नलिई प्रकाशन गरे पछि उक्त क्रम नदोहोर्याउनको लागि समितिले अनिर्वाय स्वीकृति लिनको लागि सूचना प्रकाशन गरेको छ ।  

यसै बिच नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आउने वर्ष वि.सं.२०८१ का लागि  भित्तेपात्रोको स्वीकृति लिनुपर्छ ।नेपाल सरकारले निर्णय गरेको सार्वजनिक बिदा, वर्षभरका चाडपर्वको सूची, विभिन्न साइत एवम् मुहूर्तको सूची दिने भएको छ । 

समितिले यसअघि २०७९ र २०८० सालका भित्तेपात्रो प्रकाशकले खोजे मात्र सार्वजनिक बिदा एवम् साइत दिने गरेको थियो । यस वर्षदेखि भने सबैलाई अनिवार्यरुपमा स्वीकृति लिने क्रममै यस्तो विवरण दिने व्यवस्था गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो । भित्तेपात्रोको स्वीकृति दिँदा समितिले तोकेबमोजिम शुल्क पनि लिने गरेको छ । 

समितिले  वि.सं.२०८१ का भित्तपात्रो स्वीकृति दिन सुरु गरेको जानकारी पनि उहाँले गराउनुभयो । स्वीकृति नलिई प्रकाशन हुने भित्तेपात्रोको अनुगमन गर्न ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन गर्न गृह मन्त्रालयले निर्देशन दिएको समितिले जनाएको छ । स्वीकृति नलिई प्रकाशन हुनेलाई जिल्ला प्रशासन कार्यालयले कारबाहीको दायरामा ल्याउन लागेको हो ।   

समितिले देशभरबाट प्रकाशन हुने भित्तेपात्रोले अनलाइनबाटै निवेदन दिई शुल्क तिरेर स्वीकृति लिन सक्ने गरी व्यवस्था गरेको छ । अनलाइनबाट स्वीकृति लिनेले अनलाइनबाटै सरकारी बिदा, चाडपर्वको सूची र साइत पाउने व्यवस्था मिलाइएको छ ।

मन्त्रिपरिषद्ले २०७७ साल पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साउनमा नेपाल राजपत्रमा प्रकाशित भएपछि समितिले २०७९ सालदेखि भित्तेपात्रोमा एकरुपता होस् भनी स्वीकृति दिन थालेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका भित्तेपात्रो अनुगमन गरी कारबाही गर्ने गरिएको छ । समितिले भित्तेपात्रोलाई स्वीकृति दिएर वि.सं.२०७९ मा २० लाख र वि सं २०८० मा २२ लाख राजस्व उठाएको थियो ।