आज लुम्बिनी र सुदुरपश्चिम भिड्दै
- नेटिजन संवाददाता
- शनिबार, २२ मङ्सिर, २०८१- ०८:१०:००/ Saturday 12-07-24
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुईवटा खेल हुनेछन्। पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच भिडन्त हुनेछ। यो खेल बिहान ९:१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने तय भएको छ।
हाल जारी एनपीएलमा दुबै टिमको यो तेस्रो खेल हो। यसअघिका दुई खेल खेलिसकेको लुम्बिनीले दुवै खेलमा हार व्यहोरेको छ। पहिलो खेलमा लुम्बिनी विराटनगर किंग्ससँग पराजित भएको थियो भने दोस्रो खेलमा पोखरा एभेन्जर्सले हराएको थियो।
त्यसैगरी, सुदूरपश्चिम रोयल्सले भने अहिलेसम्म खेलेका दुवै खेलमा जित हासिल गरेको छ। पहिलो खेलमा विराटनगर किंग्सलाई ९० रनको फराकिलो अन्तरले हराएको सुदूरपश्चिमले दोस्रो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गरेको थियो।
त्यस्तै, आजै दिउँसो १:१५ बजे कर्णाली याक्स र विराटनगर किंग्सको खेल हुनेछ।
जारी एनपीएलमा कर्णाली याक्सले तीन खेलमध्ये एक खेलमा मात्र जित निकाल्न सफल भएको छ भने दुई खेलमा पराजित भएको छ। उता, विराटनगर किंग्सले पनि तीन खेल खेलिसकेको छ, जसमा दुई खेल हारेको र एक खेलमा जित हासिल गरेको छ।