• बिहीबार, ११ पौष, २०८१
  • ०७:००:३०

पोखराको शानदार कमब्याक, गौसको ऐतिहासिक शतक


काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा शुक्रबार पोखरा एभेन्जर्सले लुम्बिनी लायन्समाथि शानदार जित दर्ता गरेको छ। १७१ रनको लक्ष्य पछ्याउँदै पोखराले १६.५ ओभरमै बिना कुनै विकेट गुमाई लक्ष्य पूरा गर्दै सानदार प्रदर्शन गर्‍यो।


लुम्बिनीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। कप्तान रोहितकुमार पौडेलले ९५ रनको उत्कृष्ट इनिङ्स खेल्दै टोलीलाई ५ विकेट गुमाएर १७० रनको प्रतिस्पर्धात्मक स्कोरमा पुर्‍याए। तर, जवाफमा पोखराका आन्द्रे गौस र दिनेश खरेलले अटुट साझेदारी गर्दै लुम्बिनीलाई कुनै मौका दिएनन्।

आन्द्रे गौसले जारी एनपीएलको पहिलो शतक प्रहार गर्दै इतिहास रचे। उनले केवल २० बलमै अर्धशतक पूरा गरेका थिए भने ५४ बलमा शतक पूरा गरे। समग्रमा गौस ५५ बलमा १० चौका र ८ छक्कासहित अविजित १०४ रन बनाए।

दिनेश खरेलले पनि उनको साथ दिँदै सशक्त पारी खेले। खरेलले ४६ बलमा ६ चौका र १ छक्कासहित अविजित ६१ रन बनाए।

पोखराका लागि यो तीन खेलमा पहिलो जित हो। पहिलो दुई खेलमा लज्जास्पद हार बेहोरेको पोखराले त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा यसपटक प्रभावशाली पुनरागमन गर्‍यो। लुम्बिनीका लागि भने यो लगातार दोस्रो हार हो।