• शुक्रबार, ४ असोज, २०८१
  • १२:५२:०५

निर्माणाधीन राजमार्गको सुधार  गर्न सडक विभागको निर्देशन

काठमाडौं । सङ्घीय राजधानी प्रवेश गर्ने र राजधानीबाट बाहिरिने मुख्य राजमार्गहरू निकै जोमखीमपुर्ण भएपछि सो सडकको यात्रा कष्टप्रद बन्दै गई रहेको छ ।

राजमार्गमा सवारीका साधनहरूको चाप पनि निकै बढ्दै जान थालेको छ । हिन्दुहरूको महान् पर्व वडा दसैँ नजिकिँदै आइ रहेकाले राजमार्ग हुँदै राजधानी भित्रनेको सङ्ख्या भन्दा बाहिरिने सवारीका साधनहरुको सङ्ख्या बिस्तारै बढ्न थालेको छ ।

दैनिक पन्ध्रदेखि सत्र हजार सवारीका साधनहरू आवत जावत गर्ने पृथ्वी राजमार्गमा पछिल्लो केही दिन यता सवारी साधनहरूको चाप पनि बढेको छ ।

सडकको अवस्था र सवारीको चापलाई मध्य नजर राख्दै स्तर उन्नति सहित निर्माणाधीन राजमार्गको सुधारका लागी सम्बन्धित निर्माण कम्पनीहरूलाई सडक सुधारका लागी सडक विभागले निर्देशन समेत गरेको छ । सडकका कारण बडा दशैका लागी गन्तव्यसम्म पुग्ने कुनै यात्रुहरूले पनि दुःख कष्ट बेहोर्नु नपरोस् भन्दै सडक विभागले सो निर्देशन गरेको हो ।

बिस्तारै मनसुन हट्दै गएकोले गर्दा अव तत्काल सडकको खाल्टा खुल्टी पुर्नेलगायत पहिरोका कारण लामो समय देखी एकतर्फी मात्रै सञ्चालनमा रहेको सडक पनि पहिरो पन्छाई दुई तर्फ बनाउन निर्देशन गरेको छ ।

स्तर उन्नति सहित निर्माणको क्रममा रहेको नाग ढुङ्गा मुग्लीन सडक खण्डमा कुनै पनि अवरोध नराख्न निर्देशन गर्दै नाग ढुङ्गा मुग्लीन सडक आयोजना पूर्वी खण्डका प्रमुख किशोर बहादुर रिजालले मनसुन कम हुने बित्तिकै कालो पत्रेको काम सुरु गर्ने जानकारी समेत दिनु भयो । आयोजनाका अनुसार निर्माण कम्पनीहरूले थप गरेको र तोकिएको समय अवधि भित्रै काम सम्पन्न गर्ने गरी काम सुरु गर्ने भएका छन् ।