• आइतबार, २३ भदौ, २०८१
  • ०६:५८:०९

कोदोको उत्पादन घट्दो :पूर्वीनाकाबाट ८५ करोडको कोदो आयात

काठमाडौं । पूर्वीनाका काँकडभिट्टाबाट कोदोको आयात अघिल्लो वर्षका तुलनामा वृद्धि भएको छ ।  प्लान्ट क्वारेन्टिन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरले २०८०-८१ मा रु ८५ करोड ४२ लाख ५६ हजार मूल्य बराबरको १७ हजार  ७ सय ९७ मेट्रिक टन कोदो भारतबाट आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार आव २०७९-८० मा रु. ५१ करोड ३१ लाख २० हजार मूल्य बराबरको १६ हजार ३५ मेट्रिक टन कोदो भारतबाट आयात भएको थियो । नेपालमा कोदो बाली उत्पादन घट्दै जाँदा भारतलगायत तेस्रो देशबाट कोदोको आयात बढेको सूचना अधिकारी ठाकुरले बताउनुभयो ।

पूर्वी पहाडी जिल्लामा यथेष्ट उत्पादन हुने फर्सी विक्री नहुँदा किसान गाईभैँसीलाई खोले पकाएर खुवाउँछन् । तर त्यही फर्सी बजारमा भने भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । उहाँले सोही अवधिमा फर्सी मात्र रु. २१ करोड १४ लाख ८० हजारको १० हजार ५ सय ७४ मेट्रिक टन आयात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार गत  १  वर्षमा रु. १अर्ब २ करोड २२ लाख ६० हजार मूल्य बराबरको ५१ हजार १ सय १३ मेट्रिक टन गोलभेँडा, रु. २९ करोड ५७ लाख ४० हजार मूल्य बराबरको १४ हजार ७ सय ८७ मेट्रिक टन हरियो खुर्सानी पूर्वीनाका हुँदै भारतबाट भित्रिएको छ । सोही अवधिमा रु. ५७ करोड ७३ लाख ८० हजार मूल्य बराबरको २८ हजार ८ सय ६९ मेट्रिक टन करेला, रु. ३० करोड ७  लाख ८० हजार मूल्य बराबरको १५ हजार २९ मेट्रिक टन भिन्डी र रु. १५ करोड ६७ लाख २० हजार मूल्य बराबरको  ७ हजार ८ सय ३६ मेट्रिक टन सिमी आयात भएको सूचना अधिकारी ठाकुरले जानकारी दिनुभयो ।

पूर्वीनाकाबाट सोही अवधिमा रु १३ करोड ८ लाख ४० हजार मूल्य बराबरको ६ सय ९२ मेट्रिक टन प्याज, रु २५ करोड ६५ लाख ६० हजार बराबरको १२ हजार ८ सय २८ मेट्रिक टन परवल, रु ६७ करोड ७० लाख मूल्य बराबरको ३ हजार ८ सय ३५ मेट्रिक टन घिरौला, रु ११ करोड १७ लाख मूल्य बराबरको ५ हजार ५ सय ८५ मेट्रिक टन गाजर, रु ३१ करोड ५० लाख मूल्य बराबरको १ हजार ५ सय ७५ मेट्रिक टन स्कुस र रु ३ करोड ८० लाख ४० हजार बराबरको १  हजार ९ सय २ मेट्रिक टन तरुल भारतबाट आयात भएको तथ्याङ्कले देखाउँछ ।

मधेसबाट हिमाली जिल्लासम्म उत्पादन हुने फापरसमेत भारतबाट ठूलो मात्रामा आयात हुने गरेको छ । सूचना अधिकारी ठाकुरका अनुसार १ वर्षमा रु. १ करोड ३५ लाख ८५ हजार मूल्य बराबरको २ सय ९ मेट्रिक टन फापर, रु. ४ करोड ६१ लाख ७६ हजार मूल्य बराबरको १ हजार ४ सय ४३ मेट्रिक टन मकै [पशु दाना] आयात भएको छ ।

कार्यालयका अनुसार सोही अवधिमा रु. ४ अर्ब ८७ करोड ६५ लाख १८ हजार बराबरको ९८ हजार ३ सय ९४ मेट्रिक टन फलफूल तथा चामल, रु. १७ करोड २८ लाख २४ हजार बराबरको ७ हजार २ सय एक मेट्रिक टन र दलहन [गेडागुडी] रु २ करोड ४० लाख ९६ हजार मूल्यको आयात भएको कार्यालयको तथ्याङ्कले देखाएको छ । भारतबाट आयातित तरकारीका कारण स्वदेशमा किसानले उत्पादन गर्दै आएको तरकारी बाली बजारमा बिक्री नभएको किसानको गुनासो छ ।रासस ।