• शनिबार, ५ असोज, २०८१
  • ०५:३४:५०

हाइड्रोजन उर्जाको संभावना उजागर गर्न सरोकारवालाको जोड 

ललितपुर ।  हाइड्रोजन उर्जाको माध्यमबाट देशको आर्थिक समृद्धिमा योगदान दिन सकिन्छ भन्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । नेपाल इनर्जी फाउन्डेशनको आयोजनामा आज आइतबार ललितपुरमा आयोजित नेपालको सन्दर्भमा हाइड्रोजन उर्जाको व्यावसायीकरण सम्बन्धी छलफलः  अवसर र चुनौतीहरू कार्यक्रममा मन्तव्य राख्ने अधिकाँश वक्ताहरुले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोजन उर्जा निर्यात गरेर आर्थिक लाभ हासिल गर्न सकिने बताएका हुन् ।

विद्युत नियमन आयोगका अध्यक्ष डाक्टर रामप्रसाद धितालले सहुलियत ऋण र अनुदानको प्रयोग गरेर हाइड्रो इनर्जीका क्षेत्रमा काम गर्न सकिने बताउनुभयो । सरकारको हाइड्रोजन नीति पनि छ, यसलाई आधार बनाएर हाइड्रोजन इनर्जीको उत्पादनमा जानुपर्छ, यसमा नमूना परियोजना गरेर नेपाल सम्भव छ है भन्ने सन्देश सरकारलाई प्रमाणित गरेर देखाउनुपर्ने आवश्यकता रहेको छ। उहाँले भन्नुभयो ।

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले नविकरणीय उर्जालाई अगाडि बढाउन सबै मिलेर लागौं भन्नुभयो । उहाँले नेपाल बनेका लघुजलविद्युत आयोजनालाई दिगो बनाउन राष्ट्रिय प्रशारण लाइनमा जोड्नुपर्छ भनेर पहल गरेको भन्दै अहिलेको समयमा केही सुधार गर्ने हो भने देशका १५ सयदेखि १८ सयसम्म लघुजलविद्युतहरुलाई राष्ट्रिय प्रशारण लाइनमा जोड्न सकिन्छ भन्नुभयो । उहाँले लघुजलविद्युतलाई राष्ट्रिय प्रशारण लाइनमा जोडनका लागि सुरक्षामा कुनै पनि सम्झौता नगरी प्रविधिको प्रयोग गरेर सरलीकरण गर्ने कार्यमा लाग्नुपर्छ भनेर जोड दिएका छौं भन्नुभयो ।

"लघुजलविद्युतका बहुआयामिक पाटो छन् , स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउने देखि रोजगारी सृजना गर्ने सम्मका कामहरु हुन्छन्।" उहाँले भन्नुभयो । नेपालमा २० प्रतिशत मात्रै विद्युतीकरण भएको अवस्थामा सुरु भएको लघु जलविद्युत अहिले राष्ट्रिय प्रशारण लाईनमा स्थापित गरिनुपर्छ भन्नुहुँदै उहाँले विपदको जोखिममा रहेकाहरुलाई जोगाउन संगठित प्रयास गर्नुपर्छ भन्नुभयो ।कार्यकारी निर्देशक ढकालले अब नयाँ बनाउन लाग्ने र अनुदान दिनेभन्दा पनि बढि सकेको परियोजनाहरुलाई दिगो सञ्चालनका हिसावले काम गर्न सकिने देखिन्छ भन्नुभयो ।

नेपाल इनर्जी फाउन्डेशनका उपाध्यक्ष शेर सिंह भाटले नेपालले हरेक वर्ष कुल ३ खर्ब ७० अर्व उर्जा आयातमा खर्च गर्नुपरिरहेको छ भन्नुहुँदै देशमै इनर्जी उत्पादन गरेर उर्जा आयात प्रतिस्थापन गर्नु पर्छ भन्नुभयो । उहाँले फोसियल्स फ्युलका कारण भैरहेको वायु प्रदुषण, यसका कारण निम्तिएको जलवायु परिवर्तन रोक्न हाइड्रोजन इनर्जी महत्त्वपूर्ण रहेको वताउनुहुँदै हाइड्रो इनर्जीको लाभ नेपालले लिनसक्ने अवस्था छ भन्नुभयो ।

नेपाल विद्युत प्राधिकरणका प्रबन्धकअच्युतबाबु घिमिरे नेपालमा हाइड्रोजन इनर्जीको अवसर भएको बताउँदै भण्डारण र  वितरण व्यवस्थापनलाई ध्यान दिएर प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वव्यापी चासो र चिन्तालाई सम्बोधन गर्दै हाइड्रोइनर्जी मात्रै नभएर हाइड्रोजनलाई नै निर्यात गर्न सकिने अवस्था रहेको धारणा राख्नुभयो ।  संस्थाका अध्यक्ष मोहन दास मानन्धरले हाइड्रोजन उर्जा र नविकरणीय उर्जाको लागि छुट्टै नियमक निकाय आवश्यक छ भन्नुहुँदै नियमन निकाय आवश्यक छ,फोसियल फ्युललाई निरुत्साहित गर्न त्यसको स्थानमा प्रतिस्थापन गर्नुपर्छ र यसका लागि कार्वन फण्डलाइ उपयोग गर्नुपर्छ भन्नुभयो ।

नेपाल इनर्जी फाउन्डेशनका प्रबन्ध निर्देशक डिल्ली घिमिरेले इनर्जी क्षेत्रमा नसमेटिएका बिषयहरुलाई अगाडि ल्याउने संस्थाको उद्देश्य रहेको बताउनुभयो । उहाँले नेपालमा हाइड्रोजन फ्युलको सम्भावना, सम्भाव्यता, मुल्य र बजारको बारेमा छलफलको आरम्भ गरि यसतर्फ काम  गर्न निजी क्षेत्रलाई आकर्षित गर्न सरकारलाई घचघच्याउने उद्देश्य संस्थाको रहेको जानकारी गराउनु भयो ।

राससका अलेख बिभाग प्रमुख अधिकारीद्वारा लिखित पुस्तक लोकार्पण

कार्यक्रममा राष्ट्रिय समाचार समितिका आलेख विभागका प्रमुख, अग्रज पत्रकार कृष्ण अधिकारीद्वारा लिखित लघुजलविद्युत र दिगो सञ्चालनको अभ्यास बिषयक पुस्तक लोकार्पण समेत गरिएको छ । नेपालको लघुजलविद्युत क्षेत्रको विविध पक्षलाई समेटेर अग्रज पत्रकार अधिकारीले तयार पार्नुभएको पुस्तकमा नेपालमा लघुजलविद्युतको अवस्था, लघुजलविद्युतमा समुदाय केन्द्रीत अवधारणा, सरकारी नीतिगत व्यवस्था, लघुजलविद्युतको सम्भावनालगायतका सन्दर्भ सामग्रीहरु समेटिएको छ । बिषयबस्तुलाई तीन खण्डमा विभाजन गरेर तयार पारिएको पुस्तक १३२ पृष्ठको रहेको छ। रासस