• शुक्रबार, ५ पौष, २०८१
  • ०४:१६:२५

च्याम्पियन्स ट्रफी २०२५ भारतले तटस्थ मैदानमा खेल्ने

आगामी वर्षको आइसिसी च्याम्पियन्स ट्रफी २०२५ का खेलहरू पाकिस्तानको मैदानमा हुने भए पनि भारतले तटस्थ स्थानमा खेल्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सुरक्षा चिन्ता र राजनीतिक परिस्थितिलाई ध्यानमा राख्दै यो निर्णय लिएको हो।


भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि अब च्याम्पियन्स ट्रफीका भारत–पाकिस्तानबीचका खेलहरू तटस्थ स्थानमा आयोजना हुनेछन्। यस निर्णयले दुवै देशबीच चर्किएको विवादलाई समाप्त गरेको आइसिसीले जनाएको छ।

आइसिसीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, "सन् २०२४ देखि २०२७ सम्मका सबै आइसिसी प्रतियोगिताहरूमा भारत र पाकिस्तानका बीचका खेल तटस्थ स्थानमा खेलिनेछन्। यो नियम पाकिस्तानले आयोजना गर्ने २०२५ च्याम्पियन्स ट्रफीमा पनि लागू हुनेछ।"

यसको असर अन्य प्रतियोगितामा पनि देखिनेछ। आइसिसीले भारतमा आयोजना हुने २०२५ महिला विश्वकप र भारत तथा श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने २०२६ टी–२० विश्वकपका खेलहरूमा पनि यही व्यवस्था लागू हुने जनाएको छ।

भारतले पाकिस्तानमा खेल्न अस्वीकार गरेपछि, पाकिस्तानले पनि भारतमा हुने आइसिसी प्रतियोगिताहरूका खेलहरू तटस्थ स्थानमा खेल्ने बताएको छ।

गौरतलब छ कि, यसअघि २०२३ मा पाकिस्तानले भारतमा सम्पन्न आइसिसी एकदिवसीय विश्वकपमा सहभागी भएको थियो। तर, पछिल्लो समयको राजनीतिक तनाव र सुरक्षा चासोलाई कारण देखाउँदै दुबै देशले एकअर्काको भूमिमा खेल्न अस्वीकार गरेका हुन्।

यस कदमसँगै भारत–पाकिस्तान क्रिकेट भिडन्तहरू अब तटस्थ स्थानमा मात्र हुने पक्का भएको छ, जसले खेलप्रेमीहरूको उत्सुकता झनै बढाएको छ।